सूचनाको शक्ति - The Power Of Information

        

अर्थ–डायरी

सहकारी दलालसँग होसियार !

आर्थिक मन्दीसँगै बजारमा पैसाको हाहाकार छ । नागरिकले आफूसँग भएको पैसा लुकाएर राखेका छन् ।

अहिले बजारमा नागरिकको अनुहारमा निराशा देखिन्छ । लगानी गरेर लगानी डुबेपछि नागरिक मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । कैयौँ नागरिक आफूले लगानी गरेको व्यापार व्यवसाय डुबेर भागिसकेका छन् । कतिपय नागरिक डिप्रेसनमा गएका छन् भने कति नागरिक आत्महत्या गर्न बाध्य परेका छन् । बैंक, फाइनान्स तथा सहकारीबाट लिएको कर्जा कति नागरिकले तिर्न नसक्दा यी वित्तिय संस्थाले ऋणीको नाम पत्रपत्रिकामा पनि निकालेर कालोसूचीमा पनि राखेका छन् ।

पछिल्लो समय शेयरमा लगानी गर्ने नागरिक डुबेर रुवाबासी गरिरहेका छन् । शेयर धितो राखेर बैंक, फाइनान्सबाट लिएको कर्जा तिर्न नसकेर नागरिक भगाभाग गरिरहेका छन् । यता शेयर किनेको मुल्य घटेर एक वर्षअघि तीन हजारमा किनेको एक कित्ता शेयर अहिले १०० रुपैयाँमा बिक्री हुँदैन । यसरी शेयर धितो राखेर कर्जा दिने बैंक, फाइनान्स तथा सहकारीहरु अहिले डुबिसकेका छन् । शेयरमा लगानी गर्ने लगानीकर्ताको भगाभाग चलिरहेको छ । नयाँ नागरिकले शेयरमा लगानी गर्न छोडिसकेका छन् ।

पछिल्लो समय शेयर बेच्नेको मात्र संख्या बढिरहेको छ भने खरिद गर्ने कोही छैन । यसरी शेयरमा लगानी गर्दा नाफा हुन्छ भनेर किन्नेहरुलाई अहिले मर्नु कि बाँच्नु भइरहेको छ । घरजग्गा, गाडी र शेयरमा लगानी गर्ने बैक, फाइनान्स तथा सहकारीहरु अहिले ती वस्तुहरुको मुल्य घटेर वा किनबेच नभएर जिल्ल परेका छन् । एक वर्षअघि एक आनाको २५ लाख रुपैयाँमा किनेको जग्गाको मुल्य घटेर वा मन्दी आएर अहिले त्यहीँ जग्गालाई ५ लाख रुपैयाँमा बेच्छु भन्दा पनि बिक्री हुँदैन ।

एक वर्षअघि पाँच लाख रुपैयाँमा किनेको सवारीसाधन अहिले ५० हजारमा बिक्री गर्छु भन्दा पनि बिक्री हुँदैन । बैंक, फाइनान्स तथा सहकारीहरुले बढी सेवा शुल्क वा ब्याज लिएर यहीँ घरजग्गा र गाडी सबै शेयरमा लगानी गरे । अहिले शेयर, घरजग्गा तथा गाडीको किनबेच नहुँदा कति सहकारीहरु भागिसकेका छन् भने कति बैंकहरु डुबिसकेका छन् । बैंक, फाइनान्स तथा सहकारीहरुले घरजग्गा, गाडी र शेयर धितो राखेर दिएको कर्जा न उठ्छ न धितो नै बिक्री हुन्छ ।

बैंक, फाइनान्स तथा सहकारीहरुले धितो राखेर दिएको कर्जा धितोले नै नभ्याउने भइसकेको छ । धितो राखेर कर्जा खाने नागरिक अहिले कर्जा तिर्न सक्दैनौ, बरु धितो नै लिलाम गर्नुस् भनेर हात उठाउने गर्छन् । बैंक, फाइनान्स तथा सहकारीहरु भाग्छन् भनेर नागरिक अहिले पैसा भए पनि डिपोजिट गर्दैनन् । बैंक, फाइनान्स तथा सहकारीहरुसँग डिपोजिट गरेका नागरिकको पैसा फिर्ता दिने त पैसा छैन भने कर्जा त कसरी नै दिनसक्छन् । आर्थिक मन्दीसँगै बजारमा पैसाको हाहाकार छ ।

नागरिकले आफूसँग भएको पैसा लुकाएर राखेका छन् । सहकारीहरु दिनहुँ भागिरहेका छन्, बैंक तथा फाइनान्सहरु पनि कतिबेला भाग्छन् भन्ने ठेगान नभएपछि सहकारी तथा बैंकहरुमा पैसा राख्न नागरिक डराइरहेका छन् । अहिले बैक तथा फाइनान्सहरुले कर्जा दिन नसक्दा व्यक्तिहरु आफैँ महंगो ब्याजमा कर्जा प्रवाह गरिरहेका छन् । विज्ञहरुका अनुसार अबको एक वर्षभित्र धेरै सहकारी भाग्छन् र धेरै बैंकहरु डुब्छन् । सहकारीमा नागरिकको अर्बौ रुपैयाँ डुबेको छ । हजारौं सहकारीहरु भागिरहेका छन् ।

सहकारी भागेर कति नागरिकको घरमा रुवाबासी भइसकेको छ भने अब कतिको घरमा हुनेवाला छ । अहिले पनि सहकारीहरुले बढी ब्याज दिने लोभ देखाएर नागरिकसँग पैसा उठाइरहेका छन्, तर ब्याजको लोभमा आएर अब साँवा डुबाउनबाट हामी सचेत रहनुपर्छ । अहिले सञ्चालनमा रहेका सहकारीहरु कसरी र कहिले भाग्ने भनेर समय कुरेर बसिरहेका छन् । जताततै सहकारी भागेको र नागरिकलाई डुबाएको कुरा दिनहुँ सुन्न पाइन्छ । व्यापारी तथा नागरिकले पछिल्लो समयमा सहकारीमाथि विश्वास गरेर पैसा राख्न छोडिसकेका छन् ।

सहकारीमा नागरिक आफ्नो पैसा निकाल्न गएमा ब्याज र साँवा केही पनि दिँदैनन् । सहकारीहरु नागरिकलाई आज छैन भोलि आउनुस् न भनेर फकाउने गर्दछन् । सहकारीको अफिसमा गयो भनी त्यहाँको चेयरम्यान पनि भेटिँदैन र अध्यक्ष पनि भागेर हिँड्छन् । सहकारीमा काम गर्ने कर्मचारीले एक वर्षदेखि तलब नपाएको गुनासो गर्छन् । घरधनीहरु पनि सहकारीले भाडा ६ महिनादेखि भाडा नदिएको बताउँछन् । बैंक तथा सहकारीहरुमा पैसा निकाल्नेको मात्र भिड छ डिपोजिट गर्ने कोही छैन ।

आजभोलि दिनहुँ सहकारीहरु भागेको सहकारी विभागमा उजुरी गर्ने नागरिकको भिड लागेको छ । हामीले पनि सहकारीमा आफनो पुँजी वा बचत जम्मा गरेका छौँ भने निकालौं, नभए सहकारीले हामीलाई पनि डुबाउने छन् । सचेत रहौं, ढुक्क भएर नबसौं । सहकारीमा भएको खाता पनि बन्द गरौं र नयाँ खाता नखोलौं । सहकारीहरुले बजारमा पैसा उठाउन राखेका कर्मचारीलाई पैसा नदिउँ र भएको पनि समयमै निकालौं । अहिले यो सहकारी भाग्यो, त्यो भाग्यो र त्यसले उसलाई डुबायो भन्ने कुरा धेरै सुन्नमा पाइन्छ ।

त्यसकारण समयमै होश पुर्याएर आफूले पैसा जम्मा गरेको सहकारीमाथि विश्वास नगरी पैसा निकाल्नुपर्छ । सहकारी भाग्नु र आफू डुब्नुभन्दा अघि नै सतर्क रहौं । पछिल्लो समयमा सहकारीका कार्यालयमा गएर हेर्ने हो भने नागरिक पैसा निकाल्न लाइन कुरेर बसिरहेका छन् । आफ्नो खातामा जम्मा गरेको १० लाख रुपैयाँ जम्मा गरेको छ, त्यसबाट एक लाख रुपैयाँ निकाल्न जाँदा कति सहकारीहरु पैसा छैन भन्दै उक्त रकम भुक्तानी गर्न २० दिन लगाउँछन् । यता बैंकको हालत पनि त्यस्तै छ । पाँच लाखको चेक साट्न जाँदा दिनको १ लाख मात्र लिएर जानुस् भन्ने गर्छ ।

अहिले बच्चादेखि बुढाबुढीलाई सोध्यो भने बैंक, फाइनान्स तथा सहकारीहरु ठग हुन्, यिनीहरु कतिखेर भाग्छन् भन्ने ठेगान नभएको बताउने गर्छन् । बैंक, फाइनान्स तथा सहकारीहरुलाई नागरिकले विश्वास गर्दैनन् । यी वित्तिय संस्थाहरुका कारण धेरै नागरिक सुकुम्बासी पनि भएका छन् भने कतिपय आत्महत्या गर्न बाध्य छन् । नागरिक भन्छन्, ‘बैंक, फाइनान्स तथा सहकारीहरु शोषक र सामन्ती हुन् । यिनीहरुले हामीलाई डुबाए, तपाईहरुलाई पनि डुबाउलान् ।’

अब बैंक, फाइनान्स तथा सहकारीहरुसँग लगानी गर्ने ठाउँ छैन, लगानी गर्ने ठाउँ भए पनि कर्जा दिनका लागि पर्याप्त पैसा छैन । बैंक, फाइनान्स तथा सहकारीहरु घाटामा गएकाले तीन महिनादेखि कर्मचारीलाई तलब र घर भाडा पनि तिर्न सकेको छैनन् । कतिपय बैंक, फाइनान्स तथा सहकारीहरुले आफ्ना शाखाहरु बन्द गरिसकेका छन् । कति बैंक, फाइनान्स तथा सहकारीका चेयरम्यान, अध्यक्ष र सीइओले राजिनामा दिइसकेका छन् भने कति राजीनामा दिनका लागि तयार भएर बसेका छन् ।

अहिले कतिपय बैंक, फाइनान्स तथा सहकारीहरुले विज्ञापनको रकम सञ्चारमाध्यमलाई दिन सकिरहेका छैन । कतिपयले सञ्चारमाध्यमलाई विज्ञापनको पैसा नदिए आफूहरुविरुद्ध लेखिदिने डरले डिपोजिट गर्ने नागरिकको पैसा नदिएर सञ्चारमाध्यमलाई विज्ञापनको रकम दिइरहेका छन् । यसरी सञ्चारमाध्यम र सञ्चारकर्मीलाई हातमा लिएर बैंक, फाइनान्स तथा सहकारीहरुले नागरिक ठगीरहेका छन् । सञ्चारमाध्यमले ठग र लुटधन्दा मच्चाउने बैंक, फाइनान्स तथा सहकारीहरुको विज्ञापनले नागरिक मारमा परिरहेका छन् ।

अब बैंक, फाइनान्स तथा सहकारीलाई नागरिकले फेरि पनि विश्वास गर्ने छैनन् र यिनीहरुले पहिलाको जस्तो नाफा पनि कमाउने छैनन् । सहकारीका एक जना बजार प्रतिनिधिले दैनिक एक लाखदेखि चार लाखसम्म उठाउने गर्थे भने नागरिकले पनि सहकारीमाथि विश्वास गरेर रकम जम्मा गर्थे । अहिले नागरिकले सहकारीमाथि विश्वास गर्दैनन् । पहिले दैनिक चार लाख उठाउने बजार प्रतिनिधिले अहिले दैनिक १० हजार पनि उठाउन सकेका छैनन् । नागरिक सचेत भएकाले सहकारीमा पैसा राख्न छोडिसकेका छन् । अहिले शेयर दलालहरुले शेयरको मुल्य बढ्छ भनेर हल्ला फिजाइँरहेका छन् ।

दलालीहरु आफैंले शेयर खरिद गरेर शेयरको मुल्य बढेको देखाएर सोझ नागरिकलाई शेयर किन्न लगाएर फसाउँछन्् । नागरिकले अब बुझेर, विचार गरेर मात्र शेयरमा लगानी गरौं, दलालीको चङ्गुलमा फसेर आफूले आफूलाई नडुबाऔं । अर्थविद् एवं विज्ञहरुका अनुसार अझै ठुलो आर्थिक समस्या वा मन्दी आउने र शेयर, घरजग्गा र गाडीको मुल्य घट्नेछ र अघिल्लो १५ वर्षसम्म यिनीहरुको मुल्य नबढ्ने दावी गर्छन् । त्यसैले होसियार बनौं, दलालीको कुरामा नलागौं । आफैंले आफूलाई डुबाउनुभन्दा अघि धेरै सोचौँ अनिमात्र लगानी गरौं । पहिले नै होसियार भएमा पछि रुनुपर्दैन । दलालीहरुले आफु कमाउनकै लागि सोझा नागरिकलाई फसाइरहेका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार १०:५८