पहिरोका कारण मुग्लिन नारायणगढ सडकखण्ड फेरि ठप्प भएको छ । बारम्बार पहिरो खसेर सडक अवरुद्ध हुँदा गाडी चालक, सहचालक र यात्रुको बिचल्ली भएको छ ।
अस्ति सोमबार रातिदेखि बन्द भएको सडक गएराति साढे १० बजेतिर बल्ल खुलेको थियो । तर, खुलेको चार घण्टामा फेरि पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।
चितवनको भरतपुर महानगरपालिका २९ मा पर्ने केराबारीमा ठूलो पहिरो गएको छ ।

सोमबार राति पनि यही ठाउँमा ठूलो पहिरो गएको थियो । यो सडकखण्डको अन्य ठाउँको पहिरो हटाए पनि केराबारीको पहिरो हटाउन समय लागेको थियो ।
ठूलो पहिरो खसेकाले हटाउन समय लाग्ने प्रहरीले जनाएको छ ।

पहिरो र रातभरिजसो परेको पानीले यात्रुले सास्ती पाएका छन् । खाना खान र पानी पिउन तथा दिसापिसाब गर्न नै समस्या भएको यात्रुले गुनासो गरेका छन् । यात्रुहरु भोक, तिर्खा र गर्मी सहेर बस्न बाध्य छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवं प्रवक्ता नरहरि अधिकारीले पानी र खानेकुरा नपाए तत्काल प्रहरीमा खबर गर्न आग्रह गर्नु भएको छ ।
पहिरो खुलाउन समय लाग्ने भन्दै उहाँले कुनै समस्या परे तत्काल प्रहरीको १०० नम्बर वा ट्राफिक पहरीको १०३ अथवा जिल्ला प्रहरी कार्यालय चितवनमा खबर गर्न आग्रह गर्नु भएको हो ।
यस्तै, उहाँले बस्तीको छेउछाउमै गाडी रोकेर बस्न पनि आग्रह गर्नु भएको छ ।






तस्बिर साभार : सडक डिभिजन कार्यालय, भरतपुरका इन्जिनियर सागर कार्कीकाे फेसबुकबाट
सत्यपाटी । काठमाडौँ ।