सूचनाको शक्ति - The Power Of Information

        

धरानका मेयर साम्पाङले भने, ‘अफिसको सिसा होइन, ढुंगा फुटाउन बगरमा आउनु’

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो कार्यालय तोडफोड गर्नेलाई ढुंगा फुटाउन आउन आग्रह गरेका छन् ।

धरानको बराह सहकारी संस्थाका पीडितले आइतबार धरान उपमहानगरपालिकाको कार्यालय तोडफोड गरेपछि मेयर साम्पाङले कार्यालय तोडफोड गर्नेलाई ढुंगा फुटाउन आउन आग्रह गरेका हुन् ।

सहकारी संस्थाका सञ्चालकको सम्पत्ति रोक्का गर्न माग गर्दै उपमहानगरपालिकाको कार्यालयमा पुगेका सहकारी पीडितहरुले मेयर साम्पाङले नराम्रो वचन प्रयोग गरेको भन्दै तोडफोडमा उत्रिएका थिए ।

मेयर साम्पाङ भने आफू सदैव पीडितका पक्षमा रहेको बताउँदै आएका छन् । उनले यहि प्रसङ्गलाई लक्षित गर्दै फेसबुकमा लेखेका छन्, ‘मेरो अफिसको सिसा होइन, ढुंगा फुटाउन आउनु है बगरमा ! विकासप्रेमी बनौँ, विनासप्रेमी होइन ।’

धरानका नागरिकलाई पानी खुवाउने प्रयासमा अहोरात्र खटिएका मेयर साम्पाङ आफैं लगातार श्रम गरिरहेका भेटिन्छन् । उनको आग्रहमा धराने नागरिक दिनहुँ श्रमदान पनि गरिरहेका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलवार १६:३६