सूचनाको शक्ति - The Power Of Information

        

मेरो डायरी

प्रधानमन्त्रीलाई प्रश्न, ‘कर ठुलो कि नागरिक ?’

कोरोनाबाट हालसम्म १२ हजार नेपाली नागरिकको मृत्यु भइसक्दा पनि सरकार अझै कोरोनालाई ख्यालठट्टा सम्झेर बसिरहेको छ ।

काठमाडौं लगायत विभिन्न जिल्लाहरुमा केही दिनदेखि कोरोना सङ्क्रमित र मृत्यु हुनेको संख्या उच्च भइरहेको पाइन्छ । अहिले अभिभावकहरु स्कूल, कलेजमा कोरोना फैलिन्छ भनेर आफ्नो बालबच्चा पढाउनका लागि पठाउन मान्दैनन् । निजी तथा सरकारी विद्यालयहरुमा पढ्ने विद्यार्थीले कोरोना नियन्त्रण गर्न सरकारले बनाएको स्वास्थ्य मापदण्ड पालना गरिरहेका छैनन् भने यता अभिभावकले बालबालिकालाई विद्यालय पठाउन छोडेसँगै अनलाइन कक्षा सुरु गर्नुपर्ने माग गरिरहेका छन् ।

कोरोना सङ्क्रमण तीब्ररुपमा फैलिरहँदा यसले धेरै क्षति पुर्याउँछ भनेर अभिभावक तथा विद्यार्थीको मनमा परेको छ । शिक्षक शिक्षिकाहरु पनि कोरोनाबाट ठुलो क्षति हुने भन्दै शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्नुपर्ने बताउँछन् । कोरोना सङ्क्रमित यतिधेरै फैलिँदा पनि स्वास्थ्य र शिक्षा मन्त्रालयले विद्यार्थी बचाउनुपर्छ भनेर नसोच्दा अहिले सयौं बालबालिका कोरोनाबाट ग्रसित भएका छन् । अभिभावक भन्छन्, ‘विद्यालयले अनलाइन कक्षा सुरु गर्नुपर्छ, होइन भने हामी बालबालिकालाई विद्यालय पठाउँदैनौं ।’

साना बालबालिकालाई कोरोना सङ्क्रमणले आफ्नो ज्यान पनि जान सक्छ भन्ने ज्ञान छैन । उनीहरु विद्यालयमा मास्क पनि लगाउँदैनन् भने सामाजिक दुरी पनि कायम गर्दैनन् । यसरी बालबालिकाले कोरोना नियन्त्रण गर्न सरकारले बनाएको मापदण्ड पालना नगर्दा विद्यालय सञ्चालक समिति तथा व्यवस्थापकले समेत यसमा कुनै चासो देखाएका छैनन् । अहिले कोरोना सङ्क्रमणले महामारीको रुप लिँदा शिक्षा र स्वास्थ्य मन्त्रालयले बालबालिकालाई बचाउनका लागि उचित निर्णय गर्न सकिरहेका छैनन् ।

यदि बालबालिका नै नरहने हो भने शिक्षा कसलाई दिने ? के नागरिककको ज्यानभन्दा ठुलो शिक्षा हो ? पहिला बालबालिका बचाएपछि पो शिक्षा दिन मिल्छ ? त्यस्तै चाडपर्व वा पुजापाठका नाममा अहिले मठमन्दिरमा दर्शन गर्ने र पुजा गर्नेहरुको भीड धेरै लागेको छ । पशुपतिमा गएर हेर्दा दर्शन गर्न आएका नागरिकले पनि मास्क लगाएका छैनन् र सामाजिक दुरी पनि कायम गरेका छैनन् । विभिन्न मठमन्दिरमा पनि यस्तै हालत छ । पर्यटक मन्त्रालय र पशुपति विकास कोष पनि कोरोनाको जोखिमप्रति संवेदनशील भएको देखिँदैन ।

सरकार जिम्मेवार नभएकै कारण अहिले सबैभन्दा बढी कोरोना फैलिने स्थान मठमन्दिर र विद्यालयहरु नै बनेका छन् । नागरिकहरु पनि हाल भन्ने गर्दछन्, ‘मठमन्दिर र विद्यालय तत्कालिन बन्द गर्नुपर्छ ।’ यता अन्य मुलुकबाट आएका नागरिक पनि सिधैं मठमन्दिरमा गएर दर्शन गरिरहेका छन्, जसले कोरोना झन् तीब्ररुपमा फैलिने खतरा बढेको छ । त्यस्तै फिल्म हलहरुमा पनि उत्तिकै जोखिम छ । फिल्म हेर्न जाने दर्शकहरुको मुखमा मास्क छैन भने सामाजिक दुरी पालना गर्नु त एकादेशको कथाजस्तै भएको छ ।

अहिले हरेक दिन नयाँ–नयाँ फिल्म सञ्चालन हुने हुँदा फिल्म हलमा दर्शकको चाप निकै बढिरहेको पाइन्छ । यसरी फिल्म हल पनि अहिले कोरोना फैलाउने कारखाना बन्दै गइरहेका छन् । कोरोना यसरी फैलिँदा फिल्म हल बन्द गर्नुपर्छ भन्ने आवाज पनि उठिरहेको छ । नागरिकले सरकारसमक्ष फिल्म हल बन्द गर्न माग गरे पनि सरकार कानमा तेल हालेर बसिरहेको छ । पार्टी प्यालेसहरुमा पनि विवाह, ब्रतबन्ध, भोज, राजनीतिक कार्यक्रम आदिका कारणले गर्दा त्यतिकै भिडभाड रहेको पाइन्छ ।

यसरी यी स्थलहरुका कारण अहिले कोरोना तीब्ररुपमा फैलिरहेको पाइन्छ । बैंक, फाइनान्स तथा वित्तिय संस्थाबाट पैसा निकाल्ने नागरिकको भिड उत्तिकै रहेको पाइन्छ । अहिले दिनहुँ पाँच वटाभन्दा बढी सहकारीहरु भागिरहेका बेला आफ्नो बचत गरेको रकम निकाल्नका लागि बैंक तथा सहकारीमा लाइन लागेर बसिरहेका छन् । आफुले जम्मा गरेको बचत रकम निकाल्न पुगेका नागरिकमात्रै होइन, बैंक तथा सहकारीका कर्मचारीले नै न मुखमा मास्क लगाएका छन्, न त सामाजिक दुरी नै कायम गरेका छन् ।

अझ सरकारी कार्यालयमा पनि सरकारी कर्मचारीहरु मुखमा मास्क नलगाउने र सामाजिक दुरी पालना नगरी कोरोना फैलाइरहेका छन् । सरकारी कार्यालयमा सेवा लिन जाने नागरिकले पनि मुखमा मास्क लगाएको र सामाजिक दुरी पालना गरेको देखिँदैन । सरकारी कार्यालय पनि कोरोना फैलाउने कारखाना बन्दैछन् । यता होटेल, रेस्टुरेन्ट, क्याफे, दोहोरी साँझ, डान्सबार तथा रेस्टुरेन्टहरुले कोरोना नियन्त्रणका लागि बनाइएको मापदण्ड पालना नगरेर कोरोना फैलाउने काम गरिरहेका छन् ।

चिडियाखाना र सङ्ग्रहलयहरु पनि अहिले कोरोना फैलाउने कारखाना बनिरहेका छन् । यी स्थलहरु पनि बन्द गर्न ढिला भइसकेको छ । यहाँ आउने नागरिकले पनि कोरोना नियन्त्रण मापदण्ड पालना गर्दैनन् । भाटभटेनी, सुपर मार्केटहरुमा नागरिकको चाप धेरै बढिरहेको छ । यहाँ पनि कोरोना नियन्त्रणका कुनै मापदण्ड पालना भइरहेको छैन । गाडी मर्मत गर्ने वर्कसप, पसले व्यापारी, फुटपाथमा व्यापार गर्ने व्यापारीले मास्क प्रयोग गर्दैनन् भने सामाजिक दुरी कायम गर्नु त निकै टाढाको विषय बनेको छ ।

सार्वजनिक सवारीमा पनि यात्रुमात्रै होइन सहचालक तथा चालकको मुखमा मास्क छैन । अझ सवारीमा सिटभन्दा बढी यात्रु हालेर कोरोना फैलाइरहेका छन् । सिटभन्दा बढी यात्रु हालेर मास्क नलगाई चालक तथा सहचालकले गाडी चलाउँदा पनि ट्राफिक प्रहरी कारबाही गर्नुको साटो रकम असुलेर कमाउधन्दामा लागिरहेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार, बल्खु तरकारी तथा फलफूल बजार, तिनकुने फलफूल तथा तरकारी बजार, भक्तपुर फलफूल तथा तरकारी बजारहरुमा पनि नागरिकको भिडभाड हेरिनसक्नु छ ।

लामो दुरीमा चल्ने गाडीको टिकट काट्ने काउण्टरमा बसेका नागरिकले पनि मुखमा मास्क लगाएका छैनन् । लामो दुरीका सवारीसाधन र जहाज तत्काल बन्द गर्नुपर्ने नागरिकको माग सरकारले सुनिरहेको छैन । यी संस्थाले कोरोना नियन्त्रणका कुनै मापदण्ड पालना गरेका छैनन् । यसरी जहाजबाट आएका नागरिक पनि सिधैं आफ्नो घरमा गइरहेका छन्, यसले घरपरिवार र समाज पनि कोरोना संक्रमणको उच्च जोखिममा छ । उपत्यकाबासीले भक्तपुर, ललितपुर र काठमाडौंका मेयरसँग नाका बन्द गर्नुपर्ने आवाज उठाइरहेका छन् ।

नाकाबाट भित्रिने नागरिकको कोरोना चेकजाँच गरेर मात्रै नाकाभित्र प्रवेश गराउन नागरिकको माग छ । नागरिकको माग अनुसार मेयरहरुले चासो दिएको पाइँदैन । अब सरकारले भिडभाड कम गर्न सवारीमा जोरविजोर प्रणाली लागु गर्नुपर्छ र निषेधाज्ञा जारी गर्नुपर्छ । तर स्वास्थ्य मन्त्रालयले न त लकडाउन गर्न सकेको छ, न त मापदण्ड नै पालना गराउन सकेको छ । कोरोना फैलाएर नागरिक मार्ने काममा स्वास्थ्य मन्त्री व्यस्त छन् । अब कि तत्काल लकडाउन गर्नुपर्छ, होइन भने स्वास्थ्य मन्त्रीले राजिनामा दिनुपर्छ ।

कोरोनाका नाममा नागरिकले ज्यान गुमाउनुहुँदैन । यसको जिम्मा सरकार लिनैपर्छ । सरकार भने कोरोना सङ्क्रमणका कारण नागरिकले ज्यान गुमाइरहँदा मुकदर्शक बनेर बसिरहेको छ । कोरोनाबाट हालसम्म १२ हजार नेपाली नागरिकको मृत्यु भइसक्दा पनि सरकार अझै कोरोनालाई ख्यालठट्टा सम्झेर बसिरहेको छ । यसको जिम्मा कसले लिन्छ सरकार ? प्रधानमन्त्री शेरबहादुर देउवासँग नागरिकले प्रश्न गर्न थालेका छन्, ‘प्रधानमन्त्री ज्यु तपाईलाई ‘कर ठुलो हो कि यो देशका नागरिक ठुला हुन् ?’

अहिले पनि व्यापारीका ठेकेदारहरुले स्वास्थ्य मन्त्रीलाई भेटेर प्रलोभनमा पारिरहेका छन् । यसरी व्यापारीको दबाबमा परेर स्वास्थ्य मन्त्रीले लकडाउन गर्ने प्रस्ताव मन्त्रीपरिषदमा लैजान नसकेको बुझिन्छ । प्रधानमन्त्रीले काम गर्न नसक्ने असक्षम मन्त्रीलाई हटाएर नागरिकलाई कोरोना लागेर मृत्यु हुनबाट जोगाउनु नै अहिलेको पहिलो आवश्कता हो । अहिले पनि नागरिक मुखमा मास्क नलगाएरै हिँडिरहेका छन् । सरकारी मापदण्ड पालना नगर्ने नागरिकलाई प्रहरीले कारबाही तथा जरिवाना केही पनि गर्दैन ।

हरेक घरमा नागरिक रुघाखोकी, ज्वरोका कारण ग्रसित हुँदा पनि स्थानीय सरकार कोरोना चेकजाँच गर्दैन । सरकारले अहिले पनि कोरोना चेकजाँच गरेको पैसा लिन्छ । आर्थिक अवस्था कमजोर भएका नागरिक पैसा नहुँदा कोरोना जाँच नगरेर नागरिक कोरोना फैलाउँदै हिँडिरहेका छन् । अब सरकारले कोरोना चेकजाँच तथा उपचार निःशुल्क गर्नुपर्छ । सरकारको लापरबाही र व्यापारीको फाइदाले सयौं नेपालीको कोरोनाबाट मृत्यु हुँदा पनि ती नागरिकका आफन्तलाई सरकारले क्षतिपूर्ति समेत दिन सकेन ।

२०७२ सालको संविधानमा नागरिकको बाँँच्न पाउने अधिकार स्पष्टरुपमा लेखिएको छ, तर यहाँ त सरकार नै कोरोना फैलाउँदै नागरिक मार्नै काम गरिरहेको छ । सरकारले कोरोना फैलाएर नागरिक मार्न पाउँदैन । के सरकारले कोरोना फैलाएर नागरिक मार्न पाइन्छ ? अहिले दिनहुँ कोरोना सङ्क्रमित भेट्दा पनि सरकार लकडाउन नगरी निदाएर बसिरहेको छ । के सरकारलाई नागरिकको माया छैन ? लकडाउन गरेर नागरिक बचाउने कि कोरोना फैलाएर नागरिक मारेर रमिता हेर्ने सरकार ! लकडाउन गर्न ढिलो भइसक्यो, कोरोना फैलिसक्यो । त्यसकारण अब चाहिँ बेलैमा केही सोच्ने हो कि सरकार ?

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलवार १६:२०

सिफारिस