सूचनाको शक्ति - The Power Of Information

        

कुखुरामै सेटिङ्ग

प्रहरीकै ‘लाइन’मा भारतबाट भित्रिएको भित्रियै ‘तस्करीका कुखुरा’

चोरी तस्करी नियन्त्रणका लागि सीमा नाकामा खटिएका प्रहरी आलु–प्याज छाम्नमै व्यस्त रहेका बेला तस्करीका कुखुरा भने भित्रिएको भित्रियै छन् ।

स्रोत भन्छ, ‘यति रकम भन्ने त हामीलाई थाहा हुँदैन, कुखुरा तस्करले मासिकरुपमा तोकिएको रकम सिधै इन्चार्जलाई बुझाउँछन्, त्यही अनुसार गाडी पास हुन्छन् ।’

बाँकेको नरैनापुर र जमुनाहा नाकामा इलाका स्तरका प्रहरी कार्यालय राखिएको छ भने परसपुर, साइगाउँ र खजुरा क्षेत्रमा प्रहरी चौकी छन् । भारतसँग सीमा जोडिएका यी चार स्थानका सीमा क्षेत्रमा प्रहरी तैनाथ गरिएको छ ।

चोरी तस्करी नियन्त्रणलाई मुख्य उद्देश्य बनाएर ती सीमा क्षेत्रमा खटिएका प्रहरी सेटिङ्गमै व्यस्त छन् । चोरी तस्करी नियन्त्रणका लागि सीमा नाकामा खटिएका प्रहरी आलु–प्याज छाम्नमै व्यस्त रहेका बेला तस्करीका कुखुरा भने भित्रिएको भित्रियै छन् ।

प्रहरीले नै ‘लाइन’ दिएपछि भारतबाट अवैधरुपमा तस्करीका कुखुरा नेपाल भित्रिरहेका छन् । प्रहरीले नै लाइन दिएर भारतीय कुखुरा भित्र्याउन थालेपछि बाँकेको कुखुरापालन व्यवसाय सङ्कटमा परेको छ । प्रहरीकै मिलेमतोमा भारतीय कुखुरा खुलेआम नेपाल भित्रिरहेका छन् ।

सरकारले भारतीय बजारबाट कुखुुरा र पंक्षीजन्य पदार्थको आयातमा प्रतिबन्ध लगाए पनि बाँकेमा खुलेआम विक्री वितरण भइरहेको छ । भारतीय सीमासँग जोडिएको नाकाबाट प्रहरीकै सेटिङ्गमा भारतीय कुखुरा खुलेआम नेपाल भित्रिने गरेको स्थानीयहरु बताउँछन् ।

नेपालमा भारतीय कुखुराको मासु प्रतिकिलो रु ५० देखि रु १०० सम्म सस्तो पर्ने हुँदा ती नाकाबाट प्रहरीकै मिलेमतोमा भारतीय कुखुरा तस्करी हुन्छ । ती नाकाबाट दैनिक चार–पाँच वटा भ्यानमा भारतीय कुखुरा तस्करी भएर बाँकेका विभिन्न बजारमा पुग्ने गर्छ ।

‘पहिले अँध्यारोमा तस्करी हुन्थ्यो, अहिले त दिउँसै हुन्छ,’ जमुनाहाका एक स्थानीय भन्छन्, ‘तस्करीमा साइकल, मोटरसाइकल र चारपाङ्ग्रे भ्यानसमेत प्रयोग हुन्छन् ।’ उनका अनुसार प्रहरीले लाइन दिएपछि दिउँसै कुखुरा तस्करी हुँदै आएको छ ।

केही समयअघि नरैनापुरका युवा समाजसेवी विनय दिक्षितले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए, ‘नरैनापुरमा कुखुरा फर्म नभए पनि दैनिक दुई वटा भ्यानमा कुखुरा नेपालगन्ज पुग्छ, सरोकारवालालाई महिनाको ८० हजार पुग्छ ।’

नरैनापुरमा इलाका प्रहरी कार्यालय रहे पनि कार्यालयको नाकैमूनिबाट इन्चार्जको मिलेमतोमा दुई वटा भ्यानमा कुखुरा नेपालगन्ज पुग्ने गरेको स्थानीयहरुको दावी छ । दिक्षितले लेखेका छन्, ‘तस्करी लगभग यस्तै छ, प्रमाण चाहिए मेरो सिसी क्यामरा हेर्न आउनु होला ।’

फाइल तस्वीर

यता जमुनाहा नाकाबाट पनि इन्चार्जकै मिलेमतोमा दैनिक तीन वटासम्म भ्यान नेपाल भित्रिँने गरेको प्रहरी स्रोत बताउँछ । स्रोतले भन्यो, ‘साइकल र मोटरसाइकलको त गन्ती नै हुँदैन, दैनिक तीन वटासम्म भ्यान जमुनाहाबाट पास गरिन्छ ।’

तस्करले मासिकरुपमा यहाँका इन्चार्जलाई मोटो रकम बुझाएर कुखुरा तस्करी गर्दै आएका छन् । स्रोत भन्छ, ‘यति रकम भन्ने त हामीलाई थाहा हुँदैन, कुखुरा तस्करले मासिकरुपमा तोकिएको रकम सिधै इन्चार्जलाई बुझाउँछन्, त्यही अनुसार गाडी पास हुन्छन् ।’

परसपुर, साइगाउँ र खजुराका सीमा क्षेत्रबाट समेत जीप र मोटरसाइकलमा कुखुरा तस्करी हुँदै आएको स्थानीयहरुको भनाई छ । भारतबाट अवैध कुखुरा आयातमा नियन्त्रण गर्नेतर्फ नभई प्रहरी नै तस्करसँग मिलेपछि यहाँको व्यवसाय लगानी उच्च जोखिममा छ ।

छोटो दुरीको सिमाना र प्रहरीले लाइन दिएपछि भारतबाट आयात गरेर ल्याएका कुखुरा र अण्डाहरु पनि नेपालकै कुखुरा भएको तस्करहरूले दाबी गर्ने गरेका छन् । यसले पनि प्रहरीको मिलेमतोमा भारतबाट अवैधरूपमा कुखुरा तस्करी बढेको देखिन्छ ।

कुखुरा आयातमा प्रतिबन्ध हुँदा पनि मासिक असुलेर तस्करलाई कुखुरा आयातमा ‘लाइन’ दिएर प्रहरीकै मिलेमतोमा भारतबाट दिनहुँ तस्करीका कुखुरा भित्रिँदा यहाँका व्यवसायी मारमा परेको कुखुरापालक व्यवयासीहरुको गुनासो छ ।

भारतबाट करिव ६० प्रतिशत कुखुरा प्रहरीकै मिलेमतोमा आयात हुने गरेको व्यवसायीहरुको दावी छ । कुखुरापालकले निकै जोखिम मोलेर व्यवसाय गरे पनि प्रहरी प्रशासनकै कारण व्यवसायीको ढाड सेक्ने काम भइरहेको उनीहरु बताउँछन् ।

व्यवसायीहरु भन्छन्, ‘निकै जोखिम मोलेर कुखुरापालन गरेका छौं । खुला सिमानाका कारण भारतबाट भित्रिने अवैध कुखुराका कारण नेपाली व्यवसायीहरु मारमा पर्दासमेत स्थानीय प्रशासनले त्यसलाई रोक्नेतर्फ चासो नदिएर मौन बस्दा हामीहरू समस्या परेका छौं ।’

भारतबाट अवैध कुखुरा भित्रिदा नेपाली कुखुरा विक्री नहुँदायहाँका पोल्ट्री व्यवसायीहरुको व्यवसाय नै चौपट बन्दै गएको छ । बाँकेका कुखुरापालक व्यवसायीले भारतबाट तस्करीका कुखुराको आयात रोक्न हारगुहार समेत गरिरहेका छन् ।

फाइल तस्वीर

भारतीय कुखुराका कारण पछिल्लो एक महिनायता नेपाली किसानका कुखुरा विक्री नभएको गुनासो गर्दै नेपाल पोल्ट्री व्यवसायी संघ, बाँकेका सचिव प्रदीप कँडेलले कुखुरा विक्री नहुँदा मर्न थालेको र दानाको लागत पनि खेर गइरहेको बताए ।

नेपाल पोल्ट्री व्यवसायी संघ, बाँकेका सचिव कँडेलले नेपाली किसान र व्यवसायीको करोडौं लगानी डुब्ने अवस्थामा रहेको भन्दै स्थानीय प्रशासनले तस्करीका कुखुराको आयात नरोक्दा नेपाली व्यवसायीहरु धराशायी हुने अवस्थामा पुगेको पनि बताए ।

भारतबाट आउने कुखुराबाट पंक्षीजन्य रोगहरु भित्रिने खतरा रहेको र नेपालमै मागलाई धान्ने गरी पंक्षीजन्य उत्पादन भइरहेकाले सरकारले भारतबाट आयातमा प्रतिबन्ध लगाए पनि कुखुराको अवैध आयात भने निरन्तर जारी छ ।

खुला सीमानाको फाइदा उठाउँदै तस्करीका कुखुरा भित्रिन थालेपछि नेपाली कुखुरा बिक्री हुन छाडेका छन् । नेपाली कुखुराभन्दा भारतीय कुखुरा जिउँदो प्रतिकिलो ४० रुपैयाँभन्दा सस्तो पर्ने हुँदा तस्करहरुले चोरबाटो भएर भारतीय कुखुरा भित्र्याइरहेका छन् ।

अहिले नेपाली कुखुरा जिउँदो प्रतिकिलो २०० रुपैयाँमा दिँदा पनि व्यापारीले खरिद नगरेको किसानहरु बताउँछन् । कुखुरा व्यवसायी संघ बाँकेका का.बा.अध्यक्ष ईश्वर सुवेदीले केही सातायता बाँकेमा किसानका कुखुरा बिक्री नहुँदा लाखौंको घाटा व्यहोरिरहेको बताए ।

मासु बिक्रेताले बजारमा भारतीय कुखुरा बेचिरहेको उनको आरोप छ । भारतबाट अवैधरुपमा आयात हुने तस्करीका कुखुराकै कारण नेपाली कुखुरा बिक्री हुन छाडेपछि पोल्ट्री व्यवसाय सम्बद्धहरूले स्थानीय प्रहरी प्रशासनप्रति आक्रोश व्यक्त गरेका छन् ।

भारतबाट भित्रिने तस्करीका कुखुराको मासु काठमाडौंसम्म पुग्ने भएकाले नाकामा कडाइ गर्न नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले आग्रह गरे । उनले प्रशासनले अवैध आयात नरोक्दा नेपाली व्यवसायी धरासायी हुने अवस्थामा पुगेको बताए ।

भारतीय कुखुरा निर्वाध आयात हुँदा आफनो व्यवसाय धरापमा परेको भन्दै नेपाली कुखुरा व्यवसायीले नाकामा कडाइ गर्न अनुरोध गरेका हुन् । यसअघि कुखुरा व्यवसायीले भारतीय कुखुरा रोक्न बाँकेका प्रमुख जिल्ला अधिकारीसमक्ष अनुरोधसमेत गरेका छन् ।

बाँकेमा नेपाली कुखुरा विक्री हुन छाडेपछि यहाँका मासु पसलमा केही समयअघि व्यवसायी आफैंले केही मासु पसलमा अनुगमन गरेका थिए । त्यसक्रममा धेरै ठाउँमा भारतीय कुखुरा ल्याएर मासु बेच्ने गरेको पाइएको थियो ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलवार १५:०६