सूचनाको शक्ति - The Power Of Information

        

अपराध

आर्थिक खटपटदेखि रिसिइवीले निम्तिएका डरलाग्दा सामूहिक हत्या

हत्यापछि आत्महत्या गर्दा यस्ता घटनाहरुमा हत्याका थप कारण यही भने खुल्न सक्दैन ।

काठमाडौंको तार्केश्वर नगरपालिका २, पदमसालस्थित एक घरभित्र सोमबार बिहमान ४ जनाको शव फेला पर्यो । एकै परिवारका चार जनाको घरभित्र शव भेटिएको थियो । गोरखा घर भएर हाल तार्केश्वर बस्ने ४१ वर्षीय दिनेश पाण्डे, उनकी ३९ वर्षीय सुनिता काप्री पाण्डे र दुईजना १३ र ८ वर्षीय छोराछोरी मृत भेटिका हुन् ।

बन्द कोठाभित्र चारै जनाको शव विभत्स अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । चारैवटा शवमा धारिलो हतियारको गहिरो चोट छ । घरभित्रको एउटा कोठामा सुनिता र दुईजना छोराछोरीको शव फेला परेको थियो । छोराछोरी कोठाभित्रको खाटमा र सुनिताको शव भुइँमा लडेको अवस्थामा थियो । दिनेशको शव भने अर्को कोठामा भेटिएको थियो ।

उनले झुन्डिएर आत्महत्या गर्न खोजेको देखिएको छ । तर, प्रहरीले अहिलेसम्म सो घटना हत्या वा आत्महत्या के हो भने बारेमा औपचारिक रुपमा बोलेको छैन । घटनास्थलमा भेटिएको प्रमाण, आफन्त र छिमेकीको बयानले घटना हत्यापछि आत्महत्या भएको देखिएको छ । प्रहरीले घटनास्थलबाट बरामद गरेको सुसाइड नोटमा श्रीमतीसँगको विवाद, शंका र आर्थिक पाटोको कारण घटना भएको खुलेको छ ।

‘सुसाइड नोटमात्र घटना पुष्टि गर्ने एकमात्र आधार होइन । त्यसैले घटनाको अन्य पक्षहरु पनि हेरिरहेका छौं,’ काठमाडौं उपत्यका अनुसन्धाज कार्यालयका एसएसपी जनकराज भट्टराइले भने । हाल प्रहरीले सो घटनाको अनुसन्धान गरिरहेको छ । तर, हत्या वा आत्महत्या जे भए पनि एउटै घरका चार जनाको मृत्युले धेरैको आङ जिरिङ बनाएको छ ।

यो सामूहिक घटना काठमाडौं उपत्यकामा पहिलोपटक घटेको भने होइन । यसअघि पनि तार्केश्वरको जस्तै धेरै सामूहिक घटना भएका छन् । २०७७ साल भदौमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका ९ स्थित निकोसेरामा एकै परिवारका तीन जना घरभित्र मृत फेला परेका थिए । ३६ वर्षीय सुदीप अधिकारी, उनकी ३४ वर्षीया पत्नी सम्झना अधिकारी र १५ वर्षीय सुशान्त (छोरा) मृत अवस्थामा फेला परेका थिए ।

उनीहरुको मृत्युको समय पनि फरक फरक भएको फेला परेको थियो । प्रहरीले घटनाको अनुसन्धानपछि सुदीपले आफ्नी श्रीमती र छोराको हत्या गरेर आत्महत्या गरेको निष्कर्ष निकालेको थियो । घटनाको कारण सुदीपको आर्थिक तथा मानसिक समस्या समेत भएको अनुसन्धानबाट खुलेको थियो । उनले घटनाको केहीदिनअघि मात्र ससुरालीबाट २ लाख रुपैयाँ ऋण लिएका थिए ।

त्यस्तै बैंकबाट २४ लाख रुपैयाँ ऋणको लागि प्रक्रिया गरेको कागजसमेत फेला परेको थियो । हत्या गर्ने मानिसले नै आत्महत्या गरेपछि प्रहरीको अनुसन्धान त्यहीँ गएर टुङ्गिएको थियो । त्यस्तै, २०७७ साल पुसमा काठमाडौंको टोखामा एक दम्पती मृत अवस्थामा फेला परेका थिए । टोखास्थित ग्राण्डी भिलामा उमेश केसी र उनकी श्रीमती सुदीक्षा गिरी मृत अवस्थामा भेटिएका थिए ।

उमेश कोठाको खाटमा लडिरहेको र श्रीमती पासोमा झुन्डिएको अवस्थामा फेला परेका थिए । उमेश घटना घटेको केही समयअघि मात्र अमेरिकाबाट नेपाल फर्किएका थिए । श्रीमान् श्रीमतीबिच विवाद हुँदा घटना भएको प्रहरीको अनुसन्धानले देखाएको थियो । यस्तै, ललितपुरमा पनि यस्तै प्रकृतिको घटना भएको थियो । २०७६ साल माघ महिनामा पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्या भएको थियो ।

घरमा भएको सीसी क्यामरा तथा अन्य प्रमाणको आधारमा उनको हत्या घरमा काम गर्न राखिएका २२ वर्षीय विजय चौधरीले गरेको खुलेको थियो । मुनाको हत्या गरी चौधरीले आत्महत्या गरेको प्रहरीले निष्कर्ष निकालेको थियो । घरभित्रको लिभिङ रुममा नाइलनको डोरी लगाएर झुन्डिएको अवस्थामा चौधरी मृत फेला परेका थिए । हत्यापछि आत्महत्या गर्दा यस्ता घटनाहरुमा हत्याका थप कारण यही भने खुल्न सक्दैन ।

यीभन्दा अलिक फरक किसिमको घटना संखुवासभामा घटेको थियो । मादी नगरपालिका १ मा सामूहिक हत्या भएको थियो । ५६ वर्षीय तेजबहादुर, उनकी वृद्ध आमा, श्रीमती, बुहारी र दुई नातिनातिनाहरुको हत्या गरिएको थियो । ८४ वर्षीय पार्वती कार्की, उनका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षकै कमला कार्की, ३२ वर्षीय रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की, पाँच वर्षकी गोमा कार्कीको हत्या भएको थियो ।

घटना भएको ६ दिनपछि अर्थात भदौ २७ गते लोकबहादुरक कार्कीलाई पक्राउ गरिएको थियो । त्यसको केही समयपछि प्रहरीले ४७ वर्षीय खड्गबहादुर कार्की, उनका २८ वर्षीय छोरा हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादर कार्की र १७ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको थियो । नरेश र रणबहादुर कार्की लोकबहादुरका भाइ र बुबा हुन् । सामूहिक हत्या रिसिइबीको कारण भएको प्रहरीको अनुसन्धानमा खुलेको थियो ।

चक्कु र दाउराको चिर्पट प्रहार गरेर हत्या गरिएको प्रहरीको अनुसन्धानमा देखिएको थियो । हत्या प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेकामध्ये ४ जनालाई आजीवन कैद सजाय तोकि सकिएको छ । जिल्ला अदालत संखुवासभाले प्रतिवादीमध्ये ४ जनालाई आजीवन कैद गर्ने निर्णय सुनाइसकेको छ । त्यस्तै, एक नावालक प्रतिवादीको हकमा भने २५ वर्षको दुई तिहाई कैद सजाय सुनाइएको छ ।

यसअघि २०७६ जेठमा पाँचथरको मिक्लाजुङ्मा नौ जनाको हत्या भएको थियो । एक बालिका भने भागेर बाँच्न सफल भएकी थिइन् त्यतिखेर । ३६ वर्षीया जस्मिता फियाक, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, पुर्सीमाया फियाक र १२ वर्षीया आशिका खजुम लिम्बुको हत्या भएको थियो ।

घटना भएको स्थानबाट करिब दुई किलोमिटरको दुरीमा मानबहादुर माखिम झुन्डिएको अवस्थामा फेला परेका थिए । घटनास्थल नजिकै रगत लागेको लुगा, खुकुरी भेटिएकाले उनले नै अरुको हत्या गरेर आफूले आत्महत्या गरेको प्रहरीले निष्कर्ष निकालेको थियो । हत्या गरेका मानबहादुर माखिम बमबहादुरका कान्छा ज्वाइँ हुन् ।

त्यस्तै, २०७७ जेठमा रुपन्देही तिलोत्मा १० मा एक व्यक्तिले कोदालोले प्रहार गरेर पाँच जनाको हत्या गरेका थिए । गंगादेवी पशु फार्ममा काम गर्नेले राति हत्या गरेका थिए । जसमा ४ जना पुरूष र एक महिला छन् । मृत्यु हुनेहरुमा जानकी मुसहर, माधव मुसहर, करण चौधरी, आशिष चौधरी र पोषराज मुसहर रहेका थिए । मारिनेमा श्रीमान् श्रीमती नै थिए ।

प्रहरीले हत्या अभियोगमा सोही दिन सुर्खेतका ३१ वर्षीय झसेन्द्र सिंजालीलाई नियन्त्रणमा लिएको थियो । उनी मदिरा खाएर बेहोस भएको अवस्थामा फेला परेका थिए । उनले हत्या गरेको स्वीकार समेत गरेका थिए । अफवाह फैलाएपछि आफूले रिसको आवेगमा हत्या गरेको उनले बयान दिएका थिए । घटना भएको सात महिनापछि उनलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाइएको थियो ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलवार ११:३७