सूचनाको शक्ति - The Power Of Information

        

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज

जताततै भत्किएर क्याम्पस भवन जीर्ण, दुर्घटनाको जोखिम उच्च

‘भवनहरु जताजतै भत्किएका छन् । पानी परेको बेला चुहिएर पठनपाठन गराउन पनि समस्या हुन्छ,’ क्याम्पस प्रमुख आचार्य भन्छन्, ‘जोखिम पनि त्यत्तिकै छ । कुन बेला बालुवा, इँटा खसेर लाग्छ ।’

नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको जीर्ण भवन ।

पश्चिम नेपालको पुरानो आंगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको भवन जीर्ण हुँदा जाखिम मोलेर पठनपाठन भइरहेको छ । ५९ वर्ष पुरानो भवनमा जिर्णोद्धार नुहँदा जोखिमपूर्ण अवस्थामा पठनपाठन गर्नुपर्ने बाध्यता छ ।

भवनको छत जीर्ण भएको छ । छतबाट पानी चुहिएर पाठ्यपुस्तकसमेत भिज्ने गरेको छ । क्याम्पस प्रमुख लालमणी आचार्यले भवन जीर्ण भएका कारण क्याम्पस अन्यन्त संकटमा रहेको बताए । उनले समयमा मर्मत सम्भार नभए ठुलो दुर्घटना हुने खतरासमेत उत्तिकै रहेको बताए ।

करिब ५९ बर्षअघि निर्माण गरिएको भवन जीर्ण भएर भत्किने अवस्थामा रहे पनि त्यही भवनमा पठनपाठनको काम हुँदै आएको छ । ‘भवनहरु जताजतै भत्किएका छन् । पानी परेको बेला चुहिएर पठनपाठन गराउन पनि समस्या हुन्छ,’ क्याम्पस प्रमुख आचार्य भन्छन्, ‘जोखिम पनि त्यत्तिकै छ । कुन बेला बालुवा, इँटा खसेर लाग्छ ।’

२०१९ सालमा महेन्द्र डिग्री कलेजको नाममा स्थापना हुँदा क्याम्पस भवनको निर्माण भएको हो । डिग्री कलेजको नाममा स्थापना भएको क्याम्पसलाई २०२८ सालमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज नामाकरण गरिएको हो । स्थापना भएको ५५ वर्ष पार हुँदासम्म पनि क्याम्पस भवनको अहिलेसम्म मर्मत सम्भार भएको छैन ।

क्याम्पस प्रमुख आचार्य भन्छन्, ‘भवन बनेको ५९ वर्ष भयो, जिर्णोद्धार गर्ने हो भने अझै ५० वर्ष चल्छ ।’ भवन जीर्ण भएका कारण विद्यार्थी संख्यासमेत घटेर गएको प्रशासन भनाइ छ । भवन मर्मत सम्भारका लागि त्रिभुवन विश्वविद्यालय तथा स्थानीय निकायका साथै विभिन्न दातृ निकायसँग अनुरोध गरिए पनि सुनुवाइ नभएको क्याम्पस प्रमुख आचार्य गुनासो गर्छन् ।

‘अधिकांश भवनबाट पानी चुहिन्छ,’ क्याम्पस प्रमुख आचार्यले भने, ‘कोठाबाट ईट्टा र सिमेन्ट निस्कने गरेको छ ।’ क्याम्पस भवन जोखिमपूर्ण रहे पनि जीर्ण भवनबाटै अध्ययन अध्यापन भइरहेको विद्यार्थीको भनाइ छ । सहरी विकास मन्त्रालय अन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागले जीर्ण रहेको भवन प्रयोग गर्न नमिल्ने जनाएको छ ।

विभागको प्राविधिक टोलीले क्याम्पसको भवनको परीक्षणपछि प्रयोग गर्न नमिल्ने भन्दै लिखित जानकारी दिएको क्याम्पस प्रमुख आचार्यले जानकारी दिए । क्याम्पसको पठनपाठन भइरहेको भवन प्रयोग गर्न नमिल्ने भएपछि त्यसबारे त्रिभुवन विश्व विद्यालयलगायत सम्वद्ध निकायमा पत्राचार गरी सकिएको क्याम्पसले जनाएको छ ।

तर हालसम्म भवन भत्काएर नयाँ भवन निर्माण वा अन्य विकल्पका विषयमा कुनै औपचारिक वा अनौपचारिक जानकारी प्राप्त नभएको क्याम्पस प्रशासनले जनाएको छ । क्याम्पसमा भारतीय राजदुताबास र नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा डिग्री भवन निर्माण गरिएको भए पनि प्रर्याप्त नभएको क्याम्पस प्रशासनको भनाइ छ ।

१७ बिघा क्षेत्रफलमा फैलिएको क्याम्पसमा उच्च शिक्षा अध्ययनका लागि लुम्विनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबाट विद्यार्थी आउने गरेका छन् । ईट्टाका टुक्रा र सिमेन्ट, बालुवा खस्ने महेन्द्र बहुमुखी क्याम्पसको जीर्ण भवनमा पठनपाठन र परीक्षाका नियमित गतिविधि भइरहँदा जुनसुकै समयमा पनि दुर्घटना जोखिम छ ।

क्याम्पसमा स्नातक र स्नातकोत्तर तहका मानविकी, शिक्षा, विज्ञान, शिक्षा र व्यवस्स्थापन तथा कानुन संकायको पठनपाठन हुने गरेको छ । क्याम्पसमा बाहिरी जिल्लाका विद्यार्थीको सहजताका लागि निर्माण गरिएको छात्रबास भवनसमेत जीर्ण भएको विद्यार्थीहरुले बताएका छन् । क्याम्पसले १ नम्बर छात्रावासमा विद्यार्थीलाई बस्न पूर्णरुपमा बन्देज गरेको छ ।

केही विद्यार्थीहरु भने बाध्यताले उक्त भवनमा बसिरहेका छन् । छत खस्ने जोखिम हुँदाहुँदै पनि अन्य विकल्प नभएका कारण आफूहरु बस्न बाध्य भएको छात्रावासमा बसेका विद्यार्थीहरु बताउँछन् । क्याम्पस प्रमुख आचार्यका अनुसार १ नम्बर छात्रावास अत्यन्त जीर्ण अवस्थामा रहेको भन्दै उक्त छात्रावासमा विद्यार्थीलाई नबस्न सूचना नै जारी गरेकको छ ।

क्याम्पस प्रमुख आचार्य भन्छन्, ‘छात्रावास जीर्ण प्राय रहेकोले कुनै पनि बेला भत्किन सक्ने हुँदा उक्त छात्रावासमा नबस्न विद्यार्थीहरुलाई सूचना जारी गरिएको छ । यदि कुनै विद्यार्थीले यो सूचनालाई बेवास्ता गरी बसेको अवस्थामा कुनै दुर्घटना हुन गएमा क्याम्पस प्रशासन जवाफदेही नहुनेसमेत सोही सूचनाद्वारा जानकारी गराएका छौं ।’

क्षेत्रीय पुस्तकालयको बिजोग

महेन्द्र बहुमुखी क्याम्पसभित्र रहेको क्षेत्रीय पुस्तकालय भवन पनि चुहिन थालेको छ । मापदण्डविपरीत हचुवाका भरमा निर्माण गरिएका कारण जीर्ण भएर पुस्तकालयमा पानी चुहिन थालेपछि क्षेत्रीय पुस्तकालयको बिजोग नै भएको छ । पुस्तकालय भवन निर्माणमा लागेको एक करोड रुपयाँ बालुवामा पानीजस्तै भएको छ ।

तल्लो तला पुरानो र जीर्ण रहेको अवस्थामा कुनै मापदण्डबिना माथिल्लो तला बनाइएकोले पुस्तकालयमा जोखिम बढेको छ । पानी चुहिने कारण पुस्तकालय भवनमा राखिएका पुस्तक भिज्ने गरेको कर्मचारीले बताए । पुस्तकालयको झ्याल निर्माणसमेत सही ढंगले नभएकोले झ्यालबाट पानी भवनभित्र पस्ने गरेको छ ।

छत चुहिन्छ, झ्यालबाट पनि आउँछ, पुस्तक कहाँ राख्ने निकै समस्या छ । भवन उच्च शिक्षा परियोजनाको एक करोडको लागानीका निर्माण भएको हो । क्याम्पस प्रमुख आचार्यसमेत पुस्तकालय भवन निर्माण मापदण्डविपरीत भएकोले पानी चुहिने समस्या मात्रै होइन जोखिमपूर्ण निर्माण गरिएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलवार ०८:३९