ठाउँ-ठाउँमा गएको पहिरोका कारण काठमाण्डौसँग जोडिएको मुख्य राजमार्ग मुग्लिन-नारायणगढ सडक खण्ड ठप्प भएको छ । गएराति ११ बजेदेखि नै यो सडक खण्ड ठप्प भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवम् प्रवक्ता नरहरि अधिकारीका अनुसार भरतपुर महानगरपालिका-२९ को केराबारीमा ठूलो पहिरो गएको छ ।
यस्तै, भरतपुर महानगरपालिकाकै १७ किलोमा पनि पहिरो गएको छ । यस्तै, इच्छाकमना गाउँपालिका वडा नम्बर ६ मा पर्ने ३ नम्बर पुलको बीचमा पनि पहिरो गएको छ ।
यस्तै, नौबिसे मुग्लिन सडक खण्डका केही ठाउँमा पनि पहिरो गएको छ । पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवम् प्रवक्ता नरहरि अधिकारीले बताउनुभयो ।
यो सडक खण्डमा गाडीको लामो लाइन लागेको छ । लामो दूरीमा चल्ने गाडी तथा मालवाहक ट्रकसहित साना गाडीहरुसमेत रोकिएका छन् ।
यो सडक खण्डसँग जोडिएका जिल्लाका नाकानाकामै गाडी रोक्न थालिएको छ । काठमाण्डौदेखि छुट्टै गाडीलाई पनि नागढुङ्गा, थानकोट, कलङ्की लगायत गाडी छुट्ने ठाउँमा पनि गाडी रोकेर राखेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
पहिरो नहटेसम्म यो सडक खण्डको यात्रामा ननिस्कन पनि महाशाखाले आग्रह गरेको छ ।
सत्यपाटी । काठमाडौँ ।