सूचनाको शक्ति - The Power Of Information

        

साफ यू-२० च्याम्पियनसिपमा बंगलादेश विरुद्ध ‘गर या मर’को अवस्थामा नेपाल

भारतमा भइरहेको साफ यू–२० च्याम्पियनसिपअन्तर्गत बंगलादेशविरुद्ध लिगको आफ्नो अन्तिम खेल खेल्नुअघि नेपाल गर या मरको अवस्थामा छ । पाँच राष्ट्र सम्मिलित च्याम्पियनसिपको फाइनलमा शीर्ष दुई टिम पुग्ने छन् ।

आइतरबारको खेलमा घरेलु टोली भारतसँग ८–० को पराकिलो अन्तरले पराजित भएपछि नेपालको शीर्ष २ मा पुग्ने समीकरण कठिन बनेको हो । पाँच टिममध्ये माल्दिभ्स र श्रीलंका फाइनल होडबाट बाहिरिएका छन् ।

बंगलादेश, भारत र नेपालमध्ये दुई टिम फाइनल पुग्नेछ । तर नेपाललाई फाइनल पुग्न धेरै चुनौती छ ।अहिलेसम्म बंगलादेश सबै तीन खेल जित्दै ९ अंक जोडेर शीर्ष स्थानमा छ ।

समान ३ खेल खेलेका नेपाल र भारतले समान दुई जित र एक हारको नतिजा निकालेका छन् । हेड टू हेडमा भारत अगाडि छ ।

आज (मंगलबार)को पहिलो खेल नेपाल र बंगलादेशबीच भएकोले नेपालका लागि यो खेल जित्नैपर्ने चुनौती छ । हारले नेपालको फाइनल पुग्ने सम्भावना समाप्त हुनेछ ।

नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ । नेपालले बंगलादेशलाई हराएमा फाइनल पुग्ने सम्भावना बढ्ने छ ।

तर, फाइनल समीकरणका लागि भारत र माल्दिभ्सबीच सवा ७ बजे हुने खेलको नतिजा पनि कुर्नुपर्नेछ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलवार ०७:४३