सूचनाको शक्ति - The Power Of Information

        

पहिरोका कारण म्याग्दीका मुख्य सडक अवरुद्ध

पहिरोका कारण म्याग्दीका मुख्य सडक अवरुद्ध भएका छन् । जिल्ला सदरमुकाम बेनीदेखि अन्तर जिल्ला र पालिका जोड्ने सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ ।

बेनीदेखि लामो तथा छोटो दूरीमा चल्ने यातायात सेवा प्रभावित भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । ट्राफिक कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीका अनुसार मालढुङ्गा–बेनी, बेनी–जोमसोम र बेनी–दरवाङ सडकको ठाउँठाउँमा पहिरो खसेको छ ।

म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकको विभिन्न ठाउँमा पहिरो खसेर गएरातिदेखि गाडी चलेका छैनन् । मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि निर्माणाधीन अवस्थामा छ ।

बेनीदेखि पोखरा, काठमाण्डौलगायत ठाउँमा जाने आउने गाडीलाई बाग्लुङ–बेनीको वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्लालाई जोड्ने बेनी–जोमसोम सडक जलेश्वर, बेगखोला, नैनीबगर र रुप्सेमा अवरुद्ध छ । जलेश्वरमा पहिरोले सडक कटान, बेगखोला र रुप्सेमा बाढी तथा नैनीबगरमा पहिरो खसेर अवरुद्ध भएकोे हो ।

यसैगरी मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पनि घुमाउने भिर र बाङ्गेपहिरोमा अवरुद्ध भएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार ०८:५६