सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जका मेयर विष्टले मन्त्री राईलाई बुझाए पाँच बुँदे ध्यानाकर्षण पत्र

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईलाई भेटेर नेपालगञ्जको समस्याबारे ध्यानाकर्षण गराएका छन् ।

आइतवार काठमाण्डौस्थित मन्त्री निवासमै पुगेर नगर प्रमुख विष्टले नेपालगञ्जको समग्र विकासबारे राईको ध्यानाकर्षण गराएका हुन् ।

राई पनि नेपालगञ्जबासी नै भएकाले नेपालगञ्जको विकासका लागि सहकार्य गरेर अघि बढ्न विष्टले आग्रह गरेका थिए ।मन्त्री राईलाई नगर प्रमुख विष्टले पाँच बुँदे ध्यानाकर्षणपत्र समेत बुझाए ।

नेपालगञ्जको जमुनाहादेखि मनिकापुरसम्मको असफाल्ट कालोपत्रे गरिनुपर्ने, जमुनाहादेखि राँझा चोकसम्म स्ट्रिीट लाइट र ट्राफिक लाइट जडान गरिनुपर्ने, महत्वपूर्ण चोकहरुमा आकासेपुल निर्माण गरिनुपर्ने, विभिन्न वडामा १५ किलोमिटर सडक तथा नाला निर्माण गरिनु पर्ने तथा अन्य सडक सुधार तथा स्तरोन्नतिका लागि पहल गरिदिनु आग्रह सहितको ध्यानाकर्षणपत्र बुझाइएको विष्टको सचिवालयले जनाएको छ ।

ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री राईले नेपालगञ्जको समग्र विकासका लागि आफु स्थानीय सरकारसँग मिलेर जाने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतवार १८:४५