सूचनाको शक्ति - The Power Of Information

        

ब्लग

सरकार, के नेपालको शिक्षा कमजोर हो ?

अष्ट्रेलिया र अमेरिकामा बस्ने नेपाली नागरिकका आमाबुवाको नाममा नेपालमा रहेको पैतृक सम्पत्तिलाई उनीहरुका आमाबुवाको शेषपछि राष्ट्रियकरण गर्नुपर्छ ।

नेपालबाट वर्षैपिच्छे लाखौं नेपाली विद्यार्थी उच्च शिक्षा हासिल गर्न बाहिरी मुलुक जान्छन् । नेपाली विद्यार्थी नेपालबाट अध्ययन गर्न जाँदा बार्षिक ६५ अर्ब नेपाली मुद्रा बाहिरी मुलुकमा जाने गर्छ । त्यसैगरी नेपालमा रहेका दक्ष तथा सक्षम नागरिक पनि अन्य मुलुकमा बाहिरिरहेका छन् । यसरी नेपालबाट पढ्न भनेर अष्ट्रेलिया वा अमेरिका जाँदा १५ देखि २० लाख नेपाली मुद्रा लैजाने गर्छन् । जुन पैसा जहाज, कन्सल्टेन्सी र त्यहाँ पढ्नका लागि पहिला नै बुझाउनुपर्ने हुन्छ । विद्यार्थीहरु पहिला उच्च शिक्षा हासिल गर्ने भनेर जान्छन्, तर त्यहाँ गएपछि उनीहरु नेपाल फर्किदैनन् ।

उनीहरु त्यहाँ आफ्नो घरपरिवारलाई सँगै लैजान्छन् र नेपालमा भएको आफ्नो पुर्ख्यौली सम्पत्ति पनि सबै बेच्छन् । नेपाली विद्यार्थीहरु पढ्न भनेर जाँदा नेपाली नागरिकको रुपमा जान्छन्, तर फर्किदा विदेशी पाहुनाका रुपमा आउने गर्छन् । नेपालका लाखौं दक्ष जनशक्ति बाहिरी मुलुक यसरी गर्दा यसले देशको अर्थतन्त्रमा क्षति पुग्नेछ । सरकारले यसरी आफ्नो देशको दक्ष जनशक्तिलाई विदेशी मुलुकमा पठाउँदा यसले देशको विकासमा प्रभाव परिरहेको छ । सरकारले अब नेपाली विद्यार्थीलाई बाहिरी मुलुकमा शिक्षाका लागि भनेर पठाउन रोक्नुपर्छ । शिक्षा मन्त्रालय र विभागले अब अष्ट्रेलिया र अमेरिका पढ्न जाने विद्यार्थीलाई रोक्नुपर्छ ।

पहिला पढ्न भनेर गएका विद्यार्थीहरु अस्ट्रेलिया र अमेरिकामा ग्रिन कार्ड पाएर त्यहाँ नै आफ्नो सम्पूर्ण घरपरिवार लगेर बस्ने गर्छन् । उनीहरु आफ्नो आमाबुबाको साथसाथै पुर्ख्यौली सम्पत्ति पनि बेचेर जाने गर्छन् । यसरी नेपाली सम्पत्ति बेचेर ९० अर्बभन्दा बढी नेपाली पैसा विदेशमा वर्षैपिच्छे गइरहेको छ । अमेरिका र अष्ट्रेलियाले नेपालको दक्ष जनशक्ति र नेपाली मुद्रा लगेर नेपालको अर्थतन्त्रलाई धरासायी बनाउने काम गरिरहेको छ । अमेरिका र अष्ट्रेलियाले नेपालमाथि गरेको राजनीति नेपाल सरकारले बुझ्न अत्यन्तै जरुरी छ । होइन भने कुनै पनि बेला नेपालको सारा अर्थतन्त्र नाजुक र डामाडोल हुने अवस्था आउन सक्छ ।

सरकारले उच्च शिक्षा हासिल गर्न भनेर जाने विद्यार्थीलाई रोक लगाउनुपर्छ र खाडी मुलुकमा गएका नेपाली नागरिकलाई प्रोत्साहन दिनुपर्छ । जति पनि खाडी मुलुकमा गएका नेपाली नागरिक छन्, उनीहरु पैसा पनि कमाउँछन् र स्वदेश पनि फर्किन्छन् । तर अमेरिका, अष्ट्रेलिया जाने नागरिकहरु पैसा पनि पठाउँदैनन् र आफ्नो जन्मभूमि पनि फर्किदैनन् । बरु उनीहरु आमाबुबा र पुर्ख्यौली सम्पत्ति बेचेरै जाने गर्छन् । अहिले नेपालमा एउटा चलन चलेको छ । अहिले प्रायः नेपाली विद्यार्थी कक्षा १२ पास गरेपछि उच्च शिक्षा हासिल गर्ने भनेर अमेरिका तथा अष्ट्रेलिया जाने गर्छन् । यसले गर्दा नेपालले आफ्नो दक्ष जनशक्ति गुमाइरहेको छ ।

के अमेरिका र अष्ट्रेलियाको शिक्षाभन्दा नेपालको शिक्षा कमजोर हो ? नेपालमा पनि निजी तथा सरकार कलेजहरु छन् । अमेरिका र अस्ट्रेलियामा २० लाख रुपैयाँ खर्च गरेर जानुभन्दा बरु नेपालमा नै त्यहीँ पैसाले सानो व्यवसाय गर्ने हो भने राज्यले राजस्व पाउँछ, नेपाली मुद्रा बाहिरी मुलुकमा जाँदैन र देशको अर्थतन्त्र पनि मजबुत हुन्छ । एउटा व्यवसाय सञ्चालन गरेपछि नेपालमा रहेका धेरै बेरोजगारहरुले रोजगार पाउँछन् र आफ्नै देश र परिवारसँग पनि बस्न पाइन्छ । यदि सरकारले नेपाली विद्यार्थीलाई अमेरिका र अष्ट्रेलिया जानबाट रोक्ने हो भने यसले गर्दा नागरिक र राज्य दुवैलाई फाइदा हुनेछ ।

अहिले अष्ट्रेलिया तथा अमेरिका गएका नागरिकहरु नेपाल नफर्किदा नेपालमा भएका उनीहरुका आमाबुबालाई कि सरकारले हेर्नुपर्ने अवस्था छ, कि बिचल्ली भइरहेको छ । विदेशमा छोराछोरी भएका आमाबुबा बुढेसकालमा छोराछोरीसँगै नहुँदा बेकारमा अमेरिका र अष्ट्रेलिया पठाएको भनेर गुनासो गर्छन् । अहिले जति पनि अमेरिका, अष्ट्रेलिया गएका नेपाल नागरिक छन्, उनीहरुको देश विकासमा केहि पनि योगदान रहेको छैन । नेपालबाट खाडी मुलुकहरुमा काम गर्न गएका नागरिकको मात्र देश विकासमा योगदान गरिरहेको पाइन्छ । उच्च शिक्षा हासिल गर्ने भन्दै पहिला अमेरिका र अष्ट्रेलिया जाने अनि त्यहाँ पुगेपछि मातृभूमिलाई बिर्सिने गर्छन् । यिनीहरुलाई आफ्नो जन्मभूमि र आमाबुबाको केही चासो छैन ।

नेपालमा अहिले रेमिट्यान्स पठाउनेमा सबै खाडी मुलुकमा काम गर्न गएका नेपाली नागरिक छन् । सरकारले नागरिकमाथि शिक्षामै भेदभाव गरिरहेको छ । धनीले छोराछोरीलाई महंगो तथा निजी विद्यालयमा पढाउँछन्, जसले गर्दा राम्रो पढाई हुने बित्तिकै उनीहरु अष्ट्रेलिया र अमेरिका जाने गर्दछन् । नेपाली विद्यार्थीका लागि अमेरिका र अष्ट्रेलिया एउटा कारखाना बनेको छ । निजी विद्यालयमा पढेका विद्यार्थीको पढाई राम्रो हुन्छ, अमेरिका र अष्ट्रेलिया जस्ता देशले पनि त्यस्ता विद्यार्थीलाई भिसा दिई हाल्छन् । आर्थिक अवस्था कमजोर भएका अभिभावक आफ्ना बालबच्चालाई सरकारी विद्यालयमा पढाउँछन्, ती विद्यार्थीको पढाई कमजोर हुन्छ ।

यदि पढाई राम्रो भए पनि फिस तिर्न नसकेर पढाई छोड्न लगाउँछन् । सरकारी विद्यालयमा पढेका विद्यार्थी कि निजी कार्यालयमा काम गर्छन् कि सेना तथा प्रहरीमा भर्ती हुन्छन् । कैयौं नागरिक १६ वर्ष पुग्ने बित्तिकै नागरिकता बनाएर कामका लागि खाडी मुलुक जाने गर्छन् । तर निजी विद्यालयमा पढेका विद्यार्थी अष्ट्रेलिया, अमेरिका जाने गर्छन् । सरकारी विद्यालयमा पढेर नेपालमा नै काम गर्नेले राज्यलाई कर तिर्छ, आफ्नो परिवार बिरामी भएको समयमा हेरचाह गर्छ । तर अष्ट्रेलिया र अमेरिका गएका नागरिकले न राज्यलाई नै कर तिर्छ, न आफ्ना आमाबुबा नै हेर्छ, बरु नेपालमा भएको पुर्ख्यौली सम्पत्ति पनि बेचेर लैजान्छ ।

त्यसैगरी सरकारी विद्यालयमा पढाउने शिक्षक शिक्षिका राजनीतिक दलको झोला बोक्ने, विद्यालयलाई राम्रो शिक्षा नदिने, नागरिकले तिरेको करबाट तलबभत्ता खाने र विद्यालयमा विद्यार्थीको लागि आएको बजेट पनि भ्रष्टाचारमा डुबेका हुन्छन् भने निजी विद्यालयमा पढाउने शिक्षक शिक्षिकालाई कम तलब दिने, विद्यार्थीको अभिभावकसँग पैसा भने धेरै लिने गर्छन् । निजी विद्यालय तथा कलेजमा पढेका विद्यार्थी नेपालमै बस्न नरुचाउने र सेवासुविधाको खोजीमा विकासित मुलुकतिर जान्छन् । नेपालमा पछिल्लो समय अष्ट्रेलिया, अमेरिका गएका छोराछोरीका अभिभावक, आफन्तजन तथा छिमेकीसामु निकै शान देखाउने गर्छन् । उनीहरु आफ्नो छोराछोरी अष्ट्रेलिया, अमेरिका गएर नेपालको लागि धेरै योगदान गरेझैं गर्छन् ।

आज ती अभिभावकहरुले आफ्नो छोराछोरीलाई बाहिरी मुलुकमा पढ्नका लागि नपठाएको भए नेपालको अर्थतन्त्र यति नाजुक हुने थिएन होला । पछिल्लो समय अमेरिका, अष्ट्रेलियामा आफ्नो छोराछोरी भएका आमाबुबा नेपालमा छिमेकी तथा आफन्तसँग मेरो छोराछोरीले अमेरिका, अष्ट्रेलियामा ‘घर किन्यो, गाडी किन्यो’ भनेर फुइँ लगाउँदै हिँड्छन् । अमेरिका र अष्ट्रेलियाको सरकारले नेपालीहरुले त्यहाँ कमाएको पैसा नेपाल ल्याउन नदिई त्यहीँ खर्च गर्न लगाउने, नेपाली मुद्र्रा लैजान्छ । खाडी मुलुकमा गएका नागरिकले नेपालमै पैसा पठाउँछन्, जसले गर्दा नेपालमा खाडी मुलुकमा गएका नागरिकको योगदान रहेको देखिन्छ । अहिले राज्यलाई खाडी मुलुकमा गएका नागरिकले रेमिट्यान्स पठाएर योगदान गरिरहेका छन् ।

यता कन्सल्टेन्सीहरुले मोटो रकम कमिशन खाएर अमेरिका, अष्ट्रेलिया पठाउने गर्छन् भने उता खाडी मुलुक पठाउने म्यानपावरले पनि नागरिकलाई ठगिरहेका छन् । अब सरकारले उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई नेपालमै रोक्नुपर्छ । यसमा सरकारको ध्यान छिटोभन्दा छिटो जान जरुरी छ । सरकारले अब पनि यसरी नेपालको दक्ष जनशक्तिलाई अष्ट्रेलिया, अमेरिका पठाउने हो भने नेपालमा एउटा पनि दक्ष जनशक्ति रहने छैनन् । अब सरकारले पनि कानुन बनाएरै दक्ष जनशक्तिलाई नेपालमै रोक्नुपर्छ । हालसम्म जति पनि नेपाली विद्यार्थी तथा नागरिक अमेरिका र अष्ट्रेलिया गएका छन्, ती सबैले राज्य र घरपरिवार गुमाइरहेका छन् । नेपालको पढाई राम्रो छैन भन्दै बर्षैपिच्छे लाखौं विद्यार्थी बाहिरी मुलुकमा उच्च शिक्षा हासिल गर्न जाँदा नेपालको शिक्षामाथि नै प्रश्न उठिरहेको छ ।

नेपालमा नागरिक पढ्दै रोजगारी गर्न वा सानो रोजगारी गर्न लाज मान्छन्, तर अस्ट्रेलिया र अमेरिकामा गएर भाडा धुन र घर सफा गर्न उनीहरुलाई लाज लाग्ने गर्दैन । यसरी उनीहरु एकपटक अमेरिका र अष्ट्रेलिया गएपछि नेपाललाई बिर्सिने गर्छन् । सरकारले अब अमेरिका र अस्ट्रेलियामा हुने छोराछोरीले नेपालमा आफ्ना अभिभावकको नाममा रहेको सम्पत्ति लिन नपाइने कानुन बनाउनुपर्छ । आमाबुबाको सम्पत्ति चाहिन्छ भने नेपालमै बस्नुपर्छ कानुन सरकारले बनाउनुपर्छ । अष्ट्रेलिया र अमेरिकामा बस्ने नेपाली नागरिकका आमाबुवाको नाममा नेपालमा रहेको पैतृक सम्पत्तिलाई उनीहरुका आमाबुवाको शेषपछि राष्ट्रियकरण गर्नुपर्छ । कानुन बन्न नसकेको अवस्थामा उच्च शिक्षा अध्ययनका नाममा नेपाली विद्यार्थी विदेश पलायन हुने क्रम रोकिएन भने केही बर्षमै नेपाल टाट पल्टिनेछ । यसतर्फ नेपाल सरकार र राजनीतिक दलहरुको छिटोभन्दा छिटो ध्यान जान जरुरी छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतवार १६:३१