रुकुमपूर्व जिल्लामा बहुला कुकुरको बिगबिगी बढेको छ । बहुला कुकुरको टोकाइबाट यही साउन महिनामा मात्र जिल्लामा ११ जना घाइते भएका छन् भने केही पशुचौपाया समेत घाइते भएका छन् ।
भूमे र सिस्ने गाउँपालिकाको मध्यपहाडी राजमार्ग अन्तर्गत क्षेत्रमा बहुला कुकुरको बिगबिगी भएको छ । बहुला कुकुरको टोकाइबाट जिल्लाको भूमे र सिस्ने गाउँपालिकाका नागरिक पीडित बनेका छन् ।
बहुला कुकुरले मान्छेसँगै पशुचौपायालाई पनि टोक्न थालेपछि नागरिक त्रसित बनेका छन् । विभिन्न गन्तव्यमा हिँडेका पैदल यात्रीलाई बहुला कुकुरले टोक्न थालेपछि सर्वसाधारण नागरिक त्रसित हुन थालेको भूमे गाउँपालिका–३ क्याङ्सीका सम्भावना रोका मगरले बताइन् ।
‘मान्छेलाई टोक्ला भन्ने डर त छँदै छ,’ रोकाले भनिन्, ‘अर्कातर्फ घर पालुवा पशुचौपाया र जङ्गली जनावरलाई समेत बहुला कुकुरले टोक्यो भने गाउँबस्ती मात्र नभई वन जंगलमा जान समेत डरपैदा भएको छ ।’
जिल्लास्थित पशु कार्यालयले रेबिजविरुद्धको भ्याक्सिन कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन नगर्नु र कुकुर पालेका घर धनीले पनि आफ्ना कुकुरलाई रेबिजविरुद्धको भ्याक्सिन नलगाइदिनाले बहुला कुकुरको बिगबिगी बढेको रोकाले बताइन् ।
साउन महिनामा मात्र भूमे गाउँपालिकामा चारजनालाई बहुला कुकुरले टोकेको गाउँपालिका स्वास्थ्य शाखाका सहसंयोजक सञ्जीव खड्काले जानकारी दिए । उनीहरूलाई हाल एन्टी रेबिज भ्याक्सिन दिइराखिएको खड्काले बताए ।
यसैगरी साउन महिनामै जिल्ला अस्पताल रुकुमपूर्वमा सात जनालाई बहुला कुकुरले टोकेलाई एन्टी रेबिज भ्याक्सिन दिई राखिएको पनि जिल्ला अस्पताल रुकुमपूर्वकी प्रमुख सपना बिकले जानकारी दिइन् । बहुला जनावरले टोकेपछि एन्टी रेबिज भ्याक्सिन शुरुको दिन त्यसपछि तीन र सात दिनमा गरी तीन मात्रा भ्याक्सिन लगाउनुपर्ने प्रमुख विकले बताइन् ।
विगतका तीन आर्थिक वर्षमा बहुला कुकुरको टोकाइबाट विरामी भएको सङ्ख्या पनि जिल्लामा धेरै रहेको स्वास्थ्य कार्यालय रुकुम पूर्वका सूचना अधिकारी निमप्रसाद गिरीले बताए । आर्थिक वर्ष २०७६–०७७ मा ४७, २०७७ –०७८ मा ३९ र २०७८–०७९ मा ७९ जना रहेको सूचना अधिकारी गिरीले जानकारी दिए ।
संघीय सरकार हुँदै प्रदेश सरकारदेखि रुकुम पूर्व अस्पतालमा एन्टि रेबिज भ्याक्सिन उपलब्ध हुने गरेको गिरीले बताए । हाल एन्टी रेबिज भ्याक्सिन अस्पतालमा थोरै मात्रामा रहेकाले अबको तीन–चार दिनमै थप एन्टी रेबिज भ्याक्सिन अस्पतालमा आइपुग्ने गिरीले जानकारी दिए ।
सत्यपाटी । रुकुमपूर्व ।