सूचनाको शक्ति - The Power Of Information

        

बायर्नलाई जर्मन सुपर कपको उपाधि

बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ ।

शनिबार राति भएको फाइनलमा आरबी लाइपजिगलाई ५–३ ले हराउँदै बायर्नले उपाधि जितेको हो ।

बायर्नलाई च्याम्पियन बनाउन जमल मुसियाला, साडियो माने, बेन्जामिन पाभार्ड, सेर्जी जिनाब्री र लोरी सानेले एक एक गोल गरे । लाइपजिगका मार्सेल हाल्सटेनवर्ग, क्रिस्टोफर एनकुकू र ड्यानियल ओल्मोले गोल फर्काए ।

खेलको १४ औं मिनेटमा जमलले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाए । ३१ औं मिनेटमा मानेले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । ४५ औं मिनेटमा बेन्जामिनले गोल गर्दै टिमलाई ३–० ले अघि बढाए ।

५९ औं मिनेटमा मार्सेलले गोल गर्दै लाइपजिगलाई ३–१ को स्थितिमा ल्याए । ६५ औं मिनेटमा सेर्जीले गोल गर्दै बायर्नलाई ४–१ को अग्रता दिलाए ।

७७ औं मिनेटमा लाइपजिगका क्रिस्टोफरले गोल गर्दै खेललाई ४–२ को स्थितिमा ल्याए ।यसैगरी, ८९ औं मिनेटमा ओल्मोले गोल गर्दै लाइपजिगलाई ४–३ को स्थितिमा ल्याए ।

तर, खेलको इन्जुरी समयमा सानेले गोल गर्दै बायर्नलाई ५-३ को जित दिलाए ।

नयाँ सिजनमा बायर्नको यो पहिलो उपाधि हो ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतवार ०८:३४