सूचनाको शक्ति - The Power Of Information

        

मौसम

चार वटा प्रदेशमा भारी वर्षाको सम्भावना

भारी वर्षाको सम्भावना रहेकाले भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ ।

फाइल तस्वीर

आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश–१ का केही स्थानमा तथा वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेकाले उक्त भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । साथै नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतवार ०७:०५