सूचनाको शक्ति - The Power Of Information

        

हिमा नदीका असला माछाको संरक्षण गरिँदै

जुम्लाको सिञ्जा गाउँपालिकाले हिमा नदीका असला माछाका भुरा संरक्षण गर्ने भएको छ । गाउँपालिकाले नीति तथा कार्यक्रमबाटै असला जातका माछाका भुरा संरक्षण गर्ने कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष पुर्णप्रसाद धितालले जानकारी दिए ।

अति लोकप्रिय अवस्थामा रहेको असला माछाका भुरा संरक्षणमा पालिका लागिपरेको छ । अध्यक्ष धितालले भने, ‘नदी संरक्षणका लागि नदीमा विषादी प्रयोग गर्न नदिने, विद्युतीय सामग्री, गोलाबारुद र मछर झुल प्रयोग गरेर माछा मार्न नपाइने नभएको छ ।’

हिमा नदीमा पाइने असला जातका माछाका भुरा बचाउने उद्देश्यले गाउँपालिकाले नीति तथा कार्यक्रमबाटै पारित गरेको जनाइएको छ । गाउँपालिका पशुपंक्षी विकास शाखाका संयोजक मित्रलाल धितालले हिमा नदीमा पाइने असला जातका माछा हराउने अवस्थामा पुगेको छ ।

नदीमा माछा मार्नका लागि पासो हाल्ने, करेन्ट लगाउने, जाल हान्ने लगायतका कार्यले असला जातका माछा लोप हुने अवस्थामा पुगेको संयोजक धितालले बताए । अहिले विभिन्न खालका औजार प्रयोग गरेर माछा मार्ने प्रविधि बढेको छ ।

माछा संरक्षणका लागि अहिलेदेखि नै गाउँपालिकाले बजेट निर्माणमै यो कार्यक्रम पारित गरेको गाउँपालिका पशुपक्षी विकास शाखाका संयोजक धितालले बताए । गाउँपालिकाको पशुपक्षी शाखाका अनुसार यदि कसैैले नदीमा गएर माछाका भुरा मार्ने कार्यमा संलग्न भए नजिकै प्रहरी चौकीलाई जानकारी गराउन गाउँपालिकाले सबैलाई अनुरोधसमेत गरेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार १५:१३