नेपालगन्ज उपमहानगरपालिका–१४, भवानीयापुरमा बनेको होल्डिङ सेन्टर ठेकेदार कम्पनीले नेपाली सेनालाई हस्तान्तरण गरेको छ ।
ठेकेदार कम्पनी हनुमान कन्ट्रक्सनले श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी उत्तम विष्टलाई होल्डिङ सेन्टरको स्वामित्व हस्तान्तरण गरेको हो ।
२०७८ साउनमा सम्झौता भएर निर्माण थालिएको होल्डिङ सेन्टर पटक–पटक म्याद थप्दै सम्पन्न गरिएको थियो । होल्डिङ सेन्टर एक हजार बेडको रहेको छ ।
होल्डिङ सेन्टरको निर्माण नेपाली सेनामार्फत नै ठेकेदारलाई दिइएको थियो । ठेकेदारले काम सम्पन्न गरेर नेपाली सेनालाई हस्तान्तरण गरेको छ । सेनाले उक्त संरचना नेपाल सरकारलाई बुझाउने तयारी गरेको छ ।
श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी उत्तम विष्टले संरचना तयार भइसकेकाले अब स्थानीय निकाय वा प्रमुख जिल्ला अधिकारी कसलाई हस्तान्तरण गर्ने हो, माथिबाट त्यसको आदेश आएपछि नेपाली सेनाले हस्तान्तरण गर्ने बताए ।
सीमावर्ती जिल्ला भएको र सुरुवाती दुई चरणको कोरोना कालमा बाँके ‘हटस्पट’ बनेर विरामी राख्ने ठाउँ नभएपछि होल्डिङ सेन्टरको निर्माण गरिएको हो । यद्यपि, अहिले कोरोना संक्रमण व्यापक नभएकाले त्यो संरचना के का लागि प्रयोग हुन्छन्, त्यसको टुंगो लागिसकेको छैन ।
सत्यपाटी । बाँके ।