सूचनाको शक्ति - The Power Of Information

        

फोन गर्न दुई घण्टा पैदल यात्रा

जुम्लाको गुठीचौर गाउँपालिकाको केही बस्तीका नागरिकले अहिलेसम्म सहजै रुपमा फोन गर्न नपाएको गुनासो गरेका छन् । अहिले पनि एक कल फोन गर्न दुई घण्टाको पैदल हिँड्नुपर्ने बाध्यता छ । गुठीचौर गाउँपालिका वडा नम्बर एकभित्र पर्ने दुई बस्तीमा टावरले काम गर्दैन ।

नालापानी र चोत्रा गाउँमा टावरले कामै नगर्दा फोन गर्न गाउँबासी घण्टौँ हिँडेर टावर भएको ठाउँमा वा अग्लो डाँडामा पुग्ने गरेको स्थानीय चन्द्रिका बस्नेतले बताइन् । उनले भनिन्, ‘गडिगाँउ, डिल्लीकोट र मणिसाघुँमा राम्रोसँग काम गर्छ, तर नालापानी र चोत्रा गाउँमा टावर नै देखाउँदैन ।’

फोनमा आफन्तसँग कुरा गर्नुपरे दुई घण्टाको समय छुट्याएर घरबाट हिँड्नुपर्ने बाध्यता रहेको स्थानीयहरु बताउँछन् । टावरको क्षमता अभिवृद्धि गर्न सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराए पनि काम हुन नसकेको स्थानीयले बताए ।

गुठीचौर गाउँपालिका वडा नं. १ का वडाध्यक्ष अर्जुनकुमार महताराले स्थानीयलाई सञ्चारको पहुँचमा पुर्याउन पहलकदमी भइरहेको बताए । वडाबाट टावरको क्षमता अभिवृद्धि गरिदिन भन्दै नेपाल टेलिकम शाखा जुम्लालाई सिफारिस पत्र पठाइ सकेको बताए । नेपाल टेलिकम शाखा जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठले स्थानीयको माग पूरा गर्न लागि पर्ने बताए ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार ०८:५१