नेपालमा बाघको संख्या वृद्धि हुँदै ३५५ पुगेको छ । यससँगै सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा बाघ पाइने १३ मुलुकबीचको सम्मेलनमा नेपालले २०२२ सम्म दोब्बर पार्न राखेको लक्ष्य पूरा भएको छ ।
त्यतिबेला नेपालमा १२१ बाघ थिए । सन् २०१८ को पछिल्लो गणनामा २३५ बाघ रहेका थिए । सन् २०१३ मा १९८ थिए । बाघ पाइने नेपालका पाँच राष्ट्रिय निकुञ्जमा सन् २०१० देखि तुलना गर्दा पर्सा राष्ट्रिय निकुञ्जमा सबैभन्दा द्रुतगतिमा बाघको संख्या बढेको पाइएको छ ।
यहाँ सन् २०१० मा चार बाघ रहेकोमा सन् २०१३ मा सातपगेको थियो। सन् २०१८ मा बढेर १८ भएको थियो । सन् २०२२ को गणनामा त यहाँ दोब्बर वृद्धि हुँदै ४१ पुगेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि अघिल्लो गणनाको तुलनामा दोब्बर नै बढेको छ ।
अघिल्लो पटक १६ बाघ रहेको यहाँ अहिले ३६ पुगेको छ । २०१० मा १० बाघ पाइएको तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्षमा सन् २०१३ मा १७ बाघ पाइएको थियो । पछि २०१८ मा घटेर १६ पुगेको थियो । बाँकेमा अघिल्लो गणनाको तुलनामा थोरै मात्र अर्थात् चार बाघ वृद्धि भएको छ ।
बाँके निकुञ्जमा बाघको संख्या १६ बाट बढेर २५ पुगेको छ । चितवन राष्ट्रिय निकुञ्जमा अघिल्लो २०१८ को गणनामा ९३ मा झरेको थियो । अहिले भने १२८ पुगेको छ । २०१८ को गणनामा ८७ बाघ रहेको बर्दियामा हालको गणनामा १२५ पुगेको छ ।
संख्या सार्वजनिक शुक्रबार गरिएको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले बाघको दिगो संरक्षण गर्न संरक्षित क्षेत्र बाहिरका जैविक मार्गको एकीकृत संरक्षण तथा व्यवस्थापन गर्न आवश्यक रहेको बताए । उनले बाघको आहारा प्रजातिको उपलब्धता वृद्धि गर्नुपर्नेमा जोड दिए ।
उनले प्रधानमन्त्री बाघ संरक्षण तथा जिविकोपार्जन कार्यक्रम सञ्चालन गर्न आन्तरिक तथा बाह्य स्रोत परिचालन गरी वार्षिक एक अर्ब रुपैयाँ विनियोजन गर्ने घोषणा गरे । नेपालमा विभागका अधिकारी, बाघ संरक्षणमा लागिपरेका संस्था डब्लुडब्लुएफ, जेडएसएल, एनटीएनसी लगायतका संस्थाका विज्ञसहितको ६०० जनाले बाघ गणना गरेका हुन् ।
बाघको संख्या
राष्ट्रिय निकुञ्ज सन् २००९ सन् २०१३ सन् २०१८ सन् २०२२
चितवन ९१ १२० ९३ १२८
बर्दिया ३७ ५० ८७ १२५
शुक्लाफाँटा १० १७ १६ ३६
पर्सा ४ ७ १८ ४१
बाँके ० ४ २१ २५
जम्मा १२१ १९८ २३५ ३५५
१३ देशमा बाघ
विश्वका १३ देशमा मात्र बाघ पाइने विज्ञको अनुसनधानले देखाएको छ । एसियामा नेपाल, भारत, भुटान, बंगलादेश, थाइल्याण्ड, इण्डोनेसिया, मलेसिया, कम्बोडिया, चीन, लाओस्, म्यानमार, भियतनाम र रसियामा बाघ पाइन्छ । विश्वमा सबैभन्दा धेरै भारतमा बाघ पाइन्छ ।
उत्तर कोरियामा बाघ पाइए पनि त्यहाँ गणना भएको छैन । १०० अघि एक लाखको हाराहारीमा रहेको बाघ मानवीय क्रियाकलापका कारण घटेर तीन हजार ५०० को हाराहारीमा पुगेको विज्ञको भनाइ छ । बाघका ९ प्रजातिमध्ये बाली, क्यासपियन र जाभान लोप भइसकेका छन् ।
बाघको स्वभाव
बाघ एक्लै बस्न रुचाउने जनावर हो । विचरणका लागि भाले बाघले ५२ देखि ६२ वर्गकिमी जति र पोथीले २६ देखि ३० वर्गकिमी क्षेत्र ओगट्छन् । आफ्नो क्षेत्रको सीमाकंन यिनीहरूले रुखका बोक्रा वा नंग्राले कोतरेर वा जमिनमा पिसाब फेरेर र गर्जेर गरेका हुन्छन् ।
प्रजननको समयमा बाहेक बाघ दुईवटा सँगै हिँडेको विरलै देख्न पाइन्छ । बाघको सरदर आयु १४ देखि १६ वर्ष हुन्छ । भाले ३.५ देखि ६ र पोथी चार वर्षमा वयस्क हुन्छ । गर्भधारण गरेको १०३ देखि १०७ दिनमा पोथीले एक बेतमा २ देखि ४ वटा डमरु जन्माउँछन् ।
डमरु एकदेखि डेढ वर्षसम्म आमासँग बस्नछन् । यसैबेला आमासँग उनीहरूले शिकार समात्न सिक्छन् । रूपमा मृग प्रजातिका चित्तल, जरायो, रतुवा, बाह्र सिंगे, बदेल, दुम्सी आदि बाघका आहार हुन् ।
सत्यपाटी । काठमाडौं ।