सूचनाको शक्ति - The Power Of Information

        

विचार

धर्मको बर्काेमा पर्यटनको खेला

पर्यटकीय आकर्षणका लागि के कस्ता उपाय अवलम्बन गर्न सकिन्छ भन्ने सोच आफैंमा प्रशंसनीय छ तर धार्मिकीकरणबाहेक अन्य उपाय नदेख्नुलाई भने दृष्टिदोष नै मान्नुपर्दछ ।

काठमाडौं उपत्यकाको दक्षिण–पश्चिम चोभारतिरको एउटा डाँडालाई पर्यटकीय स्थलको रूपमा विकास गर्ने योजनाअनुसार केही वर्षअघि काम अगाडि बढाउने क्रममा बुद्धको मूर्ति स्थापना गर्ने भनी चन्दा संकलन गर्न थालियो । कुनै पनि धार्मिक आस्थासँग खासै सरोकार नभएको उक्त समूहले बुद्ध मूर्ति राख्ने सोच बनाउनुको अन्तर्य बुद्धको मूर्ति राख्ने भन्यो भने निर्माण कार्यमा चन्दा उठाउन सजिलो हुन्छ भन्ने मनसायमात्रै थियो । चन्दा उठायो पनि तर पछि बुद्धको मूर्ति नभएर महादेवको मूर्ति राख्ने सोच बन्यो ।

बुद्ध वा महादेवको मूर्ति के राख्ने भन्ने सवालमा तिनीहरू दुबै धर्म–दर्शनसँग खासै लगाब राख्नेहरू भने थिएनन् । बुद्ध वा महादेवमध्ये जसको मूर्ति राखे पनि केही फरक नपर्ने सोच राख्ने अर्को समूह पनि बन्यो । कुनै धर्म सम्प्रदायसँग सरोकार नै नभएर पनि धार्मिक कचिङ्गलका कारण निर्माणको काम अगाडि बढेन । यो एउटा उदाहरण मात्र हो, धर्मका नाम पैसा कमाउने र धर्मकै आडमा पर्यटन क्षेत्रको प्रवर्ध्दन गर्ने । नेपालमा यो प्रवृत्ति व्यापक हुँदै गएको छ । पर्यटन र तीर्थाटन शब्द दुई भिन्नाभिन्नै अर्थ दिने मानवीय गतिविधि हुन् ।

नौलो ठाउँ, घुमघामजस्ता कतिपय कुरामा समानता भएकाले एउटै अर्थमा लिने गरेको पनि पाइन्छ । यहाँ बुझ्नुपर्ने कुरा के हो भने तीर्थाटन नितान्त धार्मिक गतिविधि हो भने पर्यटनमा धार्मिक गतिविधि हुनैपर्छ भन्ने अनिवार्य हुँदैन । नेपालमा पर्यटकीय स्थलहरू धार्मिक स्थलको रूपमा रूपान्तरित गर्ने प्रवृत्ति बढ्दो छ । हेर्दा यो प्रवृत्ति साधारण देखिए पनि यसले दीर्घकालीन असर पार्ने हुन्छ । यो गम्भीर र विचारणीय पक्ष पनि हो । पर्यटन उद्योग पनि अर्थतन्त्रको एउटा बलियो खम्बा हो भन्ने कुरा स्थापित तथ्य हो । यसअनुसार पर्यटकीय स्थलहरूको विकासलाई प्राथमिकतामा राख्ने र बजेट छुट्याउने गरिएको छ ।

पर्यटकीय आकर्षणका लागि के कस्ता उपाय अवलम्बन गर्न सकिन्छ भन्ने सोच आफैंमा प्रशंसनीय छ तर धार्मिकीकरणबाहेक अन्य उपाय नदेख्नुलाई भने दृष्टिदोष नै मान्नुपर्दछ । काठमाडौं उपत्यका तथा उपत्यकाबाहिरका डाँडाकाँडा तथा खुल्ला क्षेत्रहरू पर्यटकीय स्थलका रूपमा अगाडि बढ्दै छन् । साथसाथै धर्मको नाममा दोहन पनि भइरहेको पाइन्छ । हिन्दू र बौद्ध धर्मसँग सम्बन्धित मूर्ति, स्तूप, मन्दिर तथा विहार वा गुम्बाको निर्माणमा होडबाजी नै चलिरहेको प्रतीत हुन्छ । यसको प्रयोजनसम्बन्धी प्रश्नमा जनसाधारणमा नैतिक मूल्य र जीवनको आदर्श स्थापित गर्ने तथा पर्यटन उद्योगको विकास गर्ने भनिन्छ ।

धार्मिक गतिविधिका लागि पर्यटन उद्योगको उल्लेख राम्रो बहाना हुन थालेको छ तर बिडम्बनाको कुरा के हो भने कतिपय हिन्दू मठमन्दिर तथा धार्मिक स्थलमा हिन्दूबाहेक अन्य धर्मावलम्बीलाई प्रवेश निषेध गर्ने चलन हट्न सकेको छैन । बौद्ध क्षेत्रमा अन्य धर्म र जातिको आधारमा भेदभाव नगरिने भए पनि सुरक्षालगायतको बहानामा सर्वसाधारणलाई सुलभ प्रवेश दिइन्न । यस अवस्थामा यी स्थलहरूलाई पर्यटन उद्योगसँग सम्बन्धित गरेर हेर्न सकिन्न । धर्मलाई पर्यटकीय आकर्षणको माध्यम बनाउने वा भजाउने व्यवस्थापकीय समूहहरू आफैं धार्मिक कुरामा सम्वेदनशील हुन सकेको पाइँदैन ।

धार्मिक क्षेत्र बनाउँदा मात्रै पर्यटन क्षेत्रको रूपमा विकास हुन्छ भन्ने सोचाइ राख्नु वास्तवमा पर्यटन उद्योगसम्बन्धी गलत बुझाइ हो । सबै मानिस धार्मिक स्वभावका हुँदैनन् । धार्मिक स्वभावको व्यक्ति नै भए पनि व्यक्ति विशेषका आ–आफ्नै आस्था र विश्वास रहेको हुन्छ । यस अवस्थामा एउटा धार्मिक क्षेत्र सबैका लागि उपयुक्त हुँदैन भन्ने कुरा बुझ्नु आवश्यक छ । कुनै निश्चित विचार वा आस्थासँग सम्बन्ध नराख्ने स्थल सबैका लागि साझा थलो हुनसक्छ । पर्यटनको अवधारणा नै आफ्नो नियमित जीवनबाट केही समय निकालेर बेग्लै परिवेशमा भ्रमण गर्नु हो । कतिपय पर्यटक भ्रमण अवधिमा व्यावसायिक वा वैचारिक कुरा गर्न मन पराउँदैनन् ।

यसअनुसार नेपालले पर्यटन उद्योगको विकासका लागि धार्मिकीकरण गर्न लिएको नीतिमा पुनरावलोकन गर्नु जरूरी छ । कुनै पनि ठाउँलाई एक निश्चित धर्मसम्बद्ध धार्मिक क्षेत्रको रूप दिएपछि त्यसलाई अर्को धर्मसम्बद्ध बनाउन वा पुनः गैरधार्मिक क्षेत्रका रूपमा फर्काउन प्रायः असम्भव हुन्छ । धर्मभीरूहरू जनमानसमा त्यस क्षेत्रको महत्व स्थापना गर्नका लागि अनेक कथा वा आस्थाहरू जोड्छन् वा धर्मशास्त्रहरूमा उल्लेखित अनेकौं सन्दर्भसँग सम्बन्धित बनाइदिन्छन् । ऐतिहासिक तथा पुरातात्विक महत्वको थलो नै भए पनि बढी धार्मिक गतिविधिका कारण यथार्थभन्दा आस्था, विश्वास र श्रद्धाको थलोमा सीमित हुन पुग्छन् ।

एउटा नितान्त प्राकृतिक गुफा भर्खरै मात्र पत्ता लगाइएको भए पनि त्यसलाई हिन्दूहरू महादेव वा महाभारतको पञ्चपाण्डवको गुप्तवाससँग जोडिहाल्छन् । गुफाभित्रको विभिन्न आकृतिलाई पनि धार्मिक पात्रहरूको रूपमा सजिलै प्रत्यारोपण गरिदिन्छन् । यही स्वभाव बौद्ध जनमानसमा पनि पाइन्छ र प्रायः गरी गुफाहरू आचार्य पद्मसंभव वा सिद्ध मिलारेपा ध्यान गरेको ठाउँ भनी प्रचार गरिहाल्छन् । यसप्रकार पर्यटकीय स्थलहरू धार्मिक आस्था र विश्वासको आधारमा संकुचित हुनपुग्छन् । धार्मिकीकरण हुने प्रायः ठाउँ सार्वजनिक स्थल हुन् । यी जग्गाहरू विभिन्न माध्यमबाट प्राप्त गरिएका हुन्छन् ।

परम्परादेखि धार्मिक स्थलको रूपमा रहँदै आएको ठाउँलाई विस्तार गर्न वरिपरिको जग्गा राज्यले नै दिएको पनि हुनसक्छ । वा, धार्मिकस्थलको रूपमा सुरू गर्न राज्यले उपलब्ध गराएको पनि हुन्छ । यस अवस्थामा त्यहाँ निर्माण संरचनाका लागि निश्चित आर्थिक अनुदान पाएको पनि हुनसक्छ । त्यसपछि त्यहाँ समूह विशेषको वर्चश्व कायम हुन पुग्छ । व्यक्ति विशेषले दानमा दिएको वा किनेको जग्गामा मन्दिर, स्तूप, विहार वा यस्तै केही धार्मिक स्मारक बनेको पनि नपाइने होइन । भलै दानमा प्राप्त पैसाले किनेको जग्गामा भव्य गुम्बा बनाएको र निजी सम्पत्तीका रूपमा रहेकै किन नहोस्, स्वभावतः त्यो सार्वजनिक महत्वको हुन्छ ।

बौद्ध धर्मको मूल्य मान्यताअनुसार पनि गुम्बा वा विहार प्रवेशमा कसैमाथि कुनै पनि बहानामा भेदभाव गर्न मिल्दैन । सुरक्षाको कारण देखाइ गुम्बाहरूमा आफ्नाबाहेक अरूलाई प्रवेश निषेध गर्नु तर्कसङ्गत कुरा होइन । चोरी र डकैतीको भय तिनीहरूलाई हुन्छ जसले धनसम्पत्ति सञ्चय गरेको हुन्छ । बौद्ध भिक्षु तथा भिक्षुणीले अपरिग्रहको स्वभाव विकास गर्नुपर्ने कुरामा बुद्धले जोड दिएका छन् । आवश्यकताभन्दा बढी कुनै पनि कुरा नजोड्नु नै अपरिग्रह हो । सरसामानको सञ्चयले तृष्णा बढाउने हुँदा तृष्णा क्षय नै बौद्ध धर्मको मुख्य ध्येय मानिन्छ । यसअनुसार बौद्ध गुम्बा तथा विहारहरू धनसम्पत्तिको सञ्चय स्थल नभएर तृष्णा क्षयको उपयुक्त स्थल हुन् ।

तृष्णा क्षयका लागि मानिसहरू ठूलाठूला महल वा राजदरबार नै छाडेर पनि विहारमा बस्न आउने बौद्ध इतिहास पाइन्छ । विहार तथा गुम्बाहरू नै वैभवपूर्ण हुने तथा सांसारिक जीवनका लागि आकर्षणको कुरा हुने हो भने यसले बुद्ध शिक्षासँग तारतम्य राख्दैन । विहार तथा गुम्बाहरूमा चोरी वा डकैती गर्न आउने संभावनाको डर भनेको धनसम्पत्तिको संग्रह नै हो । चोरी, ठगी, डकैती आदि दुष्कर्ममा संलग्नको मनस्थिति परिवर्तन गर्न सक्षम हुनुपर्ने भिक्षु तथा भिक्षुणीहरू स्वयं तृष्णालाई मलजल गर्नु तथा भय र त्रासमा बस्नु भनेको बुद्धको उपदेशलाई आत्मसात गर्न नसक्नु हो । पर्यटकलाई प्राकृतिक दृश्यावलोकन गराउन उपयुक्त ठाउँहरू पर्यटकीय स्थल हुन् ।

तर यस्ता स्थलहरू धार्मिक प्रयोजनमा लगाइएका छन् । धार्मिक स्थलहरूको विकास नै धर्मको विकास मान्नेहरू पनि होलान् तर त्यसमाथि अनेकौं प्रश्न गर्न सकिन्छ । उदाहरणका लागि बौद्ध विहार वा गुम्बा भिक्षु भिक्षुणीले आरामसँग जीवन जिउने ठाउँ नभएर साधनास्थल हुन् । अँध्यारो वा एकान्त कोठामा बसेर ध्यान साधना गर्नका लागि पर्यटकीय संभावनाको स्थलमा भव्य र वैभवपूर्ण भवन आवश्यक हुँदैन । आजभोलि यस्तो भन्दा आपत्ति जनाउने भिक्षु–भिक्षुणीहरू पनि पाइन्छन् । यसले आजभोलिका बौद्ध भिक्षु–भिक्षुणीहरू वैराग्यको विकास गरी आध्यात्मिक साधना गर्न नभएर सांसारिक जीवनतर्फ आकर्षित हुन थालेको अर्थमा लिन सकिन्छ र यो मूलतः बौद्ध धर्ममा आएको विकृति हो ।

पर्यटकीय स्थलका रूपमा विकास गर्न सकिने ठाउँमा होटेल तथा रिसोर्टहरू बन्नसके पर्यटन उद्योगको विकास हुनसक्थ्यो । यस दृष्टिबाट हेर्ने हो भने, पर्यटन उद्योगको विकास गरी आयआर्जन गर्न सकिने ठाउँ धार्मिक आस्था वा विश्वासको नाममा मठमन्दिर तथा गुम्बाहरूले ओगटेर प्रतिकूल असर पारिरहेको छ । धार्मिक क्षेत्र हुने वित्तिकै त्यसमाथि राज्यको पहुँच पनि कम मात्रै हुने गर्दछ । धार्मिक क्षेत्रका रूपमा विकास भएको ठाउँमा स्वभावतः अर्को धर्मले पनि त्यहाँ वा त्यसकै वरिपरि आफूलाई जमाउने कोसिस गर्ने गरेको पाइन्छ । यो भनेको भविष्यमा कलहका लागि बीउ रोप्नु पनि हो । हालसम्म जति पनि ठाउँ धार्मिकीकरण भएको छ, त्यसमाथि हस्तक्षेप गर्न नसके पनि राज्यले अबका दिनमा ठोस नीति लिएर नियन्त्रण तथा नियमन गर्नु जरूरी छ ।

 

आइएनएस–स्वतन्त्र समाचार

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार १६:२२