सूचनाको शक्ति - The Power Of Information

        

अपराध

साढे दुई करोडको बीमा गरेपछि ‘श्रीमान’को हत्या

श्रीमानको हत्या गरी जापान भाग्न लागेकी कोहलपुरकी सपना मल्लसहित ६ जना पक्राउ गरेका छन् ।

साढे दुई करोड रुपैयाँ बीमा गरेर एक युवतीले श्रीमानको हत्या गराएकी छिन् । बाँके कोहलपुरकी सपना मल्लले पैसाका लागि नक्कली बिहे गरेर श्रीमानको हत्या गरेकी हुन् । बाँके कोहलपुरका सर्जन विकको यसरी हत्या भएको हो ।

उनको दुर्घटनामा मृत्यु भएको देखाई बीमाका लागि हत्या भएको हो । हत्याअघि उनको साढे दुई करोड रुपैयाँको बीमा गरी सपना मल्लसँग विवाह दर्ता गरिएको थियो । ठगीकै योजना अनुसार यसरी बीमा गरी हत्या भएको प्रहरीले जनाएको छ ।

यो घटनामा संलग्न सपनासहित संजीव अर्याल, सरदार अहमद खाँ, टोपबहादुर राना क्षेत्री, दिपक केसी र ललिता सापकोटालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । ब्यूरो प्रमुख एआइजी उत्तमराज सुवेदीका अनुसार सपना जापान जान लागेको अवस्थामा दिल्ली विमानस्थलबाट नेपाल फर्काएर पक्राउ गरिएको हो ।

२०७८ सालको बैशाख २ गते सर्जनको बाँकेको बैजनाथ गाउँपालिका–६ मा मिनिबसको ठक्करबाट मृत्यु भएको थियो । योजनाबद्ध रुपमा बसले ठक्कर दिएर हत्या भएको हाल अनुसन्धानमा खुलेको छ । त्यसअघि विकको रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा बीमा गरिएको थियो ।

उनको मृत्यु हुनुभन्दा दुई महिनाअघि बीमा गरिएको र एक महिनाअघि मात्र सपनासँग विवाह दर्ता गरी बीमा इच्छाएको व्यक्तिमा उनको नाम राखिएको थियो । घटनाका मुख्य योजनाकार संजीव अर्याल भएको र बीमा अभिकर्ता सरदार अहमत खाँ लगायतको मिलेमतो रहेको सिआइबीले जनाएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार १४:११