बाँके जिल्लाका अन्य क्षेत्रको तुलनामा विकास निर्माणमा पछाडी परेको राप्तीपारीका क्षेत्रमा क्रमशः विकासले गति लिँदै गएको छ । गत वर्षमात्रै नेपालगन्जदेखि नरैनापुर सुइँया बघौडासम्मको सडक निर्माण सम्पन्न भएर कालोपत्रेसँगै सो क्षेत्रमा विद्युत पनि पुगेको थियो ।
सडक र विद्युत पुगेपछि स्थानीयले विकासको अनुभूति गर्न थालेका छन् । सदरमुकाम नेपालगन्जलाई राप्तीसोनारी र नरैनापुर गाउँपालिकासँग जोड्ने एक मात्र माध्यम कम्दीस्थित राप्तीनदी र डुडुवा खोलामा निर्माण गरिएका पुलहरु निकै साँघुरा र जिर्ण बनेपछि ती दुबै पुल नयाँ र ठुला निर्माण गरिने भएका छन् ।
ती दुबै पुल साना र जीर्ण भएकोले राप्तीपारीका नागरिकलाई सदरमुकाम आउन जान निकै समस्या हुने गरेको तथा वर्षामा बाटो नै अवरुद्ध हुने गरेकोले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ती दुबै पुल नयाँ बनाउने भएको हो । राप्ती नदी र डुडुवा खोलामा नयाँ पुल निर्माणको प्रक्रिया अघि बढिसकेको मन्त्रालयले जनाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेका बाँके क्षेत्र नं.२ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले दुबै नयाँ पुल निर्माण प्रक्रिया अघि बढिसकेको बताउँदै ती दुबै पुल निर्माणसँगै डडुवा गाउँपालिका–४ सिधनियादेखि नेपालगन्जको पुष्पलाल चोकसम्मको हुलाकी सडकलाई स्तरबृद्धि गर्ने निर्णय मन्त्रालय गरिसकेको जानकारी दिए ।
राप्तीपारीको ठुलो क्षेत्रलाई नेपालगन्जसँग जोड्ने राप्ती नदीको पुल र डुडुवा खोलाको पुल नयाँ निर्माण भएपछि यस क्षेत्रको विकासले ठुलो फड्को मार्ने नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले बताए । उनले एक पटकमा एउटा मात्र गाडी पास हुने र निकै साँघुरो तथा छोटो राप्ती पुलले जनतालाई आवागमनमा समस्या भैरहेकोले अब चौडा र लामो पुल बन्ने भएपछि नरैनापुरवासी सबैभन्दा बढी खुशी भएको बताए ।
राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले राप्तीनदीमा निर्माण गरिएको पुल निकै साँघुरो र पुरानो भैसकेकोले नयाँ बन्नुपर्ने माग गरिरहेको बेला पुल निर्माणको खबरले खुशी लागेको बताए । वर्षा हुने वित्तिकै पुल अगाडिको भागमा पनि नदी बग्ने गरेकोले आवागमन अवरुद्ध हुने हुँदा लामो समयदेखि निकै लामो पुलको माग डुडुवाका स्थानीयले गर्दै आएको स्थानीय राजेन्द्र विश्वकर्माले बताए ।
सोही प्रकारले मन्त्री राईले राप्तीनदीको होलिया छिटाईपूर्वामा पनि पुलको आवश्यकता रहेको जनाउँदै उक्त स्थानमा पुल निमार्णका लागि समेत योजना बनाइरहेको बताए । पुलको अभावमा त्यहाँका स्थानीयका लागि नदी वारपार तथा अवातजावत गर्न हिउँदमा डुंगाको भर पर्नुपर्ने र बर्षामा आवागमन बन्द हुने हुँदा राप्तीपारी पाझा, चौफेरी लगायतका गाउँ र नरैनापुर गाउँपालिकासँग प्रत्यक्ष सम्पर्कसमेत टुट्ने गरेको छ ।
सत्यपाटी । बाँके ।