सूचनाको शक्ति - The Power Of Information

        

मेरो डायरी

उसले भन्यो, ‘रिटायर्ड डिआइजी हो यार’

म सत्ता र शक्तिमा हुँदा प्रायःले भन्ने गर्थे, ‘यो साहित्य वाहित्यमा के राखेको छ र ! यत्रो पदमा पुगेको मान्छे !’ मलाई थाहा थियो, यो सत्ता र शक्ति भन्ने कुरा अत्यन्त निर्मम छ र क्षणिक छ ।

प्रहरी नायव महानिरीक्षकको ३० वर्षे सेवाअवधि पूरा भएपछि अवकास पाएको केही समयपछि मलाई आफूसँग काम गर्ने व्यक्तिहरूलाई सम्पर्क गरि आफू शक्तिमा हुँदा र नहुँदा उनीहरूको व्यवहारमा कुनै परिवर्तन देखिन्छ कि देखिँदैन जान्न मन लाग्यो ।

मैले मेरो पहिलेको ड्राइभरलाई फोन गरें । त्यो ड्राइभरको वृत्ति विकासका लागि मैले धेरै काम गरिदिएको थिएँ । रिङ्गटोन बजिरह्यो तर उसले फोन उठाएन । दुई तीन पटक फोन गर्दा पनि फोन उठेन । त्यसपछि मैले मेरो गार्डलाई फोन गरें ।

गार्डलाई म धेरै माया गर्थें र उसलाई धेरै अवसर दिलाएको पनि थिएँ । उसले पनि पहिलो पटक फोन उठाएन । दोस्रो पटक फोन उठायो र भन्यो, ‘सर म त विजी छु ।’ त्यसपछि उसले फोन काट्यो । मैले आफ्नो पिए बसिसकेको प्रहरी अधिकृतलाई फोन गरें ।

‘आधा रिङ्ग बज्यो र त्यसपछि आवाज आयो, ‘तपाईंले सम्पर्क गर्न खोज्नु भएको नम्बर व्यस्त छ ।’ मतलब उसले मलाई ब्लक गरिसकेको थियो । मैले एक व्यक्तिलाई फोन गरें । म शक्तिमा छँदा उ मलाई पटक–पटक फोन गर्थ्यो ।

स्टार होटेलमा कहिले लन्च त कहिले डिनरका लागि अनुरोध मात्र होइन, अनुनयविनय गर्थ्यो । उसले फोन उठायो र हाँस्दै भन्यो, ‘सर, घरमै बसी बसाउ होला होइन त ! म काममा छु, सर । एकछिन पछि आफै कल गर्छु ।’ म चुप लागें ।

उसले सोच्यो मैले फोन राखिसकें । उसको पछाडिबाट आवाज आयो, ‘को हो ?’ उसले भन्यो, ‘रिटायर्ड डिआइजी हो यार । अब यसको के काम छ, साला…!’ म सत्ता र शक्तिमा हुँदा प्रायःले भन्ने गर्थे, ‘यो साहित्य वाहित्यमा के राखेको छ र ! यत्रो पदमा पुगेको मान्छे !’

मलाई थाहा थियो, यो सत्ता र शक्ति भन्ने कुरा अत्यन्त निर्मम छ र क्षणिक छ । त्यसैले मैले सधैं आफ्नो पेशालाई आफ्नो कर्तव्य र साहित्यलाई आफ्नो सपना र साधना सम्झेँ । (पूर्व डिआइजी शाह उनी मदन पुरस्कार विजेता साहित्यकार हुन् ।)

 

फेसबुकबाट साभार

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार ११:०३

सिफारिस