सूचनाको शक्ति - The Power Of Information

        

विकासमा बेवास्ता

१६ वर्षदेखि छात्रावास निर्माण अलपत्र, जीर्ण बन्दै संरचना

महेन्द्र बहुमुखी क्याम्पसको डिग्री भवन अलपत्र रहेकोमा नेपालगन्ज उपमहानगरपालिकाबाट लगानी गरेर पूर्णता दिए पनि छात्रावास अधुरै अवस्थामा छ ।

नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको निर्माणाधिन छात्रावास ।

नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको छात्रावास निर्माणका लागि सम्झौता भएको १६ वर्ष बित्दा पनि निर्माण प्रक्रिया पूरा हुन सकेको छैन । नेपालस्थित भारतीय राजदूतावासको सहयोगमा निर्माण भएको संरचनासमेत जीर्ण बन्दै गएका छन् ।

छात्रावासको पुरानो संरचना काम नलाग्ने अवस्थामा पुगेको नेपालगन्ज उपमहानगरपालिकाका प्राविधिक शाखा प्रमुख भूपेन्द्र बोहराले बताए । क्याम्पसको स्नातकोत्तर भवन र महिला छात्रावास निर्माणका लागि भारतीय दूतावाससँग २००६ जुन २१ मा सम्झौता भएको थियो ।

सो सम्झौताअनुसार भ्याटबाहेक दुई करोड २४ लाख रुपैयाँको कुल लागत तयार भएकोमा गोर्खा–बडिमालिका जेभी कम्पनीले एक करोड ९६ लाखमा निर्माण ठेक्का हात पारेको थियो । सो सम्झौताअनुसार ३० प्रतिशत मात्रै काम भएपछि ठेक्का सम्झौता तोडेको थियो ।

गोर्खा–बडिमालिका जेभी कम्पनीले ठेक्का तोडेपछि २०६८ फागुन २९ मा नर्सिङ–कालापानी जेभीले एक करोड ४० लाख रुपैयाँमा भ्याट, भैपरी खर्चबाहेक ठेक्का पाएको नेपालगन्ज उपमहानगर पालिकाका इन्जिनियर निवेशकुमार शर्माले बताए ।

‘धेरै पहिले सम्झौता भएका कारण निर्माण सम्बन्धी केही कागजात पाउनै मुस्किल छ,’ इन्जिनियर शर्माले भने, ‘डिग्री भवन अलपत्र रहेकोमा नेपालगन्ज उपमहानगरपालिकाबाट लगानी गरेर पूर्णता दिए पनि छात्रावास अधुरै अवस्थामा छ ।’

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको अलपत्र अवस्थामा रहेको छात्रावासलाई पूर्णता दिनका लागि पहल अघि बढाएका छन् । नगर प्रमुख विष्टको समन्वयमा भारतीय राजदूतावासका शाखा अधिकृत चन्द्र प्रकाश नेतृत्वको टोलीले बिहीबार छात्रावास र जीर्ण भवनको स्थलगत अनुगमन गरेका छन् ।

दूतावासका शाखा अधिकृत चन्द्र प्रकाशले दूतावासको सहयोग भए पनि भवन निर्माण कार्य अलपत्र परेकोमा चिन्ता व्यक्त गरे । उनले छात्रावासको पूर्णताका लागि पुनः लागत ‘स्टिमेट’ तयार गरी दूतावासको सम्पर्कमा आउन आग्रह गरे ।

क्याम्पस प्रमुख लालमणि आचार्यले जीर्ण भवन निर्माण तथा छात्रावासलाई पूर्णता दिनका लागि नेपालगन्ज उपमहानगरपालिका र भारतीय दूतावाससमक्ष माग गरिएको जानकारी दिए । सो भवन निर्माणका लागि भारतीय दूतावासले सन् २०१६ मे २ मा एक करो ड ६२ लाख ६४ हजार ५६२ रुपैयाँ उपलब्ध गराएको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार ०७:५२