सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्य समाचार

भेरीमा सर्पदंशका बिरामीको चाप

यस वर्ष वर्षा सुरु भएपछि भेरी अस्पतालमा उपचारका लागि आएकामध्ये दुई र उपचारका लागि अस्पताल आउँदा–आउँदै बाटोमा चार जनाको मृत्यु भएको छ ।

फाइल तस्वीर

पश्चिम नेपालका विभिन्न जिल्लामा सर्पदंशका बिरामी बढेसँगै उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा आउने क्रम पनि वृद्धि भएको छ ।

यस क्षेत्रकै सबैभन्दा ठूलो सरकारी रेफरल अस्पतालको रूपमा रहेको भेरी अस्पतालमा सर्पदंशका बिरामीको चाप अहिले आएर बढेको अस्पतालले जनाएको छ ।

भेरी अस्पतालका कन्सल्ट्यान्ट एनेस्थेसियोलोजिस्ट डा.पारस पाण्डेका अनुसार केही दिनयता दैनिक १० देखि २० जना सर्पदंशका बिरामी अस्पतालमा आउने गरेका छन् ।

उनका अनुसार सर्पले टोकेपछि उपचारका लागि अस्पताल आएकामध्ये हप्तामा ५–७ जनालाई आइसीयू र भेन्टिलेरमा राखेर उपचार गर्नुपर्ने अवस्था छ ।

अधिकांश बिरामी बर्दिया, दाङ, सुर्खेत र कैलाली जिल्लाबाट रेफर भएर भेरी अस्पतालमा आउने गरेको कन्सल्ट्यान्ट एनेस्थेसियोलोजिस्ट डा.पाण्डेले जनाए ।

उनका अनुसार बाँकेसहित बर्दिया, दाङ, सुर्खेत र कैलालीबाट सर्पदंशका धेरै बिरामी गम्भीर अवस्थामा पुगेपछि उपचारका लागि भेरी अस्पतालमा आउने गरेका छन् ।

जिल्ला बाहिरबाट आउने अधिकांश बिरामी गम्भीर अवस्थाका हुने भएकाले उनीहरूलाई एन्टीस्नेक भेनमसहित आइसीयूको आवश्यक पर्ने गरेको अस्पतालका प्रवक्ता डा.सङ्केत रिसालले बताए ।

उनका अनुसार यस वर्ष वर्षा सुरु भएपछि भेरी अस्पतालमा उपचारका लागि आएकामध्ये दुई र उपचारका लागि अस्पताल आउँदा–आउँदै बाटोमा चार जनाको मृत्यु भएको छ । भेरी अस्पतालले पश्चिम नेपालका २४ जिल्लाका बिरामीहरूको उपचार गर्दै आएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार ०७:३६