सूचनाको शक्ति - The Power Of Information

        

डीएसपी रमेश सिंहलाई आठ महिना जेल सजाय

उमेर घटाएर नक्कली प्रमाणपत्र पेश गरेको अभियोगमा बझाङ घर भएका प्रहरी नायव उपरीक्षक रमेश सिंहलाई आठ महिना कैद सुनाएको छ । कीर्ते कागजातको कसुरमा उनलाई विशेष अदालतले यसअघि नै दोषी ठहर गरेको थियो । तर सजाय निर्धारण हुन बाँकी थियो ।

पूर्णपाठ सार्वजनिक भएसँगै सिंहलाई आठ महिना कैद सजाय तोकेको प्रस्ट भएको हो । यस्तै उनलाई १५ हजार रुपैयाँ जरिवाना पनि हुने फैसलामा उल्लेख छ । डीएसपी सिंहले जन्म मिति २०३२ साललाई २०३३ साल बनाएर नक्कली प्रमाण पत्र पेश गरी प्रहरी निरीक्षकमा भर्ना भएको विशेष अदालतले ठहर गरेको हो ।

उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस विषयमा अनुसन्धान गरेर विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले दोषी ठहर गरेको हो । २०५८ मंसिरमा प्रहरी निरीक्षकमा भर्ना हुन उनले आवेदन दिएका थिए ।

तर लोकसेवा आयोगले २०६१ सालमा मात्रै नतिजा सार्वजनिक गरेको थियो । आवेदन दिँदा उनी २५ वर्ष नाघिसकेको पाइएको विशेष अदालतले जनाएको छ । सुरुमा सिंहले एसएलसीको चारित्रिक प्रमाणपत्र नै नक्कली बनाएका थिए । पछि त्यसैका आधारमा नागरिकताको प्रतिलिपि पनि लिएको खुलेको हो ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार ०६:५१