सूचनाको शक्ति - The Power Of Information

        

नेपालका विशिष्ट अस्पतालमध्ये भेरी पनि एक हो : राज्यमन्त्री केसी

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले सीमित स्रोत साधानका बाबजुद भेरी अस्पतालले पश्चिम नेपालको स्वास्थ्य सेवाका क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताएका छन् ।

भेरी अस्पतालको १३२ औं स्थापना दिवसको अवसरमा भेरी अस्पतालले आयोजना गरेको वार्षिकोत्सव कार्यक्रमलाई सम्वोधन गर्दै उनले नेपालका विशिष्ट अस्पतालहरुमध्ये भेरीले विपन्न, गरिब, असहाय असक्त, आम बिरामीहरुको सेवालाई प्रमुख प्राथमिकता दिएको स्मरणसमेत गरे ।

जनताप्रति जवाफदेही हुनुपर्नेमा जोड दिँदै उनले सबैमा नैतिकता, इमान्दारिता, जिम्मेवारी र कर्तव्यबोध भएर जनताको सेवामा समर्पण हुन स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई निर्देशनसमेत दिए ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालको सभापतित्वमा भएको वार्षिकोत्सव कार्यक्रममा नेकपा एमालेका सचिव रत्न खत्री, काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, नेकपा एकिकृत समाजवादीका अध्यक्ष अशोक कोइराला, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा.श्यामसुन्दर यादव, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, पूर्व नगर प्रमुख धवलशमशेर राण, प्राध्यापक डा.जनार्धन शर्मालगायतले स्तरीय सेवा प्रवाहको आग्रहसहित शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

वार्षिकोत्सवका अवसरमा २५ वर्षदेखि सेवारत कर्मचारीलाई सम्मानित गरिनुका साथै ‘म भेरी अस्पतालको प्रमुख भए’ शीर्षकमा आयोजना गरिएको निवन्ध प्रतियोगिताका उत्कृष्ट प्रतियोगि तथा अस्पतालले आयोजना गरेको विभिन्न खेलकुद प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरस्कृत समेत गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा बद्री चापागाईले जानकारी दिए ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार १९:१३