सूचनाको शक्ति - The Power Of Information

        

ब्लग

टाउको गन्ने खेल, ‘अस्थीर राजनीति !’

आफ्नै पार्टीभित्र बहुमत र अल्पमतको टाउको गन्ने फोहोरी राजनीतिक लडाईले देशको विकास र तमाम समस्याहरू ओझेल पर्दैछन् ।

राजनैतिक अस्थीरता नै विकासको बाधक हो रहेछ भनेर बिगतको आम चुनावमा सबै नेताहरूले आत्मा आलोचना गरे, माफी माग्नेले माफी पनि मागे, गल्तीको प्रायश्चित पनि गर्दै विगतको आम चुनावमा नेपाल कम्युनिस्ट पार्टीले स्थिरताको लागि बहुमतको सरकारको भोट माग्यो र नागरिकले अब त नेताहरूलाई चेत पलायो होला, राजनीतिक स्थीरता भई देश विकास होला र सबै नागरिकमा रहेको निराशा हटेर जाला र देशले काँचुली फेर्ला भनि नेकपालाई नागरिकले बहुमतमात्रै होइन, झन्डै दुई तिहाई मत दिए ।

आखिर जसको नेतृत्व भए पनि सरकारको स्थीरता आवश्यक थियो र छ । नागरिकको यहि चाहाना थियो र नेकपाको सरकार गठन भयो, नागरिक खुसी भए । तर नागरिकको त्यो खुसी अढाई बर्ष पनि टिक्न नपाउँदै अस्थीरताको भयावह रूप देखिँदैछ । आखिर अस्थीरताको जड त यीनै नेताहरू देखियो । देशमा कोरोनाको महामारीले रोगको संक्रमण र नागरिकको मृत्यु बढ्दो छ, साना तथा मझौला ब्यवसायीहरू काम गर्न नपाएर आयआर्जन नभएर रोग र भोकले पीडित छन्, दैनिक ज्यालादारी भोकभोकै मरिरहेका छन् ।

ठूला उद्योगी र ब्यवसायीहरू धरासायी हुँदैछन्, विभिन्न जिल्लामा बाढी पहिरोले नागरिक घरबारबिहीन भएर बिचल्लीमा परिरहेका छन् । गरिबलाई बिहाना र बेलुकीको छाक टार्न धौ–धौ छ । लाखौं युवाहरू स्वदेश फर्किरहेका छन् र बेरोजगारी दिन प्रतिदिन बढिरहेको छ । रेमिट्यान्सले पालिएको मुलुकको आयश्रोत सुक्दैछ, देश आत्मनिर्भर होइन, परनिर्भरको बाटोमा छ, एमसीसीको विवादले नागरिक विभाजित छन्, युवाहरू यस्तै बिसंगती र बिकृतिले आक्रोशित छन्, नेपाली भूमिमा विदेशीले परेड खेलिरहेको छ, सिमानामा छिमेकीले बाँध र सडक निर्माण गरेका कारण कैंयौ हेक्टर जमिन डुबानमा परेको छ ।

अझ भनौं सरकार ढाल्न पारिबाट न्वारनदेखिको बल लगाएको प्रस्टै देखिन्छ । देशको आन्तरिक राजस्व वा आयआर्जन हुन नसकेर आफ्नो खुट्टामा उभिन नसकेर देश माग्ने भइसकेको छ यस्तो अवस्थामा हाम्रो देशका नेताहरू भने सत्ताको लुछाचुँडी गर्न भ्याईनभ्याई छ । सत्ता कसरी जोगाउने र सत्ता कसरी पल्टाउने अनि कसरी हत्याउने दाउमै दलहरु केन्द्रीत छन् । देशको यस्तो असहज बेलामा देशलाई आन्तरिक समस्या र बाह्य अतिक्रमणको बेलामा मिलेर सरकारलाई नेताहरूले मेरूदण्डको रूपमा साथ सहयोग र सपोर्ट दिएर देशलाई स्थीर र दीगो विकास गर्न सहयोग गर्नु र समाधान गर्ने बाटो देखाई खबरदारी गर्नुपर्ने बेलामा आफ्नै सरकारको जरो उखेल्न खोजेर दुनियाँलाई हसाएका छन् ।

अबको अढाई बर्ष पनि धैर्यता गर्न नसकेर पदीय भागबण्डामा खिचातानी गरी राजनैतिक अस्थीरता ल्याउनु भनेको कुकुरको पुच्छर बाह्र बर्ष ढुङ्ग्रामा हाले पनि बाङ्गोको बाङ्गै भनेजस्तै भयो । पालो त सबैको आएको थियो र आउँछ पनि, तर सधैं यस्तै कुण्ठा, इष्र्या र लोभ ? अनि अधैर्यले देशका यावत समस्या एकातिर छन्, त्यतातिर यी नेताहरूको बहस र ध्यान पटक्कै छैन । सरकार कसरी टिकाउने र सरकार कसरी ढाल्ने जस्तो खेल खेल्न ब्यस्त छन् । आफ्नै पार्टीभित्र बहुमत र अल्पमतको टाउको गन्ने फोहोरी राजनीतिक लडाईले देशको विकास र तमाम समस्याहरू ओझेल पर्दैछन् ।

आफ्नै पार्टीभित्र एकले अर्को नेताको तेजोबोध गर्ने, दरिद्र मानसिकता राख्ने, आफ्नै आङ्ग कन्याएर घाउ बनाउने र इष्र्या र कुण्ठा पाल्ने, पदीय लोभ र लालचमा रात दिन चिन्ताग्रस्त भएर जलन हुनेजस्ता मनोभाव बोकेका नेताहरूबाट नागरिकले गरेको अपेक्षा पानीको फोका हुने लक्षण देखिँदैछ । यस्ता नेता जन्माउने हाम्री जन्मभूमी आमा र यस्ता नेताहरूलाई जिताउने तथा पालनपोषण गर्ने र नेतृत्वमा पुराउने हामी विचरा नागरिकहरू ! अस्थीर राजनीति नेपालको दुर्भाग्य नै भयो । ए नेताहरू हो ! अब त सोच ! एकचोटि आफूलाई आत्म समिक्षा गर ! कतै म आफै समस्याको जड त होइन ? आत्म मुल्याङ्कन गर ! अरूलाई चोर औंला देखाउँदा बाँकी औंलाले आफैलाई देखाइरहेका छन् हेर ! यी सबैलाई धैर्यता र सकरात्मक सोच राख्न सद्बुद्धी र प्रेरणा मिलोस राष्ट्रको भलो होस्, जय होस् । (लेखकको फेसबुकबाट)

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार १५:२४