सूचनाको शक्ति - The Power Of Information

        

बेरोजगारीको सकस

‘द्वन्द्वकालमा डरले बाहिरियौं, अहिले बाध्यताले घर छाड्छौं’

अहिले दैनिक १२ सयदेखि १३ सयसम्म नेपाली युवा रोजगारीका लागि भारततिर गइरहेका छन् ।

फाइल तस्वीर

नेपाली युवाहरु भारतमा रोजगारीका लागि जानेको सिमा नाकाहरुमा लर्को लाग्न थालेको छ । कर्णाली र लुम्बिनी प्रदेशका पहाडी जिल्लाका दैनिक रुपमा एक हजारभन्दा बढी युवा नाका हुँदै रोजगारीका लागि भारततर्फ जाने गरेको जमुनाह नाकास्थित प्रहरीको तथ्याङ्क छ ।

इलाका प्रहरी कार्यालय, जमुनाहका प्रमुख वरिष्ठ सई माधव रिजालले केही दिन यता आएर फेरी दैनिक भारत जाने नेपालीको लर्को लाग्ने गरेको बताए । उनले अहिले दैनिक १२ सयदेखि १३ सयसम्म नेपाली युवा रोजगारीका लागि भारततिर गइरहेको जानकारी दिए ।

अहिले नेपालमा काम नभएको र भारतको सिमला लगायतका ठाउँमा स्याउ पाकेकोले स्याउ टिप्न र ओसार पसार गर्न धेरै नेपाली युवा सो तर्फ जाने गरेको प्रहरीको भनाइ छ । भारत जान हुल बाँधेर नाकामा पुगेका अधिकांश नेपालीले हिमाञ्चल प्रदेशको सिमला जान लागेको बताउने गरेको रिजालले बताए ।

उनका अनुसार अहिले भारत जानेमा अधिकांश २० वर्षको सेरोफेरोकै युवा छन् । भारत हिँडेका जाजरकोट पाँचकाटियाका रमेशबहादुर सिंहले स्वदेशमा कुनै काम नै नपाइएपछि बाध्य भएर फेरी भारत जान थालेको बताए । उनले नेपालमा बढीभन्दा बढी रोजगारी सृजना नगरिएसम्म कालापहाड जानैपर्ने बाध्यता बाँकी रहने बताए ।

यस्तै सल्यान थारमारेका गणेश विकले आफ्नो देशमा काम नपाएपछि भारत जानुको विकल्प नहुँदा आफू कमाउनकै लागि भारत जान लागेको गुनासो गरे । सोही प्रकारको दुःखेसो भारत छिर्न नाकामा पुगेका अधिकांश युवाको छ । विक जस्तै दैनिक सयौँ नागरिक यतिबेला जमुनाहा नाका भएर रोजगारीका लागि भारत पस्दै छन् ।

विकले भने, ‘आफू जन्मिएको माटो छोडेर अरुकोमा काम गर्न जानु बाध्यता हो ।’ जमुनाहा नाकाबाट लुम्बिनी र कर्णाली प्रदेशका मात्रै नभई अन्यत्र क्षेत्रका नागरिक पनि रोजगारीका लागि भारतका विभिन्न ठाउँमा दिनहुँ गइरहेका छन् । उनले आफू चार दशकदेखि भारत रोजगारीका लागि जान थालेको बताए ।

गत वर्ष कोरोना कहरमा भारतमा रोजगारी छाडेर घर फर्किएका रोल्पाका २६ वर्षीय धमेन्द्र पुनले पनि स्वदेशमै केही गर्नका लागि रोजगारी नपाउने भएपछि बाध्यताले छाडेर जानुपरेको बताए । ‘मुलुकमा जस्तो सुकै परिर्वतन आए पनि गरिबका दिनमा सुख कहिल्यै आएन,’ पुनले भने, ‘गाउँमै रोजगारी सिर्जना भए काम खोज्दै भारततिर किन जानुपर्थ्यो ?’

कामका लागि भारतका विभिन्न शहरमा गएका नेपाली चाडपर्व तथा खेतीपातीको सिजनका बेला घर फर्किने गर्छन् । तर, घर बिदामा आएका बेला जनप्रतिनिधिले गाउँमा देखिने गरी विकास नगरेको देख्दा मन खिन्न हुने गरेको बताउँछन्, रुकुम चौरजहारीका मिलन सिंह । उनले गाउँमा रोजगारी नपाउँदा विदेशिनुको विकल्प नभएको बताए ।

‘चुनावका बेला मात्रै घरदैलोमा गफ दिने नेताको कामै छैन,’ सिंह भन्छन्, ‘द्वन्द्वकालमा डरले बाहिरियौँ अहिले बाध्यताले घर छाड्नुपरेको छ ।’ घर विदामा आएकाहरुमध्ये कति नेपालीहरू भारतमा साहुले बोलाएर फर्किन्छन् भने कतिपय नेपाली केही न केही काम गरेर जीविकोपार्जन गरौँला भन्ने आशा बोकेर भारततिर पलायन भइरहेका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार १२:०१