कर्णाली प्रदेशमा बाली उत्पादन घटेको छ । आर्थिक वर्ष २०७८–०७९ को पुस मसान्तसम्म समग्र कृषि बालीको उत्पादन ११.२४ प्रतिशतले घटेको पाइएको छ ।
नेपाल राष्ट्र बैंक, सुर्खेत कार्यालयद्वारा सार्वजनिक आव २०७८–०७९ को अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनका अनुसार अघिल्लो आवको तुलनामा कृषि बालीले ढाकेको क्षेत्र र उत्पादन घटेको पाइएको छ ।
राष्ट्र बैंकको प्रादेशिक कार्यालय सुर्खेतले मुगुको स्थलगत र अन्य जिल्लाको गैरस्थलगत रुपमा कृषि, उद्योग र सेवा क्षेत्रको तुलनात्मक स्थिति, पूर्वाधार विकास, रोजगारीलगायत आर्थिक परिदृश्यको अध्ययन गरेको थियो ।
उक्त अध्ययनले कृषि बालीले ढाकेको क्षेत्रफल ६ दशमलव १९ प्रतिशतले घट्नुका साथै प्रमुख बाली धन, मकै र गहुँले ढाकेको क्षेत्रसमेत घटेको पाइएको छ । धानबाली ११ दशमवल ९० प्रतिशत, मकै ८ दशमलव ६५ र गहुँ ४ दशमलव ९५ प्रतिशतले घटेको छ ।
प्रतिवेदनअनुसार कोदो, फापर, भटमास, दलहन र तेलहनले ढाकेको क्षेत्रफल भने वृद्धि भएको छ । धानबालीको उत्पादन २१ दशमलव ८९, मकैबाली २ दशमलव १ प्रतिशतले बढेको छ भने कोदो र फापरले ढाकेको क्षेत्रफल वृद्धि भए पनि उत्पादकत्वमा गिरावट आएको छ ।
कोदो र फापरको उत्पादन क्रमशः ४० दशमलव ९० प्रतिशत र ९ दशमलव ४० प्रतिशतले घटेको छ । कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायाले परम्परागत कृषि प्रणाली यथावत हुनु, समयमा पर्याप्त मल र बीउ नपाउनु, सिँचाइको उपलब्धता नहुनुजस्ता कारणले कृषि बाली क्षेत्र घट्न गई उत्पादनमा कमी आएको हुनसक्ने बताए ।
‘कतिपय अवस्थामा जीविकोपार्जन गर्नसमेत ग्राहो हुने भएपछि श्रमशक्ति कृषि क्षेत्रबाट पलायन भएर अन्य क्षेत्रमा लागेको देखिन्छ,’ उनले भने, ‘पछिल्लो समय सहरमा बसाइँसराइका कारण पनि पहाडी जिल्लामा खेती दिनप्रतिदिन घट्दै गएको छ ।’
कर्णाली प्रदेशमा आव २०७८–०७९ को पुस मसान्तसम्म दूध उत्पादन ८ दशमलव ४८ प्रतिशतले बढेको छ भने मासु उत्पादन ० दशमलव १२ प्रतिशतले घटेको छ । अण्डा र माछा उत्पादन १२ प्रतिशतले बढ्न पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिभन्दा २०७९ को पुस मसान्तसम्म कृषि कर्जा प्रवाह ३८ प्रतिशतले बढेर रु चार अर्ब ५४ करोड १४ लाख पुगेको राष्ट्र बैंकको अर्धवार्षिक प्रतिवेदनमा उल्लेख छ । कर्णालीमा मझौला तथा ठूला उद्योग स्थापना र औद्योगिक कर्जा प्रवाहको अवस्था न्यून छ ।
सञ्चालित लघु, घरेलु तथा साना उद्योगको सङ्ख्या २९ हजार २४८ पुगेको छ । सबैभन्दा बढी औद्योगिक कर्जा सुर्खेत र कम डोल्पामा प्रवाह भएको छ । कोरोना महामारीको प्रभाव कम हुँदै जाँदा भारत, चीन र तेस्रो मुलुकबाट आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।
सुर्खेत, जुम्ला र रारामा पर्यटक लक्षित ठूलो होटल तथा रेष्टुराँ खोल्ने क्रम बढेको छ । कोरोना महामारीको प्रभाव कम भएसँगै पर्यटन क्षेत्रले आफ्नो लय समातेको छ । प्रतिवेदन अनुसार होटल व्यवसायले सिर्जना गरेको प्रत्यक्ष रोजगारीमा ४० दशमलव २९ प्रतिशतले वृद्धि भएको छ ।
अघिल्लो आवको सोही अवधिमा होटल व्यवसायले प्रदान गर्ने रोजगारीमा ३१ प्रतिशतले ह्रास आएको थियो । दैलेखमा पेट्रोलियम पदार्थको उत्खननको क्रममा चिनिया नागरिकको आगमनले ती मुलुकका पर्यटकको सङ्ख्या बढी देखिएको छ । आर्थिक सर्भेक्षणअनुसार कूल ग्राहस्थ उत्पादनमा कर्णालीको हिस्सा ४ दशमलव १ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका प्रादेशिक कार्यालयका उपनिर्देशक विनय सिग्देलले कर्णालीमा प्राकृतिक स्रोत–साधनको उपलब्धता र प्रचुर सम्भावना हुँदाहुँदै पनि उत्पादन तथा राष्ट्रिय अर्थतन्त्रमा अन्य प्रदेशभन्दा कम योगदान रहेको बताए । कूल ग्राहस्थ उत्पादनमा कर्णालीको कृषि क्षेत्रको ३१ दशमलव ५, उद्योग क्षेत्रको ११ दशमलव १ र सेवा क्षेत्रको योगदान ५७ दशमलव ४ प्रतिशत छ ।
कोरोना महामारीले शिथिल देखिएको कर्णालीको अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका कृषि, उद्योग, सेवा, पूर्वाधारलगायत क्षेत्र क्रमशः चलायमान बन्दै गइरहेका छन् । राष्ट्र बैंकको प्रादेशिक कार्यालयले प्रदेशको आर्थिक गतिविधिको अर्धवार्षिक र वार्षिक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो ।
रासस । कर्णाली ।