सूचनाको शक्ति - The Power Of Information

        

अपराध

सम्पत्ति हडप्न ‘सुपारी दाम’ दिएर भाइबुहारीको हत्या

कृष्ण र अञ्जली दुई दिनअघि आफ्नै निवासमा रहस्यमय ढङ्गले मृत अवस्थामा फेला परेका थिए ।

भाईबुहारीको हत्यामा संलग्न विजयकुमार र पत्नी रेखा ।

बाँकेको कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा सम्पत्ति हडप्नकै लागि एक व्यक्तिले योजनाबद्ध तरिकाले पेसेवर अपराधीलाई ‘सुपारी दाम’ दिएर आफ्नै सहोदर भाइबुहारीको हत्या गरेको रहस्य खुलेको छ ।

पार्वतीपुर निवासी विजय गडरिया र उनकी पत्नी रेखा गडरिया दम्पतीले पुर्ख्यौली सम्पत्ति हात पार्नकै लागि योजनाबद्ध ढङ्गले भाइ कृष्ण गडरिया र बुहारी अञ्जली गडरियाको हत्या गराएको प्रहरीले खुलासा गरेको छ ।

अभियुक्त विजय र रेखाले बाँकेकै दुई जनालाई भाइबुहारीको हत्या गर्न दुई लाख ५० हजार रुपैयाँ ‘सुपारी दाम’ दिएको कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले बताए ।

कृष्ण र अञ्जली दुई दिनअघि आफ्नै निवासमा रहस्यमय ढङ्गले मृत अवस्थामा फेला परेका थिए । सो घरको माथिल्लो तलामा कृष्णका दाजु भाउजुमात्र बस्दै आएका थिए । रगतले लत्पतिएको अवस्थामा उनीहरूको शव कोठामा भेटिएको थियो ।

सो घटनालगत्तै प्रहरीको अनुसन्धान टोलीले दाजु भाउजु विजय र उनकी पत्नी रेखालाई उच्च निगरानीमा राखिएको थियो । अभियुक्तले हत्या स्वीकारेको इप्रका कोहलपुरका प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए ।

सो घटनामा भाइ कृष्णले पत्नीको हत्या गरी आफूले आत्महत्या गरेको देखाउन खोजिए पनि तालिम प्राप्त कुकुरले भने सहोदर दाजु र भाउजूलाई नै सङ्केत गरेपछि रहस्यमय घटनाको सत्य खुलेको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए ।

पिता धीरन गडरियाको नाममा रहको करिब २० करोड रुपैयाँको सम्पत्ति हडप्न यसअघि पनि दाजुभाइबीच पटक–पटक विवाद र झगडा भएको देखिन्छ । तर केही सीप नलागेपछि दाजु भाउजुले नै भाइ र बुहारी तथा उनको पेटमा रहेको चारमहिने बच्चाको हत्या गरेका हुन् ।

‘पोस्टमार्टम रिपोर्ट’ले पनि गडरिया पतिपत्नीको निर्मम तरिकाले हत्या भएको र अञ्जलीको पेटमा चार महिनाको बच्चा रहेको पुष्टि भएको प्रहरीले जनाएको छ । हत्यामा प्रत्यक्ष रूपमा संलग्न तथा सुपारी लिने दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले एकथान पेस्तोलसहित नेपालगन्ज उपमहानगरपालिका लग्दहवाका साकिर अलि बेहना र सुर्जिगाउँका राजन सोनकरलाई पक्राउ गरेको छ । हत्या घटनाका अभियुक्तले दाजु भाउजुको निर्देशनमा गडरिया दम्पतीको हत्या गरेको स्वीकारेका छन् ।

हत्या गर्न दुई लाख ५० हजार सुपारी लिएको प्रहरीसँगको बयानमा खुलेको प्रहरी नायब उपरीक्षक मल्लले बताए । हत्यापछि फरार बेहना र सोनकरले घटना अनुसन्धान अन्तै मोड्न पेस्तोलबाट फायर गरेको पनि देखिएको छ ।

घटनास्थलबाट केही गोलीका खोका पनि बरामद भएको प्रहरीले बताएको छ । यद्यपि मृतक दुवैलाई गोली लागेको देखिएन, पेस्तोलको प्रयोग तर्साउन र नियन्त्रणमा लिन गरिएको हुन सक्ने प्रहरीको अनुमान छ ।

एनआइसी एसिया बैङ्कबाट ५० लाख रुपैयाँ ऋण लिएका विजयले सो ऋण तिर्न पटक–पटक बुवालाई सम्पत्ति बिक्री गर्न दबाब दिएको, तर बुवाले नमानेपछि उनलाई समेत मार्ने योजना बनाएको प्रहरी हिरासतमा रहेका अभियुक्त विजयले प्रहरीसँगको बयानमा खुलाएको बताइएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार ०९:४०