सूचनाको शक्ति - The Power Of Information

        

कृषि समाचार

देशभर ८० प्रतिशत धान रोपाइँ

साउन ६ गतेसम्ममा करिब ८० प्रतिशत रोपाइँ भएको छ । यस हिसाबले गत वर्षको तुलनामा करिब ८.८ प्रतिशतको हाराहारीमा कम रोपाइ भएको छ ।

यसपालि चाँडै मनसुन सुरु भए पनि गत वर्षको तुलनामा हालसम्म ८.८ प्रतिशत रोपाइँ कम भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गराएको जानकारी अनुसार गत वर्ष २०७८ को साउन ६ गतेसम्म ८८.८ प्रतिशत रोपाइँ भएको थियो । यस वर्ष साउन ६ गतेसम्ममा करिब ८० प्रतिशत रोपाइँ भएको छ ।

यस हिसाबले गत वर्षको तुलनामा करिब ८.८ प्रतिशतको हाराहारीमा कम रोपाइँ भएको मन्त्रालयले दाबी गरेको छ । साउन १५ गतेसम्म सतप्रतिशत रोपाइँ सम्पन्न हुने कृषि मन्त्रालयले दाबी गरेको छ ।

कृषि मन्त्रालयका प्रवक्ता डा.प्रकाश सञ्जेलका अनुसार विशेषगरी प्रदेश १, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन ढिलो सुरु भएका कारणले धान रोपाइँको प्रतिशतमा कमी देखिएको छ ।

हाल ती प्रदेशमा मनसुन सक्रिय रहेको र रासायनिक मलको उपलब्धतामा पनि सु्धार आएको हुनाले हालसम्म मन्त्रालयले विगत वर्षहरुमा जस्तै लगभग सतप्रतिशत रोपाइँ हुने आफूहरुको प्रारम्भिक अनुमान रहेको प्रवक्ता सञ्जेलले बताए ।

यसपालि हालसम्म ७५.३ प्रतिशत रोपाइँमात्र भएको छ । जब कि गत वर्ष यो बेलासम्म ८८.८ प्रतिशत धान रोपाइँ भइसकेको थियो । सबैभन्दा धेरै धान रोपाइँ हुने प्रदेश १ मा हालसम्म ७७.८६ प्रतिशतमात्र रोपाइँ भएको कृषि विभागले जनाएको छ ।

मधेश प्रदेशमा त्योभन्दा पनि कम ६३.२ प्रतिशत धान रोपाइँ भएको छ । बागमती प्रदेशमा ७६ प्रतिशतमात्र रोपाइँ भएको छ । विभागका अनुसार कर्णाली प्रदेशमा ७८.३ प्रतिशत, गण्डकीमा ८४.३, लुम्बिनीमा ७४.७, सुदूरपश्चिममा ९२.८ प्रतिशत रोपाइँ भएको छ ।

बागमती प्रदेशको उपत्यकाको तीनवटै जिल्लामा रोपाइँ सम्पन्न भइसकेको छ भने सबैभन्दा कम रामेछापमा ६० प्रतिशत रोपाइँ भएको छ । प्रदेश १ मा सबैभन्दा बढी रोपाइँ सोलुखुम्बुमा ९० प्रतिशत भएको छ भने सबैभन्दा कम पाँचथरमा ५५ प्रतिशत रोपाइँ भएको छ ।

मधेश प्रदेशमा सबैभन्दा बढी रोपाइँ सप्तरीमा ८० प्रतिशत र सबैभन्दा कम पर्सामा ४५ प्रतिशत रोपाइँ भएको छ । गण्डकी प्रदेशमा सबैभन्दा बढी रोपाइँ कास्कीमा ९६ प्रतिशतभन्दा बढी भएको छ भने सबैभन्दा कम रोपाइँ बागलुङ र तनहुँमा ७५ प्रतिशतमात्र भएको छ ।

लुम्बनी प्रदेशको नवलपरासीमा सबैभन्दा बढी ९६ प्रतिशत रोपाइँ भएको छ भने सबैभन्दा कम बाँकेमा ४० प्रतिशत रोपाइँ भएको छ । कर्णाली प्रदेशको जुम्लामा ९९ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ भने सबैभन्दा कम रोपाइँ भएको जिल्ला दैलेख हो ।

त्यहाँ ६० प्रतिशत रोपाइँ भएको छ । सुदूरपश्चिम प्रदेशको दार्चुला र बझाङमा सबैभन्दा बढी ९७ प्रतिशत रोपाइँ भएको छ भने सबैभन्दा कम आछाम जिल्लामा ८८ प्रतिशत रोपाइँ भएको कृषि विभागले जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार ०९:०८