सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बीमा गराएका बिरामीको चाप

स्वास्थ्य बीमा सेवा लिने बिरामीको सङ्ख्या बढेपछि अस्पताललाई विरामीको व्यवस्थापनमा मुस्किल पर्न थालेको छ ।

फाइल तस्वीर

सरकारले निजी अस्पताल तथा मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेपछि स्वास्थ्य बीमा गराएका बिरामीको सङ्ख्या सरकारी अस्पतालमा भने एक्कासी बढेको छ ।

नेपालगन्ज मेडिकल कलेजमा बीमा कार्यक्रम बन्द गरिएपछि पश्चिम नेपालको सबैभन्दा ठूलो रेफरल भेरी अस्पताल नेपालगन्जमा स्वास्थ्य बीमाअन्तर्गको उपचार गराउने बिरामीको सङ्ख्या अहिले तीन गुणाले बढेको अस्पतालले जनाएको छ ।

यही साउन १ गतेदेखि निजी अस्पताल तथा मेडिकल कलेजमा बीमा कार्यक्रम सरकारले बन्द गरेको थियो । सरकारले निजी तथा मेडिकल कलेजमा बीमा कार्यक्रम बन्द गरेपछि भेरी अस्पतालमा बीमाअन्तर्गतको उपचार गराउने तीन गुणा बढी आउन थालेको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.बद्री चापागाईंले बताए ।

असार महिनाको अन्तिम सातासम्म बीमा सेवा लिन अस्पताल आउनेको सङ्ख्या ९० को हाराहारीमा हुने गरेकोमा साउनको पहिलो सातादेखि यो सङ्ख्या बढेर ३०० देखि ४०० सम्म पुगेको डा.बद्री चापागाईंको भनाइ छ । स्वास्थ्य बीमा सेवा लिने बिरामीको सङ्ख्या बढेपछि अस्पताललाई विरामीको व्यवस्थापनमा मुस्किल पर्न थालेको छ ।

अस्पतालमा जनशक्तिको अभावले सेवा दिन हम्मेहम्मे परेको उनले बताए । सरकारले अग्रिम जानकारी नगराएर एक्कासी निजीमा बीमा उपचार बन्द गरेपछि समस्या भएको हो । बिरामीको चापसँगै अस्पतालमा जनशक्तिको अभाव देखिएको छ । उपचार गर्न आएका बिरामीले घण्टौँ लाइन लागे र उभिनुपर्ने समस्या देखिएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार ०८:५६