सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्यमा समृद्धि

कोभिडपछि नागरिकको विश्वास जित्दै ‘भेरी अस्पताल’

भेरी अस्पतालले मेडिसिन, सर्जरी, बाल उपचार, प्रसूति, नाक, कान, घाँटी, छाला, हड्डी, दाँत, मानसिकसहित न्यूरो उपचार सेवा दिँदै आएको छ ।

फाइल तस्वीर

विसं.१९४७ सालमा राजधानीको वीर अस्पतालसँगै स्थापना भएको भेरी अस्पताल, नेपालगन्जले बिहीबार स्थापनाको १३२ औं स्थापना दिवस मनाइरहँदा पश्चिम नेपालकै रिफरल अस्पतालको रुपमा विकास गर्न सफल भएको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा आमनागरिकको विश्वास जित्न सफल भएको अस्पतालमा सेवा लिन आउने बिरामीको सङ्ख्या बढ्दो क्रममा छ । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.बद्री चापागाईंका अनुसार कोभिड उपचारमा महत्वपूर्ण सेवा पश्चात बिरामीले भेरी अस्पतालमाथि विश्वास गरेका हुन् ।

‘१५० शय्या स्वीकृत भएको भए पनि कोभिड समयमा भेरीमा एकै दिनमा ३०० भन्दा बढी बिरामीको भर्ना गरेर उपचार गरिएको थियो । हाल दैनिक ५०० बिरामी उपचारका लागि अस्पतालमा पुग्ने गर्नुभएको छ,’ अस्पतालका प्रमुख डा.चापागाईले भने, ‘कोभिड उपचारपछि अस्पतालप्रति आम नागरिकको विश्वास बढेको देखिन्छ ।’

यसअघि दैनिक ३०० जना बिरामी उपचार गर्न आउने गरेकोमा पछिल्लो समय निजी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम रोकिएको र अस्पतालमा सेवा विस्तारपछि इमर्जेन्सीमा रात्रिकालीन समयमा बिरामीको चाप बढेको छ । अस्पतालले मेडिसिन, सर्जरी, बाल उपचार, प्रसूति, नाक, कान, घाँटी, छाला, हड्डी, दाँत, मानसिकसहित न्यूरो उपचार सेवा दिँदै आएको छ ।

भेरी अस्पतालले जनशक्ति अभाव भए पनि आमनागरिकलाई सेवा प्रदान गर्दै आएको अस्पताल विकास समितिले जनाएको छ । अस्पतालमा विशेषज्ञ चिकित्सकको अधिकांश दरबन्दी रिक्त छन् । दरबन्दी पदपूर्तिको क्रममा रहेको अस्पतालका प्रमुख डा.चापागाईले बताए । अस्पतालमा हाल चार वटा डाइलासिस मेसिन रहेकोमा एउटा बिग्रेको छ ।

तीन वटा मेसिनबाट दैनिक ९ जनाले सातै दिन डाइलासिस सेवा पाइरहेका छन् । साउनदेखि थप ६ वटा मेसिन थप हुँदैछन् । यस्तै यहाँ सञ्चालनमा रहेको सिटिस्क्यान मेसिन बिग्रन थालेपछि नयाँ मेसिन ल्याउन लागिएको छ । आगामी मङ्सिरसम्म थ्री टेस्लाको एमआरआई मेसिन जडान गर्ने तयारी भइरहेको छ ।

‘हाल १५० शैय्याको अस्पताल रहेकोमा ३०० शैय्याको नयाँ ओपीडी भवन कात्तिकसम्म निर्माण सम्पन्न भएर हस्तान्तरण हुने क्रममा छ,’ अस्पताल प्रमुख डा.चापागाईंले भने, ‘नयाँ भवन तयार भएपछि अस्पतालको सेवा सुविधा विस्तारमा थप सहजता हुनेछ ।’ अस्पतालमा आम नागरिकको मन जित्नु सकारात्मक भएको डा.चापागाईंको भनाइ छ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार ०८:०१