सूचनाको शक्ति - The Power Of Information

        

पशु अधिकारका कुरा

नेपालगन्जका ‘सडकछाप’ कुकुरको अमेरिका यात्रा (भिडियोसहित)

अन्ततः नेपालगन्जको सडकमा भौतारिइरहने, कसैले खान देला कि भनेर दोकान ढुक्ने, फोहोरको डंगुरमा लतपतिने कोकोले अमेरिकाको क्यालिफोर्नियामा रहिस जिन्दगी बाच्ने सौभाग्य पाई ।

कुकुर साँच्चै भैरवको वाहन हो या होइन, थाहा छैन तर मानिसको भने पक्का हो भन्दा फरक नपर्ला । सम्भवतः वाहन मात्रै होइन, बहाना पनि हो कुकुर, मित्रताको, प्रेमको । महाभारतकालीन समयमा कुकुर पनि पाण्डवहरूसँगै स्वर्ग जाने बाटोमा सँगसँगै गएको कहानी त हामी सबैले सुनिआएकै हो । तर, आज म तपाईँहरूलाई स्वर्ग त होइन, अमेरिकासम्म पुगेको नेपालको सडके कुकुरको कहानी सुनाउँदैछु ।

महाभारतको अन्त्यमा पाँच पाण्डवलाई पछ्याउँदै एउटा कुकुर हिमालय पर्वतसम्म पुग्छ । सानैदेखि बुबाको मुखबाट महाभारतको कुकुरबारे सुन्दै आएकाले होला, मलाई कुकुरसँग बाल्यकालदेखि नै लगाव महसुस हुन्छ । स्वर्ग जाने बाटोमा पाण्डवका चार भाइ र द्रौपदी मर्छन् तर युधिष्ठिरको पछि लाग्दै गएको कुकुरले भने स्वर्गको प्रवेशद्वारसम्मै युधिष्ठिरको साथ छोड्दैन । युधिष्ठिरलाई लिन विमान आउँछ तर कुकुर स्वर्ग लैजान नमिल्ने हुन्छ ।

यात्राभरि साथ दिएको कुकुरलाई कसरी छोडेर जाने ? युधिष्ठिरको मन मान्दैन । युधिष्ठिरले अनुनयविनय गरेपछि अन्ततः उक्त एकलास यात्रामा साथ दिने कुकुरलाई पनि विमान चढाएर स्वर्ग लगिन्छ । सानो बेला बुबाको कथावाचन सुन्दा फिलिम नै हेरेजस्तो लाग्थ्यो । तर, यसपटक हामीले पनि हाम्री प्यारी ‘कोको’लाई विमान चढायौँ, तर अमेरिकाको । कोको, अब त आप्रवासी भएकी छे । माइती छोडेर पराइ घर पुगेजस्तै भएकी छे ऊ ।

आप्रवासी भएकी कोको खास हामीले उद्धार गरेर ल्याएका हौँ । मलाई अझै पनि याद छ, २०१८ को मार्चमा कोको उद्धार गर्ने समयमा म एक साप्ताहिक धार्मिक कार्यक्रमका लागि सौराह गएको थिएँ । त्यसदिन फोन उठाउन नमिल्ने गरी कार्यक्रममा सहभागी भएको थिएँ । कोठामा आएर हेर्दा त एक दर्जन मिसकल आएका रहेछन् । जसमा आधा दर्जनजति मेरी श्रीमतीका थिए भने आधा दर्जन साथी कपिल काफ्लेका । दुवैलाई ‘कल ब्याक’ गरेँ ।

नेपालगन्ज बीपी चोकमा एउटी सुत्केरी कुकुर बच्चासहित घाइते भएर अलपत्र अवस्थामा भएको कुरा सामाजिक सञ्जालमा आएको रहेछ । खोज्दै जाँदा थाहा भयो, इवा नामकी विदेशी कुकुरप्रेमीले ‘फोस्टर होम’ खोजिराखेकी रहिछन् । तर, समाचार आएको थाहा पाउनेबित्तिकै मेरी श्रीमतीले दिउँसो नै चार बच्चासहितको कुकुर ‘कोको’ घर ल्याइसकेकी रहिछिन् । एक हप्तापछि घर आउँदा घरभरि भर्खर आँखा उघ्रेका कुकुरका बच्चाहरू नाचिरहेका थिए ।

छोराको खुसीको सीमा थिएन । सबै कुकुरको बच्चा घरभित्र ल्याएर खेलाउने उसको नियमित दैनिकी भएको थियो । दुई छाउरा छिमेकीहरूले लिएर गए । बाँकी दुई छाउरी कसैले लगेनन् । प्रायःजसो पोथी कुकुर कमैले रुचाउँछन् । त्यसैले कोकोसहित उनीहरूलाई हामीले नै हुर्कायौँ । खोप लगायौँ । नियमित सरसफाइ गर्यौँ । तर, एक दिनको कुरा हो । म अफिसबाट फर्किंदा देखेँ, कोकोकी छोरी जोजो नमज्जाले बिरामी परिछ ।

एनिमल नेपालका भेट डाक्टर अतिस यादवलाई तत्कालै बोलाएर हामीले जचायौँ । उनले औषधि लेखिदिए । म औषधि लिन हतारहतार एग्रोभेट जान खोज्दै थिएँ । तर, जोजो कुदेर घरबाहिर फुत्त गई । आँगनमा फनफनी घुमी । अगाडि नालीमा हाम फाली । त्यहाँबाट उठेर घर पछाडि हुँदै दक्षिणतिर गई । बिरामी छाउरी किन यसरी रन्थनिँदै भागेकी होली ? हामी छक्क पर्यौँ । यतिञ्जेलमा झमक्क साँझ परिसकेको थियो ।

त्यही पनि बाइक लिएर खोज्न हिँडेँ, तर अहँ ! जोजोलाई कतै भेटिएन । रातको १० बजिसक्दा पनि जोजो घर आइन । बिहान त कसो नआऊली र भन्दै मैले श्रीमती र छोरालाई सम्झाएँ । भोलिपल्ट बिहान । जोजो भेटिई । तर, मरेको अवस्थामा । घरमा काम गर्ने मिस्त्रीले जोजो झाडीमा मरेको फेला पारेछन् र घरमा खबर गरेका रहेछन् । म अफिसबाट आउँदा जोजोको लास घरअगाडि लडिरहेको थियो ।

मेरी श्रीमती र छोराको रुवाबासी चलिरहेको थियो । पहिलो पटक मैले जोजोको समाधि आफ्नै घरको बगैँचामा बनाएँ । रामनामी ओढाएँ । अबिर टीका लगाइदिएँ । केही नुन हालेर पुरिदिएँ । माथिबाट धुपकाँटी बालिदिएँ । अनि ‘महाभारतको कुकुरजस्तै तिम्रो पनि स्वर्गबास होस्’ भन्दै उठेँ । हामीलाई थाहा थिएन, स्वर्गको ढोका यति धेरै खुल्ला भएको रहेछ कि दिदी जोजो मरेको केही दिनमै उसकी बहिनी जेनी पनि मरी । जेनीको पनि हामीले समाधि बनायौँ ।

अब घरमा कोको एक्लै भएकी थिई । दुवै बच्चा मरेको पीडा सहन नसकेर कोको पनि बिरामी पर्न थालेकी थिई । चिकित्सकका अनुसार कोकोलाई डिप्रेसन देखियो । अधिकांशलाई लाग्छ, मानिसहरू मात्रै डिप्रेसनको सिकार हुन्छन् तर होइन । पशुहरूमा पनि डिप्रेसन देखिन्छ । होइन भने कोको केही नखाने, खालि झोक्राउने हुँदैन्थी । त्यसबेला मेरो बुबा बिरामी हुनुभएकाले मेरो काठमाडौं–नेपालगन्ज हप्तैपिच्छे आउजाउ भइरहेको थियो ।

त्यहीबेला श्रीमतीसँग कुरा कोकोको उपचार काठमाडौंमा गर्ने हाम्रो सल्लाह भयो । मेरी श्रीमतीले बुद्ध एयरको प्लेनमार्फत कोकोलाई काठमाडौं पठाइन् । म बुबाको उपचारको लागि काठमाडौंस्थित नर्भिक अस्पतालमा थिएँ । अस्पतालको १०० मिटर अगाडि पशु अस्पतालमामा रिता थापाले कोकोलाई भर्ना गर्नुभएछ । म कोटेश्वरबाट नर्भिक धाइरहने । कुकुरले १ किलोमिटर वरिपरिको गन्ध थाहा पाउँछ भन्छन् ।

आफ्नो मालिक यतै नजिक भएको गन्ध उसले थाहा पाएर हो या के हो, कोको त एक दिन अस्पताल गेट नाघेर स्वाठ्ठै भागिछ । त्यसपछि फेरि सुरु भयो, रुवावासी । रिता थापा, एनिमल नेपालको तत्कालीन कार्यकारी उत्तम काफ्ले, मित्र कपिल काफ्लेलगायत सबैजना कोको खोज्न लाग्यौँ । ट्राफिकका सीसीटीभी क्यामेरा चेक गर्यौँ । तर अहँ ! कोको भेटिएन । सामाजिक सञ्जालमा कुकुर भेट्नेलाई २५० डलर दिने भनी ईवाले पेज बुस्टसमेत गरिन् ।

सारा खोजियो तर कतै कोको भेटिएन । त्यसपछि हामीले आश मार्यौँ । तर आश मारेको पाँच दिनपछि कोटेश्वर महादेव मन्दिरनेर कोको अकस्मात् फेला परी । मलाई पछ्याउँदै कोको कोटेश्वर पुगेकी रहिछे । त्यसपछि विशालनगरमा पशु अस्पतालमा दिनको १ हजार तिर्ने गरी हामीले कोकोलाई पुनः भर्ना गर्यौँ । म भेट्न गएँ । उसले मालिक चिनेर आँसु झारी । केहीबेर कुरा गरेर मैले कोकोलाई केही खाने कुरा दिएर बाटो लागेँ ।

मालिक पछ्याउने कोकोको समपर्णको भाव यति निश्चिल थियो कि एक अमेरिकी कुकुरप्रेमीले उसको कथा थाहा पाएर कोकोलाई अमेरिका लग्ने भइन् । अन्ततः नेपालगन्जको सडकमा भौतारिइरहने, कसैले खान देला कि भनेर दोकान ढुक्ने, फोहोरको डंगुरमा लतपतिने कोकोले अमेरिकाको क्यालिफोर्नियामा रहिस जिन्दगी बाच्ने सौभाग्य पाई । जहाँसम्म मलाई थाहा छ, नेपालको सडकको कुकुरहरू एकदमै पुराना ओरिजिनल ब्रीडका हुन् । यसमा कसैको क्रस छैन ।

यिनिहरूमा रोग कम लाग्ने र जस्तै परिस्थितिमा पनि बाँच्ने शक्ति हुन्छ । जाडो गर्मी अनुकूल प्रतिकूल जस्तो अवस्थामा पनि उनीहरू बाँच्ने गर्छन् । कैयौँ विदेशीस्वदेशी पनि कुकुर प्रेमी छन् । उनीहरूलाई यसको महत्व बुझाउन सके सामुदायिक कुकुरहरूको सजिलो व्यवस्थापन हुने थियो । अहिले सामुदायिक कुकुर व्यवस्थापन नेपालको सबै नगरपालिकाहरूलाई एउटा चुनौती बनेको छ । हालै काठमाडौं महानगर–३० का वडाध्यक्षले २५०० कुकुर दवाई खुवाएर मार्ने अभिव्यक्ति दिएपछि पशुअधिकारकर्मी अदालतसम्म पुगे ।

अघिल्लो वर्ष सुर्खेतमा पनि छिमेकीको कुखुरा खाएको निहुँमा घरधनीले पुलमा झुन्डाएर मारेपछि स्थानीय र बाहिर दुवैतिरबाट दवाब आएको थियो । पछि प्रहरीसम्म नै कुरा पुग्यो । काठमाडौं महानगरका मेयर बालेन शाहसमेत बोले । कुकुर टेरोटेरियल भएका कारण एउटा मार्ने बित्तिकै नजिकका कुकुर आउँछन् । यसको समाधान खोप र बन्धाकरण नै हो । अहिले काठमाडौं बाहेक लुम्बिनी र नेपालगन्जमा प्रत्येक वर्ष बन्ध्याकरण गर्ने गरिन्छ ।

भिडियो हेर्नुहोस् :

 

(यो आलेख  तथा भिडियो शिलापत्र डटकमबाट साभार गरिएको हो ।)

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलवार १४:५८