गजल – एक
गुलाफ तोड्यौ, कमल पाएर पो रैछ
रातदिन उसैतिर धाएर पो रैछ ।
मुल हेर्नु कुल हेर्नु भन्थे बुढापाका
आँखा बन्द गरी बाचा खाएर पो रैछ ।
हारजीत निश्चय हुन्छ भन्थे खेलमा
झुटो खेल नै प्रीतिको लाएर पो रैछ ।
पैरो गयो मनैमा, झरी परेछ क्यारे
बेमौसमको बादल छाएर पो रैछ ।
मन दिए मुटु दिए आत्मा उसैलाई
कुरै नबुझी ताली बजाएर पो रैछ ।
गजल – दुई
बाहाना हजार सुनाउ, सुनिदिन्छु म नि
तिम्ले झैं जाली माया, बुनिदिन्छु म नि ।
को भन्दा को कम छ र यो दुनियाँमा
दिलभित्रै तिमीलाई, थुनिदिन्छु म नि ।
गुलाफ भने भन तिमी, चन्द्रमा मेरी हौं
गाँसेर फुलको माला, उनिदिन्छु म नि ।
जुनको बाटो जान्थे, जुनेली रात भए
मिलनका सयौं बाटो, चुनिदिन्छु म नि ।
सुर न तालको भाकामा, गुनगुनाए पनि
सारा दुनियाँ भुलेर झुमिदिन्छु म नि ।
गजल – तीन
तिमीसँग मनका बातहरु गरुँ गरुँ लाग्छ
कोट्याउँदै तिम्रो नजिक सरुँ सरुँ लाग्छ ।
टोलाउँदै एकोहोरो हेर्दछु जहिले जहिले
अङ्गालोभरी तिमीलाई भरुँ भरुँ लाग्छ ।
जादुमय नजरले जहिले तीर हान्यौं र त
मायाजालको भुमरीमा नै परुँ परुँ लाग्छ ।
कल्पनामा डुबुल्की मार्छु जहिले जहिले
सपनाको संसार चिरेर झरुँ झरुँ लाग्छ ।
हुने गर्छौं सामुन्नेमा तिमी जहिले जहिले
पीडा बिर्सी मन्द मुस्कान छरुँ छरुँ लाग्छ ।
गोमा सापकोटा ‘स्मृति’ ।