सूचनाको शक्ति - The Power Of Information

        

सरकारी विद्यालयमा बेथिति

नेपालगन्ज उपमहानगरभित्रकै सामुदायिक विद्यालय अस्तव्यस्त

नेपालगन्ज नगरभित्र सञ्चालित महेन्द्र माध्यामिक विद्यालय र मङ्गलप्रसाद माध्यमिक विद्यालयमा आकस्मिक निरीक्षणमा पुगेको निरीक्षण टोलीले त्यहाँको अस्तब्यस्त अवस्था देख्यो ।

सामुदायिक विद्यालयको आकस्मिक निरीक्षणका क्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापा ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापा सोमबार विहान १० बजेतिर नगरभित्र सञ्चालित महेन्द्र माध्यामिक विद्यालयमा आकस्मिक निरीक्षणमा पुगे । निरीक्षण टोलीले हाजिर रजिष्टर हेर्दा आठ जनामात्रै शिक्षक उपस्थित थिए ।

सो विद्यालयमा १८ जना शिक्षक कार्यरत रहेकोमा आधाभन्दा बढी शिक्षक अनुपस्थित पाइएको शिक्षा शाखा प्रमुख थापाले जानकारी दिए । नगर प्रमुख विष्ट र शिक्षा शाखा प्रमुखलगत्तै नगरभित्रकै अर्को सामुदायिक विद्यालय मङ्गलप्रसाद माध्यमिक विद्यालयमा पुग्दा महेन्द्र माविको भन्दा अस्तब्यस्त अवस्था देख्यो ।

सो विद्यालयमा सरकारी कोषबाट तलब पाउने २१ सहित ५३ जना शिक्षक कार्यरत रहेकोमा नगर प्रमुख र शिक्षा शाखा प्रमुख पुग्दा १०ः३० बजेसम्म चार जना शिक्षकको मात्रै उपस्थिति थियो । निरीक्षण टोलीलाई कतिपय शिक्षकले भने समयमै उपस्थित भए पनि हाजिर गर्न छुटेको प्रष्टिकरण दिए ।

‘हामी आकस्मिक निरीक्षणमा पुग्दा विभिन्न विद्यालयमा शिक्षकहरु समयमै विद्यालयमा उपस्थित नभएको पाइएको छ,’ नगर प्रमुख विष्टले भने, ‘आफुखुशी बिदामा बसेको, हाजिर नगरेको लगायतका कमजोरी भेटिएकाले शिक्षा शाखालाई कारवाहीका लागि तत्कालै निर्देशन दिइएको छ ।’

मंगलप्रसाद मावि र महेन्द्र माविको तुलनामा राम्रो देखिएपछि नेपालगन्ज कन्या माध्यमिक विद्यालयमा निरीक्षण टोलीले धन्यवाद दिएर फर्केको छ । कन्या माविमा १३ जना शिक्षक कार्यरत रहेकोमा एकजना स्वीकृत विदामा बसेको र अन्य सबै उपस्थित भएको पाइएको, नियमित पठनपाठन भएको पाइएको शिक्षा शाखा प्रमुख थापाले जानकारी दिए ।

शिक्षक कर्मचारी समयमै उपस्थित भएको, विद्यालयको चौरमा सुनसान देखिएको, शिक्षकले नियमित कक्षा सञ्चालन गरेको पाइएपछि कन्या माविलाई निरीक्षण टोली धन्यवाद दिएर फर्केको हो । आकस्मिक निरीक्षणपछि शिक्षा शाखाले विद्यालयमा अनुपस्थित शिक्षक तथा कर्मचारीलाई आवश्यक कारवाही प्रक्रिया अघि बढाएको छ ।

शिक्षा शाखा प्रमुख थापाले नगर प्रमुखको निर्देशन अनुसार अनुपस्थित शिक्षकलाई आवश्यक कारवाहीका लागि तत्कालै स्पष्टीकरण सोध्ने जानकारी दिए । सामुदायिक विद्यालयको सुधारका लागि यसखालका अनूगमन तथा निरीक्षण नियमित हुने प्रमुख विष्टले बताए ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलवार ०९:१६