करिब साढे दुई दशकदेखि कार्य समितिविहीन भएको नेपालगन्जस्थित यस क्षेत्रकै पुरानो महेन्द्र पुस्तकालय पुनर्जीवित हुन थालेको छ । करिब २५ वर्षपछि गत चैत २९ गते गठन गरिएको पुस्तकालयको तदर्थ समितिले काम थालनी गरेपछि महेन्द्र पुस्तकालयमा अहिले चहलपहल सुरु भएको छ ।
लामो समय कार्यसमितिविहीन भएपछि पुस्तकालयको हरहिसाब दुरुस्त राख्न, पुस्तकालयको सदस्यता सङ्ख्या बढाउन, पुस्तकालयको बाँकी बक्यौता असुल गर्ने, विधान संशोधन गर्नका लागि तदर्थ समिति गठन गरिएको पुस्तकालय व्यवस्थापन तदर्थ समितिका अध्यक्ष बलराम यादवले बताए ।
उनका अनुसार, समितिले असार मसान्तभित्र नयाँ कार्यसमिति गठन गर्ने जिम्मेवारी पाए पनि विविध कारणले तोकिएका समयमा आफ्नो काम गर्न नसकेपछि असार ३२ गते तदर्थ समितिलाई थप दुई महिनाको समय दिइएको छ । यही भदौ महिनाभित्र पुस्तकालयको निर्वाचन गराउन तदर्थ समिति सक्षम रहेको तदर्थ समितिका अध्यक्ष यादवले बताए ।
पुस्तकालयको ७५ वर्ष पुगेका अवसरमा भदौ ३ गते हीरक उत्सव मनाउने र त्यसलगत्तै निर्वाचन गर्ने तयारीका साथ काम भइरहेको उनको भनाइ छ । हीरक उत्सवलाई व्यवस्थित रूपमा भव्य बनाउन विभिन्न उपसमिति बनाएर काम अघि बढाइएको छ । हीरक उत्सवका लागि आर्थिक समिति, सभा सञ्चालन समिति, प्रचारप्रसार समिति निर्माण गरिएको छ ।
पुस्तकालयले हीरक उत्सवका अवसरमा महेन्द्र पुस्तकालयलाई योगदान दिएका, साहित्यकार, समाजसेवी लगायतलाई सम्मान गर्ने कार्यक्रम रहेको तदर्थ समितिका सचिव सुदीप भट्टराईले जानकारी दिए । उनका अनुसार, उत्सवका अवसरमा नेपालगन्जमा विद्यालयस्तरीय निबन्ध प्रतियोगिता पनि सञ्चालन गरिने भएको छ ।
नेपालगन्जभित्र रहेका विद्यालयमा महेन्द्र पुस्तकालयको प्रचारप्रसार गर्ने उद्देश्यले निबन्ध प्रतियोगिता आयोजना गरिने लागिएको हो । त्यसैगरी उत्सवका अवसरमा नेपालभरिका कविलाई आमन्त्रण गरी बहुभाषी कवि गोष्ठी आयोजना गरिने पनि पुस्तकालय व्यवस्थापन तदर्थ समितिका अध्यक्ष यादवले जानकारी दिए ।
सत्यपाटी । बाँके ।