सूचनाको शक्ति - The Power Of Information

        

विचार

सत्ता तिर्खाले काकाकुल एमाले

राजनीति अब लाजनीतिमा रुपान्तरण भएको हो या कलाकारिताको रंगमञ्च ? मेसो पाउन सकिएको छैन ।

श्रीलंकालाई कुनै दिन ‘हिन्द महासागरको मोती’ भनिन्थ्यो । तर आज फगत बालुवामा परिणत भएको छ । सत्ताको मझेरीमा भत्ताको ओछ्यान लगाएर निदाएका द्रव्यपिचास शासकहरुले देशलाई जतिबेला पनि घाटमा उतार्न सक्छन् भन्ने कुराको एउटा उदाहरण हो यो । सत्ता भोगको लालचले मान्छेको चेतनास्तरलाई अन्धो बनाउँछ ।

छँदाखाँदाको नैतिकता र इमानलाई भस्मैसँग डढाउँछ । भुइँबाट सर्लक्कै इष्र्या, लोभ, अहंकार र पाखण्डको चुचुरोमै पुर्याउँछ । तर दुर्भाग्य, त्यहाँ टिकिरहने र आफ्नो हुकुम फर्मान गरिरहने अवसर क्षणिक मात्रै हो भन्ने त्यो विलाषी चेतनाले अड्कलसम्म काट्ने ल्याकत राख्दैनन् । हामीले ठूलाठूला अभिलाषा राखेर सत्ताको भर्याङ चढाएका कयौं पात्रहरु यसरी नै बदनाम भएका छन् ।

जगतमा उचाइको श्रेणी त हुन्छ, हामीले देखे भोगेकै छौँ । यद्यपि, पतनको सिँढी भने हुँदैन । उचाइ चुम्न प्रत्येक खुड्किलाअघिका अवरोधहरुसँग जुध्नुपर्छ । तर, पतन हुनमात्रै एउटा छेस्कोले कोट्याइदिए पुग्छ । नेपालका मै हुँ भन्ने कयौं राजनीतिज्ञहरु यसैगरी हाम्रै आँखा अगाडि पतन भएका छन् । यसको मुलभूत कारण भनेकै अदुदर्शिता, जनताप्रतिको गद्दारी र सत्तालिप्साको गहिरो भोक नै हो ।

जनताको भलो हुने मुद्दामा सधैं विभाजित बन्ने नेपालका राजनीतिक पार्टीहरु देशको कुभलो हुने मुद्दामा मध्यरातमा भए पनि एक भएका उदाहरणहरु छन् । ६ महिनामात्रै सत्ता बाहिर बस्नुपर्याे भने यिनीहरुभित्र मस्तै गहिरो राष्ट्रवाद पलाउँछ । रुपमा यिनीहरुले नचाहेर होइन, नदिएर पो गरेका रहेनछन् भन्ने आसयका साथ लोकलाई भ्रमित तुल्याउँछन् । सारमा उनीहरु सत्तामा रहँदाको एउटा मात्रै दिन सम्झने हो भने पनि वाकवाकी लाग्छ ।

आफूलाई श्रेय नआउने भएपछि अर्को दलले जतिसुकै गतिलो काम गर्न खोजे पनि अवरोध उत्पन्न गर्ने, त्यसलाई बांगोटिंगो बनाएर पूर्णतः गलत सावित गराउन पछि नपर्ने कम्युनिष्ट नेताहरुको गलत सोचले हानी पुर्याउने भनेको आफैँलाई हो । यसमा पनि अन्य दलको तुलनामा नेकपा एमाले नामधारी समूह अग्रपंक्तिमै छ । उसो त आफ्नै धुरीमा अगुल्टो झोसेर सत्ताबाट प्रतिपक्षी कोर्टमा उछिट्टिएको एमाले यतिबेला सत्ता तिर्खाले काकाकुल बनेको छ ।

दशकौं अघिदेखि विभिन्न स्वरुपमा सर्वोच्च पदमा बसेर देश खोक्रो बनाउनेहरु छोटो समय सत्ता बाहिर बस्नुपर्दा पानीबिनाको माछाजस्तो छट्पटाइरहेका छन् । देशभित्रै बसेर ठूल्ठूला राष्ट्रघात गर्नेहरु अहिले प्रचण्डको भारत भ्रमणलाई लिएर बेतुकका भ्रम फैलाउँदै छन् । उनीहरुको छट्पटी हेर्दा यस्तो लाग्छ प्रचण्डले उतिबेला केपी ओलीको कमाण्डमा भारतलाई सुम्पिएको ‘महाकाली सन्धि’भन्दा भयंकर राष्ट्रघात गरेका छन् ।

सार्वजनिक मञ्चदेखि सामाजिक सञ्जालसम्म कीर्ते अभिव्यक्ति दिएर प्रचण्डको बदनाम गर्न लागिपरेका छन् । उसले विगतमा प्रचण्डको दुबई भ्रमणबारे पनि भिडियोबाट फोटो स्क्रिनसर्ट गरेर विरोध गर्न खोज्दा उल्टो उसैलाई आकाशतिर फर्किएर थुकेजस्तै सावित भएको थियो । त्यसै पनि नेपालका राजनीतिक दलहरुमा सबैभन्दा तुच्छ, घृणित तथा नैतिकहीन र समवेदनाहीन कार्यकर्ताको रुपमा ओली गुटले सामाजिक सञ्जालमा रेकर्ड नै राखेका छन् ।

कार्यकर्तामात्रै होइन, केन्द्रस्तरका नेता भनिनेहरुमा पनि यो अस्वाभाविक काइदाहरु बेलाबेला छरपस्ट हुने गर्छन् । बाँकी त मुहान सफा छैन भने, सुनको धारा जोडे पनि आउने भनेको लेदो मैलो नै हो । सम्भवतः राजनीति भनेको विचार, सिद्धान्त र इमानदारिताले देश र जनताको सेवाका लागि गरिन्छ । तर यहाँ हाँसो, आँसु अनि रोदनसँग परिभाषित गरिन्छ । राजनीति अब लाजनीतिमा रुपान्तरण भएको हो या कलाकारिताको रंगमञ्च ? मेसो पाउन सकिएको छैन ।

मदन भण्डारीकी श्रीमतीको साडीमा रङ छेपेर होस् कि ‘महाप्रसाद अधिकारीलाई एम अधिकारी’ बनाएर होस्, राजनीति चलिरहेकै छ । राजनीतिमा व्यक्तिले निर्वाह गरेको भूमिकाको बलमा जीवन प्रफुल्लित हुनुपर्ने, तर राज्यको कोषमा लामो समय एकाधिकार बनाएकाहरु सबैभन्दा दुःखित बनेको अभिनय गरिरहेका छन् । बुख्याँचाहरुभित्रको कुरूप पाटो जनताले बुझिरहेका छन् । गफकारिताले जनता झुक्काएको भरमा हिरो बनिरहनेहरु अब लोपोन्मुख हुँदै जाने अवस्था आएपछि कोकोहालो मच्चाउन थालेका छन् ।

अपराध कर्मबाट जम्मा गरेको अकूत दौलतले कुत्कुत्याएर छट्पटी रहेका जनघातीहरुको विस्तारै जनमूल्यांकन हुँदै गइरहेको छ । विभिन्न बहानामा रातारात राज्यकोषबाट करोडौं रकम लिएर आफ्ना कुखुराजस्ता कार्यकर्ता पाल्नेहरुको खोरमा विस्तारै मासिने रोग लाग्दै गएको छ । हिजो सत्तामा हुँदा ढुकुटी रित्याएर मस्ती गर्ने बानी परेको एमालेलाई अहिले साह्रै सास्ती भएको छ । भर्खरै, भारत भ्रमणमा गएर फर्किएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाल–भारतबीच भएको सन् १९५० को असमान सन्धि पुनरावलोकन गर्नुपर्ने माग राखे ।

तर मध्यराति बालुवाटारमै सामन्त गोयललाई बोलाएर संसद्को घाँटी निमोठ्ने एमालेलाई यो अप्रिय लाग्यो । २०५२ सालमा वृद्धाभत्ताको कार्यक्रम ल्याउने मुख्य नेता मनमोहन अधिकारी, माधवकुमार नेपाल र भरतमोहन अधिकारी थिए । ओलीलगायत नेताहरू त्यतिबेला वृद्धाभत्ताका विरोधी थिए । तर एमालेका नेताहरू २७ वर्षसम्म पनि त्यही वृद्धाभत्ताको बास्केटमा भोट मागिरहेका छन् । त्योबाहेक उनीहरूसँग भोट माग्ने दोस्रो एजेण्डासमेत देखिँदैन ।

यदि, माओवादीले झैं कृषि ऋण मिनाहा, दर्जनौं सामाजिक सुरक्षाका कार्यक्रम, राष्ट्रिय स्वाधीनता, असमान सन्धि सम्झौता खारेजी, पूर्वाधार विकास, सुशासन, शिक्षा–स्वास्थ्यमा विकास, लोकतन्त्र, गणतन्त्र, संघीयताको स्थापना, राष्ट्रिय गौरवका आयोजनाजस्ता सयौं जनप्रिय काम उनीहरूले गर्थे भने पृथ्वी नै आफूले रचना गरेको दाबी र प्रचार गर्थे । अन्ततः छुचुन्द्रोलाई ढुकुटीको चाबी थमाएर श्रीलंका हिँड्ने धुमधाम तयारीमा रहेको ओली गुट फेरि नमज्जासँग पच्छारिएको छ ।

‘एम अधिकारी’ उर्फ महाप्रसाद अधिकारीको खोजीमा दिउँसै लालटिन बालेर खोटाङका गल्ली चहार्दै हिँडेको एमालेले कहिलेसम्म यो देशलाई आफ्नो गुलामीको साधन बनाउने हो ? सत्तामा मस्त हुँदासम्म आफ्नो सेरोफेरोमै हराउने र त्यहाँबाट उछिट्टिने बित्तिकै जनताको पेरिफेरी सम्झिने एमालेको प्रवृत्तिलाई आम जनताले जाने बुझेकै छन् । जति नै दम्भको अत्तर छर्किए पनि यसको उचित उपहार आउँदो निर्वाचनमा उसले भोग्नैपर्ने हुन्छ ।

स्मरण रहोस्, एमाले आफ्नै कुबुद्धिका कारण सत्ताबाट गलहत्याइएको थियो । पटक–पटकका खबरदारी र सचेततालाई टेरपुच्छर नलगाउने ओली गुटको दम्भताले नै उसलाई सत्ताच्युत गर्न बल पुगेको सत्य हो । त्यसैले आजपर्यन्त सार्वजनिक भइरहेका आफ्ना कुकर्महरुको बिरालोले छोपेजस्तो ढाकछोप गर्नुको कुनै औचित्य छैन । त्यसै पनि ज्ञान, विज्ञान र सिद्धान्तको मुण्डन गरेर राजनीतिक व्यापारमा लिप्त बनेको खड्गप्रसाद गुटको सत्ता तिर्खा छिट्टै मेटिने छाँटकाँट देखिँदैन ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार ०८:५८