सूचनाको शक्ति - The Power Of Information

        

एउटै रुखमा झुण्डिएरको अवस्थामा मृत भेटिए तीन किशोरी

झापाको कचनकवल गाउँपालिका–५ बेल्लेगाउँमा तीन किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

आइतबार बिहान चिया बगानमा चिया टिप्न जानेहरूले जिङ खोला नजिकै बयरको रुखमा झुण्डिएको अवस्थामा देखेपछि होहल्ला गरेर प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी वसन्त पाठकका अनुसार झुण्डिएर मृत भेटिएकाहरू १६ वर्षीया करिना गणेश, १७ वर्षीया अन्जली गणेश र १६ वर्षीया कल्पना गणेश रहेका छन् ।

मृतक तीनैजना किशोरीहरू पनि स्थानीय चियाबगानका मजदुरहरू हुन् । वडा नम्बर ५ का वडासदस्य कृष्णप्रसाद गणेशका अनुसार स्थानीयले शनिबार दिउँसोसम्म स्थानीय चिया पसलमा किशोरीहरूले नास्ता खाँदै गरेको देखेका थिए ।

त्यसपछि उनीहरू सम्पर्कविहीन बनेका थिए । आफन्तले उनीहरूले बोक्ने मोबाइल नम्बरमा फोन गर्दा फोन गए पनि नउठेपछि रातभर खोजतलास गरेका थिए । घटनाको कारणबारे परिवारका सदस्यहरूसँग पनि सोधपुछ गरेको तर घरायसी समस्या केही नभएको जानकारी गराएको वडासदस्य गणेशले बताए ।

‘यस्तो घटना किन भयो भन्ने कुरा कसैलाई अहिलेसम्म जानकारी भएको छैन, परिवारले पनि अहिलेसम्म पत्तो पाएको छैन,’ उनले भने, ‘कसरी घटना भयो भयो, एउटै रुखमा झुण्डिएका छन्, हामी त अचम्ममा परेका छौं ।’ किशोरीहरूको आत्माहत्या की हत्या भन्ने कुरा खुल्न नसकेको जनाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी पाठकले बताए ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतवार १३:२७