सूचनाको शक्ति - The Power Of Information

        

अब नेपालमै गुड्ने मिनी अस्पताल !

नेपालमा सामान्य खालको स्टेचर र केही उपकरण भएका र मध्यम खालका बिरामीलाई ओसारपसार गर्न सक्ने एम्बुलेन्स चल्छन् । त्यही पनि भौगोलिक अवस्था, सडक जाम सुविधा अभावले बिरामीको बीच बाटोमै मृत्यु हुने अवस्था रहेको छ ।

तर अस्पतालमा मात्र प्राप्त हुने महत्वपूर्ण सेवा भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, अक्सिजन कन्सेन्ट्रेटर, इसिजी मेसिन, अल्ट्रासाउन्ड मेसिन लगायतका उपकरण कुनै एउटा गाडीमा हुन्छ ।

त्यसभित्र एउटा होइन छ–छवटा सुविधायुक्त शय्या र साथमा सिसी क्यामेरा । मिनी अस्पतालका रूपमा रहेका ती सुविधासहितका त्यस्ता गाडी विकसित मुलुकमा प्रयोगमा भइरहेका छन्, तर हाम्रोजस्तो विकासोन्मुख मुलुकमा त्यस्तो सेवा प्राप्त सवारीसाधन सञ्चालन होला रु हामी धेरैलाई विश्वास लाग्न गाह्रै हुन्छ ।

अब भने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले त्यस्ता सवारीसाधनलाई नेपालमा भित्र्याएर अविश्वासलाई विश्वासमा बदलिदिएको छ । एउटा जटिल बिरामीलाई अस्पतालले उपचार गर्ने संविधानसहितको सेवा प्राप्त हुने सवारीसाधन नेपालमा पहिलोपटक भित्रिएको हो ।

अबका विपत्तिमा ती गाडीले नेपालमा पनि सेवा थाल्नेछ र अकालमा हुने मृत्युलाई घटाउन सहयोग गर्नेछ । चिकित्सक नआइपुग्दा पनि टेलिमेडिसिनको रूपमा चिकित्सकलाई जोडेर उक्त गाडीभित्रै बिरामीको उपचार र निगरानी गर्नसमेत सकिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।

उनले उक्त गाडीलाई मिनी अस्पताल वा गुड्ने अस्पतालका रुपमा लिइएको र विपद्मा परेका मानिसको ज्यान बचाउन सहयोगी हुने विश्वास रहेको बताए । उनले यस्तो प्रकारको गाडी नेपालमा पहिलो पटक भित्रिएको दाबी पनि गरे । यस्ता सुविधायुक्त आठ ठूला गाडी र आठ वटा ‘ए क्लास’का एम्बुलेन्स सञ्चालन र व्यवस्थापनको जिम्मा सशस्त्र प्रहरीले पाएको छ ।

सरकारले उक्त गाडी मल्टी डोनर ट्रष्ट फण्ड र विश्व बैंकको व्यवस्थापन सहयोगमा प्राप्त गरेको हो । मुख्यतः उक्त फण्डमा अमेरिकी सहयोग नियोग (युएसएड), बेलायती सहयोग नियोग (एमसिडिओ), क्यानेडियन एड र स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कर्पोरेशनको पैसा परेको छ ।

गृहमन्त्री बालकृष्ण खाणले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई ती गाडीको चाबी हस्तान्तरण गरे । उक्त गाडीहरू हरेक प्रदेशमा एक–एकवटा र केन्द्रमा एकवटा रहनेछ जनाइएको छ । विपत्तिमा परेका र गम्भीर घाइते भएका मानिसलाई अस्पताल ल्याउन नसक्ने अवस्था भएमा, तत्कालै उपचार जरुरी परेमा सोही गाडीमा राखेर उपचार गर्न सकिन्छ ।

गाडीभित्रै ६ जनालाई सुविधायुक्त शय्यामा राखेर उपचार गर्न सकिन्छ भने केही बिरामीलाई अन्य कुर्सीमा समेत राखेर उपचार गर्न सकिने सुविधा छ । प्राकृतिक विपद्को चुनौती सामना गरिरहेको नेपालजस्तो मुलुकका लागि उक्त गाडीको प्रयोगले विपद्मा परेका मानिसको अकाल मृत्युबाट जोगाउने विश्वास गरिएको छ ।

नेपाल प्राकृतिक र अन्य विपद्को ठूलो जोखिममा रहेको तथ्य हामी सबैमा विदितै छ । कठिन भौगोलिक अवस्थाको कारणले भूकम्प, बाढी र पहिरो, डुबान, आगलागीजस्ता विपद् बल्झिरहन्छ । कोभिडजस्ता ठूला महामारीको सम्भावना पनि उत्तिकै छ । सडक, हवाई र निर्माणसम्बन्धी ठूला दुर्घटना भइरहेको छ ।

त्यसैले जनताको जीवनरक्षाका लागि यस्ता गाडी सहयोगी हुन्छ । सरकारसँगको सहमति अनुसार अशोक लेल्याण्डले उक्त गाडी खरिद गरी सरकारलाई बेचेको हो । उक्त गाडीलाई विपद् सामूहिक उद्धार एम्बुलेन्सको नाम दिइएको छ । यसले बिरामी ओसारपसारमात्र गर्दैन, यसमा रहेको उपकरणले गाडीलाई मिनी अस्पताल वा गुड्ने अस्पताल नै बनाएको छ ।

डाक्टर र नर्सले बाटोमै बिरामीको उपचार र हेरचाह गरी बचाउन सक्छन् । जीवन बचाउने आधुनिक उपकरण, महत्वपूर्ण हेरचाह सुविधा यसमा छ । यसमा पोर्टेबल भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, अक्सिजन कन्सेन्ट्रेटर, इसिजी मेसिन, अल्ट्रासाउन्ड मेसिन, सिसीटिभी क्यामेरा छन् ।

उक्त गाडी एउटाको झण्डै रु एक करोड पर्ने बताइएको छ । ठूला घटनामा उद्धार गर्न मद्दत गर्नेछ । गृहमन्त्री खाणले गाडी निरीक्षण गर्दै यसले जुनसुकै विपत्तिमा परेका मानिसको ज्यान जोगाउन महत्वपूर्ण योगदान गर्नै विश्वास व्यक्त गरे । गृहसचिव टेकनारायण पाण्डेले उक्त सुविधायुक्त गाडीले मानवीय जीवनलाई सङ्कटबाट बचाउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।

उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त गाडीलाई गुड्ने अस्पतालकै सङ्ज्ञा दिए । उक्त अवसरमा प्राधिकरणका प्रवक्ता डा.डिजन भट्टराई, सहसचिव अनिता निरौला, सशस्त्र प्रहरी महानिरीक्षक अर्याल, राष्ट्रिय अपाङ्ग कोषका सभापति डेकराज भट्टराईले धारणा राखेका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतवार १०:२३