पछिल्लो समय नेपालमा पुनः कोरोना संक्रमणदर तिब्र रुपमा बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमण दर ५ प्रतिशतभन्दा कम भएमात्र संक्रमणको अवस्थालाई सामान्य मान्ने गरिएको छ ।
विश्व स्वास्थ्य संगठनले ५ प्रतिशतभन्दा माथिको संक्रमण दरलाई असामान्य मानिने गरेको छ । तर नेपालमा असार २७ गतेबाट कोरोना संक्रमणदर ५ प्रतिशतभन्दा माथि पुगेको देखिन्छ । शनिबार ३३५ संक्रमित भेटिँदा करिब ३ हजारको हाराहारीमा पिसिआर परिक्षण हुँदै आएको छ ।
जबकी हालैको कोरोना संक्रमणदर १२ प्रतिशत पुगेको छ । यसरी संक्रमण बढ्दै गएर संक्रमितको संख्या बढ्दै जाँदा परिक्षणको दायरा बढाउनुपर्ने भए पनि हाल नेपालमा दैनिक कोरोना संक्रमणको संकास्पद विरामीको परिक्षण एकदमै कम छ ।
जोखिम बढ्दै जाँदा सरकारसँग प्रयोगशाला परीक्षणको लागि आवश्यक पर्ने किट भने प्रयाप्त मात्रा मौज्दात रहेको पाइएको छ । प्रयाप्त मात्रामा परीक्षण किट हुँदा पनि परिक्षणको दायरा बढ्न सकेको छैन ।
४ लाखभन्दा बढी पीसीआर किट र ९ लाखभन्दा धेरै भिटिएम मौज्दात
हाल देशभर जम्मा पिसिआर रिएजेन्ट ४ लाख ३७ हजार १६८ रहेको छ । आरएनए एक्स्ट्राक्सन किट ५ लाख १९ हजार ५४६ थान रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा अन्तर्गत रहेको आपूर्ति शाखाका बरिष्ठ फार्मेसी अधिकृत बढेबाबु थापाका अनुसार अनुसार भीटीएम ९ लाख ६० हजार ४१७ थान रहेको छ ।
‘प्रदेश र केन्द्र गरि अहिले हामीसँग ४ लाखभन्दा बढि पिसिआर किट, ९ लाखभन्दा धेरै भिटिएमहरु छ,’ थापाले भने । हाल रहेको ९ लाखभन्दा बढि भिटिएमले ५ लाखसम्मको परिक्षण गर्न मिल्नेसमेत उनले बताए ।
चार लाखभन्दा बढि एन्टिजेन किट मौज्दात
यस्तै छिटो परिक्षण गर्नको लागि प्रयोग गरिने एन्टिजेन किट पनि केन्द्र र प्रदेशमा गरेर ४ लाख ४५ हजार २४६ रहेको आपूर्ति शाखा फार्मेसी अधिकृत थापाले बताए । ‘अहिले हामीसँग प्रदेश र केन्द्रमा गरी ४ लाखभन्दा बढि एन्टिजेन किट छ,’ उनले भने ।
प्रयाप्त किट हुँदा पनि किन बढेन परीक्षण
प्रयाप्त मात्रामा परीक्षण किट हुँदा पनि परीक्षण गरिएको छैन । पहिले जस्तो संक्रमितको कन्ट्रयाक ट्रेसिङमा परेकाहरुले परीक्षण नगरेकाले परीक्षणको दायरा नबढेको बताउछन् स्वास्थ्य मन्त्रालयकै एक अधिकारी ।
‘हाल संक्रमण बढ्दै जाँदा परीक्षण झन बढाउनुपर्ने तर त्यो हुन सकेको छैन, मुख्य कुरा पहिले जस्तो संक्रमितको कन्ट्रयाक ट्रेसिङमा परेकाहरुले परिक्षण गरेको देखिँदैन । अर्कोतर्फ हामीले पनि परीक्षणलाई व्यापकता दिने गरि अगाडी बढिएको छैन,’ ती अधिकारीले भने ।
तर हाल सरकारले सीमा नाकामा भने परीक्षणमा विशेष ध्यान दिएको ती अधिकारीको भनाइ छ । नेपालमा भने पुनः संक्रमण बढ्दै जाँदा कोरोना संक्रमण बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन अनुरोध गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले विमानस्थल र सार्वजनिक यातायातमा मास्क र स्यानिटाइजरको अनिवार्य व्यवस्था गर्नुपर्ने जनाएका छन् । यस्तै मन्त्रालयले गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने स्थान, विद्यालय, विश्वविद्यालय, धार्मिकस्थलमा पनि मास्कको अनिवार्य प्रयोग गर्न भनेका छन् ।
हाल देशभर ९४ वटा विभिन्न अस्पताल तथा प्रयोगशालाहरूबाट पीसीआर परिक्षण हुँदै आएको छ । देशभर सक्रिय संक्रमितको संख्या २ हजार ८४१ झन्डै तीन हजारको हाराहारीमा रहेको छ । आइसीयूमा २५ जना संक्रमित उपचाररत रहेका छन् । अत्यधिक संक्रामक मानिएको ओमिक्रोनको उपप्रजाति बीएफवान नेपालमा फेला परेको हो ।
सत्यपाटी । काठमाडौं ।