मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही तल सरेको मौसमविद्ले बताएका छन् । यसो हुँदा नेपालमा लगातार झरी र ठूलो वर्षाको सम्भावना कम हुने मौसमविद् वरुण पौडेलले जानकारी दिए ।
उनका अनुसार भारतको दिल्लीदेखि कलकत्तासम्मको क्षेत्रलाई न्यून चापीय रेखाको सरदर स्थान भनिन्छ । अहिले उक्त रेखा त्यसभन्दा केही तल सरेको हो । ‘न्यून चापीय रेखा भएको स्थानमा बादल बन्छ वर्षा हुन्छ,’ उनले भने, ‘न्यून चापीय रेखा तल सर्यो भन्दैमा यहाँ पूरै सुक्खा भइहाल्छ भन्ने होइन, पानी त पर्छ नै, तर लगातार झरी र ठूलो वर्षा हुँदैन ।’
आज विहान उदयपुर, सोलुखुम्बु, ओखलढुंगा, धनकुटा, गोरखा रसुवा लगायत स्थानमा पानी परिरहेको उनले जानकारी दिए । मौसम पूर्वानुमान महाशाखाले आज शनिबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो मौसम देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।
यस क्रममा पहाडी भेगका केही स्थान र अन्य भूभागका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यसैगरी राति पनि मौसम देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । यस क्रममा पहाडी भेगका केही स्थान र अन्य भूभागका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख गरिएको छ ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ । जसमा भनिएको छ, देशको पहाडी भूभागका केही स्थानमा र अन्य भूभागका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन–यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले सामान्य सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।
सत्यपाटी । काठमाडौं ।