नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन सुरु भएको छ । हेटौँडामा अहिले उद्घाटन सत्र चलिरहेको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस महामन्त्री गगन थापासहित शीर्ष नेता उद्घाटन सत्रमा सहभागी छन् । महाधिवेशनमा संस्थापन पक्ष र संस्थापन इत्तर पक्षबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।
प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने सो महाधिवेशनमा दुवै पक्षले प्यानल नै खडा गरेर मैदानमा उत्रे पछि कडा प्रतिस्पर्धा हुन लागेको हो । झन्डै ८ बर्षपछि हुन लागेको महाधिवेशनमा भाग लिनका लागि प्रतिनिधिहरू हेटौडा आइपुगेका छन । एक हजार ६३० प्रतिनिधिले आगामी तीन बर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछन् ।
युनियनको भावी नेतृत्वका लागि संस्थापन पक्षबाट सभापतिमा अनिता बिन्दु र संस्थापन इत्तर पक्षबाट शिव लम्सालले आ–आफनो दावेदारी प्रस्तुत गरेका छन् । ‘आज प्रधानमन्त्रीले नवौं महाधिवेशनको उद्घाटन गर्ने र आजै निर्वाचनको प्रक्रिया पनि सुरु हुने कोषाध्यक्षका उम्मेदवार माधव धितालले बताए ।
उनले भने, ‘भोलि मतदान हुने र भोलि नै मत परिणाम सार्वजनिक गर्ने कार्यतालिका छ ।’ सो महाधिवेशनमा संस्थापन पक्षबाट बरिष्ठ उपाध्यक्षमा सरोज अधिकारी र र संस्थापन इत्तर समूहबाट प्रेम केसीले उम्मेदवारी घोषणा गरेका छन भने खुल्ला उपाध्यक्षका लागि भिष्मराज ओझा र शेखर रेग्मीले चुनावी मैदानमा उत्रने घोषणा गरेका छन ।
उता, संस्थापन पक्षबाट महिला उपाध्यक्षमा कल्पना शर्मा र इत्तर समूहबाट सलोजा दाहालबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ भने महासचिवमा संस्थापन पक्षबाट जगन्नाथ दुलाल र इत्तर समूहबाट दिलिप पौडेलबीच तिव्र प्रतिस्पर्धा हुने युनियन आवद्ध पत्रकारले जनाएका छन् । संस्थापन पक्षका उपमहासचिवका उम्मेदवार केशव साउद र इत्तर समूहबाट बिष्णु क्षेत्री छन् ।
संस्थापन पक्षले कोषाध्यक्षमा माधव धितालले उम्मेदवार खडा गरेको छ भने उनीसँग रमेश वाग्ले प्रतिस्पर्धामा रहनेछन् । केन्द्रीय उपाध्यक्ष सुदूरपश्चिमका लागि हरिश भट्ट लगायत छन् भने महिला उपमहासचिवमा कुसुम बिक, दीपाश्रीले अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । यस्तै खुल्ला सचिवका लागि खगेन्द्र भण्डारी, तीर्थराज बस्नेत, लोकेन्द्र भट्ट, पदम अधिकारी लगायतले मैदानमा उत्रेका छन भने महिला सचिवमा मेनुका भट्ट लगायत उम्मेदवारी घोषणा गरेर प्रतिनिधिसँग मत मागिरहेका छन् ।
कुन उम्मेदवारलाई कति शुल्क ?
प्रेस युनियन निर्वाचन समितिका अनुसार अध्यक्षको उम्मेदवारले ३० हजार दस्तुर बुझाउनुपर्नेछ । वरिष्ठ उपाध्यक्षले २५ हजार, उपाध्यक्षले २० हजार, महासचिवले २५ हजार, उपमहासचिव २० हजार, सचिवले २० हजार, कोषाध्यक्षले २० हजार, केन्द्रीय सदस्यले १५ हजार, केन्द्रीय लेखा समिति संयोजकले २० हजार र केन्द्रीय लेखा समिति सदस्य उम्मेदवारले मनोनयन दस्तुर बुझाउनुपर्ने निर्वाचन समिति संयोजक एकराज पोखरेलले जानकारी दिए ।
सत्यपाटी । काठमाडौं ।