सूचनाको शक्ति - The Power Of Information

        

आज भारत जाँदै नेपाली यु–२० टोली

साफ यु–२० पुरुष फुटबल च्याम्पियनसिपमा सहभागी जनाउने नेपाली युवा टोलीलाई शुक्रबार बिदाई गरिएको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत नेपाली टोलीको बिदाई गरिएको हो ।

भारतको भुवनेश्वरमा हुने साफ यु–२० टोलीलाई एन्फाले बिदाई गरेको हो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङसहित एन्फा पदाधिकारीले बिदाई गरेका छन् ।

एक साता हुने प्रतियोगितामा सहभागी हुन नेपाली टोली दिउँसो भारत प्रस्थान गर्ने तालिका छ । पुरुष फुटबल च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेशले सहभागिता जनाउँदै छन् ।

च्याम्पियनसिपका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले यसअघि नै २३ सदस्यीय युवा टोलीको घोषणा गरेका थिए । प्रतियोगितामा नेपालको कप्तानी अनुभवी मिडफिल्डर आयुष घलानले गर्नुहुनेछ ।

यस्तै, विभागीय टोलीसँगको अभ्यास खेलमा चोटग्रस्त भएका दीपेश राईको स्थानमा फरवार्ड रोहित सुब्बालाई टिममा बोलाइएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले फरवार्ड रोहितलाई टिममा बोलाइएको जानकारी दिए ।

मुख्य प्रशिक्षक केसीले घोषणा गरेको २३ सदस्यीय टोलीमा रोहित अटाएका थिएनन् । रोहित ३० सदस्सीय टोलीमा भने अटाएका थिए । चोटग्रस्त दीपेश कम्तीमा तीन महिना मैदान बाहिर रहने छन् । कुर्कुचामा समस्या देखिएपछि उनको उपचार बी एण्ड बी अस्तपतालमा भइरहेको छ ।

च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ । भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने उद्घाटन खेल जुलाई २५ मा हुनेछ । नेपालले दोस्रो खेलमा श्रीलङ्कासँग जुलाई २७ मा खेल्नेछ । त्यस्तै, भारतसँग जुलाई ३१ र अन्तिम खेल बङ्गलादेशसँग अगस्ट २ मा खेल्ने तालिका रहेको छ । शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार १२:५०