सूचनाको शक्ति - The Power Of Information

        

खैरो हिरोइनसहित तीन भारतीय नागरिक पक्राउ

पुर्नवास नगरपालिका–११ अमरबस्तीस्थित नेपाल–भारत दशगजा क्षेत्र हुँदै पैदल आउन लागेका तीन भारतीय नागरिकलाई प्रहरीले बिहीबार साँझ ७८दशमलव३७ ग्राम लागूऔषध (खैरो हिरोइन)सहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटिएको आरआइटी टोली र परासनस्थित प्रहरी चौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले खैरो हिरोइनसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले भारतको उत्तर प्रदेशको लखिमपुरको पलिया बस्ने वर्ष २८ का सुमित गुप्ता, वर्ष २४ का लबि गुप्ता र वर्ष २७ का बबि महेन्द्रुलाई पक्राउ गरेको हो । सीमानाका हुँदै नेपालतर्फ आउँदै गरेका तीनै जनामाथि शङ्का लागि जाँच गर्दा सेतो प्लाष्टिकको थैलीभित्र लुकाइछिपाइ राखेको अवस्थामा उक्त लागूऔषध बरामद गरिएको उनले बताए ।

पक्राउ परेका सुमितको साथबाट २४ दशमलव ४७० ग्राम, लबिको साथबाट २५ दशमलव ६४० ग्राम र बबिको साथबाट २८ दशमलव २६० ग्राम लागूऔषध बरामद गरिएको प्रहरी नायब उपरीक्षक शाहले जानकारी दिए ।

तीनै जनाको साथबाट लागूऔषधसँगै भारतीय रुपैयाँ १५ हजारसमेत बरामद गरिएको र उनीहरुमाथि अनुसन्धान भइरहेको बताइएको छ । उनीहरु लागूऔषधका कारोबारी हुनसक्ने प्रहरीको आशङ्का छ ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार १२:३९