सूचनाको शक्ति - The Power Of Information

        

चितवनमा एक वर्षमा मरे २०४ वन्यजन्तु

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षको अवधिमा एकसिंगे गैंडासहित २०४ वन्यजन्तु मरेका छन् । निकुञ्जका अनुसार गत आर्थिक वर्ष २०७८–०७९ मा २९ प्रजातिका २०४ वन्यजन्तु विभिन्न कारणले मरेका हुन् ।

तीमध्ये प्राकृतिक कारणले मात्रै १०४ वन्यजन्तु मरेका छन् । कुकुरको आक्रमणबाट ५९, तारजालीमा परेर १६, सडक दुर्घटनाबाट ११, चोरी सिकारीबाट दुई र मानवीय लापरबाहीबाट एक वन्यजन्तुको मृत्यु भएको हो । १२ वन्यजन्तु मर्नुको कारण नखुलेको निकुञ्जले बताएको छ ।

सबैभन्दा धेरै चित्तल मरेका छन् । निकुञ्जका अनुसार ८६ वटा चित्तल मरेका हुन् । तीमध्ये कुकुरको आक्रमणबाट मात्रै ५२, प्राकृतिक कारणले १५, तारजालीमा परेर १४ र सडक दुर्घटनाबाट चार चित्तलको मृत्यु भएको निकुञ्जको तथ्यांकमा उल्लेख छ । एउटाको भने कारण खुलेको छैन ।

संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत दुर्लभ एकसिंगे गैंडा ३७ वटा मरेका छन् । तीमध्ये ३३ गैंडा प्राकृतिक कारणले मरेका हुन् भने दुई गैंडा चोरी शिकारीले मारेका हुन् । एउटाको कारण खुलेको छैन । एउटा गैंडा भने मानवीय लापरबाहीका कारण खाडलमा परेर मरेको हो ।

त्यस्तै, छ वटा बाघ प्राकृतिक कारण (उमेर पुगेर, बिरामी भएर आदि)ले मरेका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । ६ वटै बाघ उपचारको क्रममा मरेको उनले बताए । १० वटा अर्ना पनि प्राकृतिक कारणले मरेका छन् ।

इन्क्लोजरमा राखिएका अर्ना बाघको आक्रमणबाट मर्ने गरेका छन् । जरायो र बँदेल १०–१० र सरकारी घरपालुवा दुई हात्ती मरेका छन् भने भालु, चितुवा, गौरीगाई, निलगाई, गिद्ध लगायतका वन्यजन्तु एक–एक वटा मरेका छन् ।

घडीयाल गोही चार, लगुना पाँच, मगर गोही तीन, रतुवा पाँच, अजिंगर दुई लगायत साना प्रजातिका जनावर पनि मरेका छन् । निकुञ्जले गत आवमा तीन गैंडासहित १९ प्रजातिका २२२ वन्यजन्तुको उद्धार गरेको छ ।

सात बाघ, १५४ अजिंगर, १४ चित्तल, नौ मगर गोही र आठ कछुवाको उद्धार गरिएको तिवारीले जानकारी दिए । एककिंग कोब्रासहित सात सर्पको उद्धार गरिएको छ । चितुवा, जरायो, लाटोकोसेरो, गिद्ध, भुडीफोर गरुड, मयुर, बँदेल एक–एक वटा उद्धार गरिएको उनले बताए ।

चार लगुना, तीन नीर बिरालो, दुई निलगाई, दुई चिल र दुई रतुवाको पनि उद्धार गरिएको छ । निकुञ्जले वन्यजन्तुको चोरी सिकारीको मुद्दामा गत आवमा ५४९ जनालाई पक्राउ गरेको छ । सात जना व्यक्ति संरक्षित वन्यजन्तुको चोरी सिकारीमा संलग्न थिए ।

गैंडा, बाघ, हात्ती लगायत २७ प्रजातिका वन्यजन्तुलाई संरक्षित वन्यजन्तुको सूचीमा राखिएको छ । त्यस्तै, बाघको छाला बिक्री खरिदको कसूरमा विगत १६ वर्षदेखि फरार तनहुँ जिल्ला देवघाट गाउँपालिका चुन्दुली बस्ने विष्णुबहादुर गुरुङलाई पक्राउ गरिएको हो । संरक्षित वन्युजन्तुको चोरी सिकारीमा संलग्न सातमध्ये ६ जना गैंडा शिकारी हुन् ।

जाजरकोट शिवालय गाउँपालिका–२ डुङग्रा बस्ने वीरबहादुर बस्नेत, तनहुँ शुक्लागण्डकी नगरपालिका–२ बस्ने कमल गुरुङ, २२ वर्षदेखि फरार चितवन कालिका नगरपालिका–१ बस्ने कृष्णप्रसाद न्यौपाने, कालिका नगरपालिका–२ बस्ने राजन प्रजा र राप्ती नगरपालिका–१० बस्ने रामकुमार प्रजालाई पक्राउ गरिएको तिवारीले जानकारी दिए ।

न्युज कारखानाबाट

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार १२:१०