सूचनाको शक्ति - The Power Of Information

        

सीमामा बढ्दै तस्करी

प्रहरीकै मिलेमतोमा जमुनाहा नाकाबाट भित्रिन्छन् अवैध कुखुरा

एक जना तस्कर भन्छन्, ‘प्रहरीको योजना र सेटिङ विना एकदिन पनि कारोबार चल्न सक्दैन । हामीले एक स्थानमा मात्र रुपैयाँ बुझाउने गरेका छौं ।’

फाइल तस्वीर

भारतबाट कुखुरा भित्र्याउन प्रतिबन्ध रहे पनि प्रहरीकै मिलेमतोमा अवैध कारोबार हुँदै आएको छ । सीमा नाकामा ड्युटीमा खटिएका प्रहरीकै मिलेमतोमा कुखुरा अवैधरुपमा नेपाल भित्रिने गरेको सीमा क्षेत्रका स्थानीयहरु बताउँछन् ।

भारतीय कुखुरा तथा पंक्षीजन्य सामाग्री भित्र्याउनमा सरकारले प्रतिबन्ध लगाएको छ । सोही प्रतिबन्धको फाइदा लिँदै प्रहरी र तस्करले आपसी मिलोमतो गरी कारोबार गर्दै आएका छन् । भारतबाट अवैध कुखुरा तस्करी भएसँगै नेपाली कुखुरा बिक्री हुन छाडेको पोल्ट्री व्यवसायीहरु बताउँछन् ।

उनीहरुले प्रहरी प्रशासनप्रति आक्रोश पोख्दै अवैध आयात रोक्नुको सट्टा प्रहरीकै मिलेमतोमा अवैधरुपमा कुखुरा भित्रिँदा नेपाली व्यवसायीहरु धराशायी हुने अवस्थामा पुगेको बताए । भारतबाट अवैद्यरुपमा प्रतिबन्धित कुखुरा तथा पंक्षीजन्य सामाग्री तस्करी भइरहेको र त्यसमा प्रहरी मुकदर्शक बनेको उनीहरुको आरोप छ ।

कुखुरा व्यवसायी संघ बाँकेका कार्यवाहक अध्यक्ष ईश्वर सुवेदीले केही हप्तायता बाँकेका किसानका कुखुराहरु बिक्री नहुँदा किसानहरुले लाखौँको घाटा व्यहोरिरहेका बताए । उनीहरुले कुखुराहरु खोरमै मर्न थालेको गुनासो सुनाएका छन् । तर बजारमा मासु बिक्रेताहरुले भारतीय कुखुराहरु बेचिरहेको उनको भनाइ छ ।

तस्करहरुले भित्र्याएका भारतीय कुखुरा मासु व्यापारीहरुले १०० भारतीय रुपैयाँमा किनेर नेपाली उपभोक्तालाई ४५० रुपैयाँसम्ममा मासु बेचिरहेको कुखुरापालक किसानहरु बताउँछन् । यसले एकातिर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड भइरहेको र अर्कोतिर नेपाली पोल्ट्री सम्बद्ध व्यवसायीहरु धराशायी हुने अवस्थामा पुगेका उनीहरुको भनाइ छ ।

फाइल तस्वीर

विहान ५ देखि ७ बजेको समयमा रुपैडिहा नाका हुँदै पाँच स्थानको सुरक्षा चेकजाँच छिचोलेर नेपालगन्जमा भारतीय प्रतिबन्धित कुखुरा सप्लाई हुँदै आएको तस्करको भनाइ छ । ‘प्रहरीको योजना र सेटिङ विना एकदिन पनि कारोबार चल्न सक्दैन,’ ती तस्करले भने, ‘हामीले एक स्थानमा मात्र रुपैयाँ बुझाउने गरेका छौं ।’

बाँके राप्तीपारि क्षेत्रबाट पनि अवैध कुखुराको कारोबार हुने गर्छ । राप्तीपारिको सिमावर्ती क्षेत्र श्रावस्ती र बहराइचबाट लुकीछिपी भित्र्याएका कुखुरा कम्दीमा संकलन गर्ने र त्यहाँबाट नेपाली कुखुरा ब्यवसायीको बिलमा नेपालगन्जसम्म ल्याउने गरिन्छ । ‘नेपालगन्जमा आउने अधिकांस कुखुरा प्रतिबन्धित नै हो,’ तस्करहरु भन्छन्, ‘प्रहरीसँगको मिलोमतोमै कारोबार गर्छौ ।’

भारतीय क्षेत्रमा ९० देखि १०० भारतीय रुपैयाँमा प्रतिकेजी पाउने कुखुरा नेपालमा ४५० रुपैयाँ प्रतिकेजीका हरले मासु बिक्री हुँदै आएको छ । जमुनाहास्थित प्रहरी चौकी र सशस्त्र प्रहरीका चेकपोष्ट हुँदै अवैधरूपमा भारतीय कुखुरा नेपाल भित्रिने गरे पनि सुरक्षाकर्मीहरुले बेवास्ता गर्ने गरेको त्यस क्षेत्रका स्थानीयको गुनासो छ ।

प्रहरीसँग सेटिङमा कुखुरा तस्करी हुने गरेको एक जना तस्कर बताउँछन् । अवैधरूपमा भित्रिने कुखुरा तस्करबाट प्रहरीले रकम असुल्ने गरेकोसमेत स्थानीयको आरोप छ । भारतबाट अबैध कुखुरा भित्रिएपछि यहाँका व्यवसायी मर्कामा परेका छन् । सीमामा कडाइ नभएका कारण तस्करी मौलाउँदै गएको व्यवसायीहरु बताउँछन् ।

कुखुरापालक व्यवसायीहरुले तत्कालै तस्करी रोक्न प्रशासनसँग माग गरेका छन् । नेपालगन्जमा आयोजित व्यवसायीहरुको भेलाले कुखुरा व्यवसायीको हितमा काम गर्ने उद्देश्यले धर्मराज पोखरेलको संयोजकत्वमा नेपाल कुखुरा व्यवसायी मञ्च गठन पनि गरेको छ । मञ्चले हाल भइरहेको तस्करी रोक्न तत्कालै दबाबमूलक कार्यक्रमहरु गर्ने निर्णय गरेको छ ।

छलफल कार्यक्रममा नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टीकाराम पोखरेल, नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरी, नेपाल ह्याचरी उद्योग संघका वरिष्ठ उपाध्यक्ष लक्ष्मी मानन्धर लगायत पोल्टी व्यवसायी, ह्याचरी व्यवसायी, कुखुरा उत्पादक किसान, मासु व्यवसायी, दाना उद्योगी लगायतका प्रतिनिधिहरुको सहभागिता थियो ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार १०:३७