सूचनाको शक्ति - The Power Of Information

        

मनसुन

राप्ती नदीमा पानीको बहाव बढेपछि बाँकेमा उच्च सतर्कता

राप्ती नदीमा जल प्रवाहको स्तर खतराको चिह्नभन्दा माथि आएमा अलार्म (साइरन) बजाउने व्यवस्था मिलाइएको छ ।

केही दिनदेखि भइरहेको निरन्तर वर्षाका कारण बाँकेको राप्ती नदी किनारा लगायत विभिन्न खोला नालाहरूमा पानीको बहाव बढेपछि उच्च सतर्कता अपनाइएको छ ।

वर्षा निरन्तर भइरहेकाले कुनै पनि बेला बस्ती तथा संवेदनशील स्थानमा बाढी आउन सक्ने चेतावनी दिएको छ । ती क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेले जनाएको छ ।

आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीका अनुसार बाढी आउन सक्ने र डुबान हुन सक्ने क्षेत्रहरूमा प्रहरी प्रशासन र स्थानीय जनप्रतिनिधिसहितको उद्धार टोली तयारी अवस्था राखिएको छ ।

सम्भावित बाढी र डुबानको अवस्थाबारे विभिन्न निकायबाट निरन्तर जानकारी लिने कार्य भइरहेको प्रजिअ खत्रीले बताए । राप्ती नदी, डुडुवा खोला र अन्य खोला नाकाल किनारका बस्तीमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासबाट सूचना जारी गरिएको उनले बताए ।

सो केन्द्रका अनुसार वर्षासँगै बाढी र डुबान विपतलाई दृष्टिगत गरी नागरिकको उद्धारका लागि आवश्यक उपकरणको व्यवस्था गरिएको छ । यसका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र रेडक्रसका स्वयंसेवकलाई तयारी अवस्थामा राखिएको छ ।

राप्ती नदीमा जल प्रवाहको स्तर खतराको चिह्नभन्दा माथि आएमा अलार्म (साइरन) बजाउने व्यवस्था मिलाइएको छ । अलार्म बजेलगत्तै स्थानीयलाई सुरक्षित स्थानमा सारिने जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीले बताए ।

यसैबीच बाँकेका राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाका सम्भावित बाढी र डुबान हुन सक्ने बस्ती तथा क्षेत्रहरुमा उद्धार टोली खटाई तयारी अवस्थामा राखिएको स्थानीय पालिकाले जनाएका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार ०९:१६