राजधानीमा रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा केही दिनअघि एकदमै मन कुटुक्क पार्ने दृश्य देखियो । मलेशिया जान लागेका युवकको विमानस्थलमा चप्पल चुटिएपछि उनी खाली खुट्टै गए । पछिल्लो समय नेपालबाट विदेशिने क्रम बढ्दो छ । पैसावालका छोराछोरी पढ्नका लागि भनेर राम्रो मुलुक छिरिरहेका छन् । तर, गरिब वर्गहरु चप्पल नै नलगाई खाडी छिर्न बाध्य छन् । नेपाल सरकारले नेपाली जनतालाई भेडाबाख्राझै बेचिरहेको छ । सुखी भविष्य देखेर खाडी छिर्नेलाई पनि कहाँ त्यति सजिलो छ र ! काम गर्दागर्दै दुर्घटनामा परेर कफिनमा फर्किनुपरेको छ । कतिको त लाश अझै पनि विदेशमै छ ।
नेपाल सरकार तथा श्रम तथा रोजगार मन्त्रालयले उनीहरुको शव फिर्ता ल्याउन चासो देखाएको छैन । व्यापारी दुर्गा प्रसाईले अस्तिका दिन एउटा शव ल्याए, तर त्यहाँ पनि मिडियाबाजी भयो । मरेको व्यक्तिको लाशमाथि पनि राजनीति भयो । बाहिर भएको नेपालीको शव नेपाल फर्काउन सहयोग गर्नु राम्रो विषय हो । तर, एउटा लाश ल्याउँदा विमानस्थलभरि सञ्चारकर्मी बोलाउनु र राजनीति गर्नु लज्जास्पद विषय हो । यसअघि दुर्गा प्रसाईले कति वटा लाश फिर्ता ल्याए ? आफु चर्चामा आउनका लागि एउटा लाश ल्याएर के–के न गरे भन्न मिल्छ ? कि यसअघि पनि उनले नै लाश ल्याउने गरेका थिए ?
जिउँदोमाथि त राजनीति गरे तर मरेकालाई पनि छाडेनन् । श्रममन्त्री शेरबहादुर कुँवरले विदेशमा भएका नेपाली जनताको शव तुरुन्त फर्काउनुपर्यो । सरकारको खर्चमा तत्कालै विदेशीको शव फर्काउ । कुनै नेपाली विदेशमा मर्दा आफन्तले शव फर्काउन नसकेर धुरुधुरु रोइरहेका छन् । तर, त्यही जनताले तिरेको करबाट राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, संसद्, मेयर, उपमेयरलाई लाज लागेन । नेपाली सेना र नेपाल प्रहरी के हेरेर बसिरहेको छ ? सरकारले आफ्नो दायित्व बिर्सिएको हो ? काम गरेर घरपरिवार पाल्छु, राज्यलाई कर तिर्छु भनेर विदेश हिँडेकाको शव ल्याउन नसकेर उसको परिवारको निद्रा गुमेको छ ।
यदि सरकारसँग पैसा छैन भने हरेक नेपालीले १० रुपैंयाँ उठाएर दिन्छौं । जसरी हुन्छ नेपालीको शव फर्काउनुपर्छ । देशमा नाम मात्रका राष्ट्रपति र प्रधानमन्त्री छन् । रिबन काट्न र सेवासुविधा खुवाउनका लागि राष्ट्रपति बनाएको हो ? साँच्नै भन्ने हो भने हाम्रो देशका राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीसंग एउटा डिल गर्ने क्षमतासमेत छैन । सरकारसँग त्यति क्षमता भएको भए नेपालीको शव सडेर बस्दैन्थ्यो । जो आए पनि भ्रष्टाचार गर्ने, सेवासुविधा लिने र विभिन्न कार्यक्रममा रिबन काट्न जाने । नेपालीप्रति यिनीहरु कहिले जिम्मेवार बन्न सिक्लान् ? एउटा दलालीले लाश फर्काउँदा एयरपोर्टमा कत्रो रमिता ? सबै मिडियाहरु एयरपोर्ट घेर्न पुगे । दलाल दुर्गा प्रसाईले सरकारलाई भलिभाती भने ।
उनले गाली गरेका शब्दहरु सरकारले पनि सुनिरहेको थियो होला । त्यतिखेर सरकारलाई अलिकति पनि लाज लागेन ? आफुमाथि घृणा महशुस भएन ? नेपाली सेना र नेपाल प्रहरीको मन खिन्न भएन् ? सरकारले एउटा लाश ल्याउन सकेन् त्यसैले मैले ल्याए भनेर दुर्गा प्रसाईले सरकारलाई खुला चुनौती दिए । यतिखेर सरकारभन्दा ठूलो दलाली भएको छ । त्यही लाशको आधारमा भोलि भोट माग्ने काम हुन्छ । नेपालको राजनीति कतिसम्म फोहोरी छ, यहाबाट स्पष्ट हुन्छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि त शव फर्काउन पहल गर्न सक्थे होला । कि त सधैं सत्तापक्षको विरोध गर्ने मात्र काम हो ? विपक्षको काम सत्तापक्षको खुट्टा तान्ने मात्र हो ?
सिन्को पनि भाँच्ने अनि खाली भोटको कुरा गर्यो ? गुण्डा पालेर भोट पाइन्छ ? केपी ओलीले सबै लाश फिर्ता ल्याउन्, आउने चुनावमा सबै जनताले उनलाई भोट दिन्छन् । के यति आँट छ केपीसँग ? प्रधानमन्त्री शेरबहादुर देउवाले त सकेनन्, तर केपीसँग क्षमता छ कि छैन ? पटकपटक प्रधानमन्त्री र मन्त्री भए तर कोही पनि जिम्मेवार बनेनन् । खोइ कहाँ गए हाम्रा देशका वरिष्ठ पत्रकार ? जनता जान्न जान्छन् भनेर कराइरहने ऋषि धमला कता पुगे ? टिभीको अगाडि बुरुकबुरुक उफिने रवि लामिछाने कता हराए ? हामी जनताको लागि काम गर्छौ भन्छन्, तर आखिरी हुन् सबै राजनीति दलका झोले ।
साँच्चै नै जनताको निम्ति काम गर्ने हो भने विदेशमा भएको नेपालीको लाश फर्काएर देखाऊ । जथाभावी कराउदैमा वरिष्ठ पत्रकारको दर्जा दिन मिल्छ ? यो विषयमा नागरिक अगुवा र बुद्धिजीवी वर्गहरु पनि बोल्दैनन् । विदेशका जेलमा पर्ने नेपालीहरु पनि उत्तिकै छन् । अधिकांश विदेशी जेल नेपालीले भरिएका छन् । हरेक मुलुकमा नेपाली राजदूतावास छ तर कसैले पनि ती नेपालीलाई रिहा गर्न पहल गरेको पाइँदैन । म्यानपावर कम्पनीहरुले नेपालीलाई भेडाबाख्राझै धमाधम बेचिरहेको छ । नेपाली भएर अर्को नेपालीलाई फसाउन म्यानपावरका दलालीहरु लागिपरेका छन् । नेपालका राजनीतिक दलको चुलोचौको त्यही दलालीले दिएको भन्दाबाट चलिरहेको छ । पार्टी सञ्चालन गर्न पनि उनीहरुले नै चन्दा दिएका छन् ।
हरेक म्यानपावर व्यवसायी राजनीतिक पार्टीको सदस्य छन् । राजनीतिक दलको आडमा यहाँ ठगीधन्दा मौलाएको हो । पर्दाभित्र बसेर राजनीतिक दलहरुले नेपालीलाई सखापै पारे । हिजो ठूलाठूला भाषण दिएर भोट लिए । तर, जनताको लागि केही पनि गरेनन् । भनिन्छ नि नुन खाएपछि सधैं सोझो गर्नु ! तर, राजनीतिक दलले त त्यही पनि गर्न सकेनन् । देशमै रोजगारीको अवसर भएको भए चर्को घाममा अर्काको देशमा पसिना चुहाउन जानु पर्दैन्थ्यो होला । देशमा भएको कलकारखाना पनि राजनीतिक दलाल र चोरहरुले बन्द गरे । आफ्ना छोराछोरी विदेशमा पढाएर ठूला मान्छे बनाए, तर नेपाली जनताका छोरीछोरी बाहिर गएर अकालमा ज्यान गुमाइरहेका छन् ।
नागरिकता लिनेबित्तिकै अब विदेश जाने भनेर सोच्न सुरु हुन्छ । उनीहरुले आफ्नो भविष्य नै विदेशमा देखे । कारण, यहाँ बस्यो भने बिहान बेलुकाको छाक टार्न कुनै विकल्प छैन । देशमै कलकारखाना खोलिदिएर रोजगारीको अवसर सिर्जना गरिदिएको भए मान्छे बेच्ने कामको अन्त्य हुन्थ्यो । सरकार नै नेपाली जनता बेचेर पैसा लिन तम्सिकेको छ । सरकार नै दलाली बनिदिदा नेपाली जनताले साह्रै दुःख पाए । हिजो चप्पल लगाउन नसक्ने नेताको आज करोडौंको जग्गामा घर छ । त्यत्रो सम्पत्ति कहाँबाट आयो ? यो प्रश्न गर्न सक्ने क्षमता कुनै सञ्चारकर्मीसँग छ ? नेपालका पत्रकारहरु नेताकै अघिपछि दौडिएका छन् । नेपालका कुनै पत्रकार स्वतन्त्र र निष्पक्ष छन् ? व्यापार व्यवसाय, पेशा केही नभएको व्यक्तिको त्यत्रो सम्पत्ति कहाँबाट आयो ? नेताहरु हामी सेवा गरेको हौं भन्छन् ।
तर सेवा गर्नेको अर्बौंको सम्पत्ति कसरी भयो ? यो खोजतलास गर्ने कसले ? हिजो नेताको विरोध गरेर ल्यामलाइटमा आउनेहरु आज आफैं नेता बन्न खोज्दै छन् । सरकारले तुरुन्त नेपाली जनताको लाश फिर्ता ल्याउने र जेलमा भएका नेपाली फर्काउन पहल नगर्ने हो भने जनता सडकमा उत्रिनुपर्छ । दैनिक हजारौंको संख्यामा विदेशिरहेका छन् । अकालमा ज्यान गुमाउने पनि त्यत्तिकै छन् । एउटा व्यक्तिले लाश ल्याएर यो समस्या समाधान हुँदैन । यदि श्रम मन्त्रालयले यो गर्न नसक्ने हो भने छुट्टै मन्त्रालय र विभाग खडा गर्नुपर्छ । किनकि श्रम मन्त्रालय कमिशनको दलदल फस्यो । विदेश पठाइसकेपछि जिम्मेवारी सकियो भन्ने श्रम मन्त्रालयको सोचाइ छ । नेपालको हकमा यो रोकिनेवाला छैन । किन कि न यहाँ रोजगारीको अवसर सिर्जना हुन्छ न विदेश जान छोड्छन् ।
यसलाई अझै पनि हलुका रुपमा लिने हो भने सरकार आफैं जनताबाट नाङ्गिन्छन् । अझै पनि चासो नदिने हो भने उनीहरुको लाश त्यही कुहिन्छ । जिउँदो त फर्किएनन्, तर मरेपछि पनि लाश हेर्न नपाउनु नेपालीका लागि कति दुःखको कुरा हो । बिहे गर्न दिने, बच्चा पनि जन्माउन दिने, नागरिकता पनि दिने अनि रोजगारीचाहि नदिने । भोट लिनका लागि मात्र नेपाली जनता चाहिएको हो ? काम गर्दागर्दै मर्नुपर्ने, भाष नबुझेर जेलमा बस्नुपर्ने यसलाई सरकारले कहिले रोक्ने ? नेपालीहरु दिनहु यसरी विदेश गइरहँदा सरकारलाई अलिकति पनि हिनताबोध हुँदैन ? सरकार कर असुल्ने र नेता भोट लिने काम बन्द गरौं ।
अनुसा थापा ।